शान्ति सुरक्षाको प्रत्याभूति गर

0
128

समाज विकासको क्रमसँगै अपराध र अपराधको प्रकृतिमा पनि विकास भइरहेको छ । सामाजिक मूल्य–मान्यता विपरीत र प्रचलित कानूनले बन्देज गरेका गतिविधिहरु बढ्दै जानुले अपराध बढ्दै गएको पुष्टि हुन्छ । हुन पनि अपराध अनुसन्धानको मुख्य जिम्मेवारी भएको नेपाल प्रहरीले सार्वजनिक गर्ने गरेको तथ्यांकले यस्ता गैरकानूनी, अमानवीय तथा घरेलु हिंसाहरु बढेको देखाएको छ । त्यसलाई रोक्न, नियन्त्रण र न्यूनीकरण गर्न राज्यका तर्फबाट जति नयाँ विधि, पद्धतिको अनुशरण गरिन्छ त्यति नै अपराधको शैली पनि परिवर्तन हुँदै गएको घटनाक्रमले देखाउने गरेको छ । पछिल्ला घटनाहरुको अध्ययन गर्दा अपराधको अनुसन्धानमा जटिलता र चुनौतिहरु पनि थपिएका छन् । विगतमा कतिपय अपराधका घटनाहरुमा अपराधीहरु कानूनको दायरामा आउन सकेका छैनन् । कतिपय दोषी ठहर भएकाहरु राजनीतिक शक्तिको आडमा पक्राउ नपर्ने कारणले अनुसन्धान गर्ने संयन्त्रमाथि नै अविश्वास बढाउने र त्यसको क्षमतामा प्रश्न उठ्ने गरेको छ ।

अपराध व्यक्तिगत रिसइवी, देखासिकी, इष्र्या, बदलाको भावना, प्रविधिको दुरुपयोग आदिबाट जन्मिन्छ । कहिलेकाही खराब मानिसको संगत, मादक तथा नशालु पदार्थको सेवनबाट उत्पन्न उन्मादलाई व्यवस्थापन गर्न नसक्दा अपराध जन्मिने गर्दछ । त्यस्तै आर्थिक कारणले पनि समाज र कानूनले वर्जित गरेका कुरा गर्न प्रेरीत गराउँदा सामाजिक अपराधका घटना हुने गरेको तथ्यले देखाएको छ । त्यहीकारण बढ्दो अपराधको श्रृंखलालाई नियन्त्रण गर्न सरकारले रणनीति बनाई सक्रियतापूर्वक र सशक्त ढंगले लाग्न निर्देशन पनि दिन्छ । तर, अपराधका घटना दिनहुँ नयाँ ढंगले अझ अमानवीय तथा क्रुर प्रकृतिका हुन थालेका छन् ।

मानव बेचबिखन, ठगी, देहव्यापार, लुटपाट, हत्या, साइवर तथा अपहरण र फिरौती जस्ता अपराधहरु अहिले ह्वात्तै बढेका छन् । झापाको बिर्तामोडका एक युवा अपहरणमा परेको दश दिनमा मुक्त भएका छन् । अपराधमा संलग्न समूहले साठी करोड रुपैयाँभन्दा बढीको माग राखेको र त्यसमा संलग्नलाई ठूलै रकमले लोभ देखाइएको अनुसन्धानका क्रममा खुलेको छ । यद्यपि अपहरणको योजना बनाउने समूहका मुख्य व्यक्ति भारतीय रहेको र विस्तृत अनुसन्धान भइसकेको छैन, तर अपहरणको कार्यमा युवतीहरुको प्रयोगले अपराधको जालो डरलाग्दो हुन थालेको संकेत गर्दछ । अपहरणपछि सक्रिय प्रहरी अनुसन्धानले अपहरणकारीहरुको पहिचान गरिसकेको र चाँडै पक्राउ गर्ने जनाएको छ । अपराधको प्रकृतिले समाजमा असुरक्षा त पैदा गरेको छ नै त्यो भन्दा ठूला चिन्ता हाम्रो सामाजिक एकता, हार्दिकता, सहिष्णुता र सद्भाव ध्वस्त हुने डर बढेको छ । त्यसैले यस्ता अपराधलाई नियन्त्रण गर्न प्रहरीसँगै सामाजिक अगुवा, स्थानीय सरकारले समेत सहयोग गर्नुपर्छ । हाम्रो सामाजिक सद्भाव र शान्ति, सुरक्षा कायम गर्न कानूनको पनि प्रभावकारी कार्यान्वयन हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here