सेवाग्राही नहुँदा कार्यालय कुर्ने मात्रै काम

0
139

मनाङ,

यहाँ बुधबारबाट मात्रै माथिल्लो क्षेत्रमा हिउँ परेको छ । यहाँका बासिन्दा जाडो छल्न मनाङको बेंसी झरिसकेको लामो समयसम्म हिउँ परेको थिएन । जाडो छल्न जाने परम्पराले यहाँका कार्यालयबाट सेवा लिने सेवाग्राही नै हुँदैनन् । हिउँ ढिलागरी परे पनि यहाँका कार्यालयका कर्मचारी जिल्लामा नै बस्नुपरेको छ ।

सेवाग्राही जिल्लामा नहुँदा यहाँका कर्मचारीलाई कार्यालय कुर्ने मात्रै काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताउनुभयो । “यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर गएका छन्, त्यसैले अधिकांश कार्यालयमा सेवाग्राही आउने कुरा भएन”, विष्टले भन्नुभयो, “कार्यालय कुर्ने मात्रै काम भएको छ ।”

चिसोले गर्दा यहाँका विकास योजनाका काम सबै ठप्प छन् । केही स्थानमा विकास निर्माणका काम आंशिकरुपमा भइरहेकाले अनुगमनलगायतका कार्य भने गरिरहेको उहाँले बताउनुभयो ।

मनाङमा हिउँ पर्नुपर्ने भए पनि अहिलेसम्म पर्याप्त मात्रामा परेको छैन । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्लापास गर्न यहाँ बाह्य पर्यटक आउनेक्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताउनुभयो ।

“हिउँ पर्दा आन्तरिक पर्यटक बढ्थे, हिउँ नपरे पनि यहाँ दैनिकजसो बाह्य पर्यटक आइरहेका छन्, जसले गर्दा यहाँ बसेर सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो । सेवाग्राहीको भिडभाड नभए पनि सेवा दिइरहेको गौतमले बताउनुभयो ।

सेवाग्राही नहुँदा अहिले यहाँ कुनै कार्यक्रम भएका छैनन् । विकास निर्माण ठप्प छ । काम नभएपछि भुक्तानीका काम पनि ठप्प जस्तै रहेको यहाँका कर्मचारी बताउँछन् । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले कामको चाप नभए पनि सेवाग्राहीबाहेक अन्य प्रशासनिक कार्य गरिरहेको बताउनुभयो । “अहिले यहाँ कामको चाप त छैन, तर अन्य कार्य हेर्ने समय पाएको छु”, ढुङ्गेलले भन्नुभयो, “यहाँ सेवाग्राही फर्किन थालेपछि कार्यालयमा कामको चाप बढ्नेछ ।”

बुधबार मात्रै आंशिकरुपमा माथिल्लो मनाङमा हिमपात भएको उहाँले बताउनुभयो । हालसम्म आवश्यकमात्रामा जिल्लामा हिमपात भने भएको छैन । यस वर्ष हिउँ ढिला गरी पर्ने देखिएको छ । हिउँ ढिला पर्दा मनाङवासी ढिला गरी जिल्ला फर्किने सम्भावना बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here