प्रहरीका कारण सास्ती झेल्दै युवती

0
91

झापा ।

बिर्तामोड–३ निवासी २३ वर्षीया एक युवतीलाई लिएर होटल पुगेका बाह्रदशी गाउँपालिका–४का एक व्यक्ति गत फागुन १७ गते पक्राउ परे ।

उनलाई बिर्तामोडस्थित एक होटलबाट प्रहरीले आपत्तिजनक अवस्थामा पक्राउ गरेको बताइन्छ । पक्राउ परेका दुवैजनालाई प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा दुवैले आफूहरु प्रेमीपे्रमीका भएको बताएसँगै उनीहरुलाई विवाह गर्ने शर्तमा प्रहरीले छाड्यो ।

दुवैले आफूहरु प्रेमीप्रेमीका भएको स्वीकारेको अवस्थामा प्रहरीले अभिभावक बोलाएर विवाह गर्ने शर्तमा उनीहरुलाई छाडेपछि प्रहरी आफ्नो जिम्मेवारीबाट मुक्त भयो । तर, ती युवतीको हकमा भने बज्रपात परेझैं भएको छ । प्रहरी कार्यालयमा केटा र केटी पक्षका अभिभावकले बिवाह गर्ने शर्तमा उनीहरुलाई जिम्मा बुझ्दै केटीलाई केटाको घर पुर्याइयो । केटीलाई घर पुर्याएलगत्तै केटा फरार भएपछि ती युवतीलाई पीडामाथि थप पीडा थपिएको छ ।

आफ्नो सहजताका लागि प्रहरीले उनीहरुलाई मिलापत्र गराउने वहानामा विवाह नै गर्नुपर्ने शर्त राखेपछि आफूलाई थप पीडा भएको पीडित युवतीले बताएकी छिन् । मुस्लिम समुदायका ती पुरुष बैदेशिक रोजगारीबाट आएको र केही दिनभित्रै उनी विदेश जाने तयारी गर्दै थिए । विदेश जानुअघि उनले आफूलाई भेट्न होटलमा बोलाएको र प्रहरीले नियोजित रुपमा आफूहरुको बदनाम गराउने कार्य गरेकाले केटाले आफूलाई अहिले नस्वीकारेको पीडित युवतीको भनाइ छ ।

शहरी क्षेत्रमा बलात्कारका घटना उच्च

आर्थिक वर्ष २०७६/०७७मा ४७६ बलात्कारका घटना भएका छन् । आर्थिक वर्ष ०७७/०७८मा ५ सय १६ र आर्थिक वर्ष ०७८/०८९मा ६ सय २ बलात्कारका घटना भएका छन् ।

चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् श्रावणदेखि माघ महिनासम्म कोशी प्रदेशमा ३ सय ७ वटा जबरजस्ती करणीका घटना भएका छन् । जबरजस्ती करणीका घटनामा १ सय ६५ बालिका पीडित भएका छन् । उक्त घटनामा ५ जना ज्येष्ठ नागरिक महिला र १३७ जना १८देखि ५० वर्ष उमेर समूहका महिला रहेका छन् ।

आफन्तबाटै धेरै पीडित

आजभन्दा ठीक एक वर्षअघि २५ फागुनमा मोरङको लेटाङ–८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव नग्न अवस्थामा लालहिरा सामुदायिक वनभित्र ढुङ्गाले थिचेको अवस्थामा फेला प¥यो ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले लेटाङ नगरपालिका–८ का ६४ वर्षे दीपक गिरीलाई पक्राउ ग¥यो । अन्ततः घटनामा उनी संलग्न भएको खुलासा भयो । प्रहरीका अनुसार विद्यालयबाट घर फर्कँदै गरेकी एक्ली बालिकालाई पछ्याएका उनले फकाइफुल्याईबीच जङ्गलमा पु¥याएर शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे। बालिकाले गिरीको प्रस्ताव अस्वीकार गरिन् । तर, गिरीले बालिकामाथि जबरजस्ती करणी गरे ।

त्यसपछि बुबालाई भनिदिन्छु भन्दै बालिका त्यहाँबाट भागिन् । अपराध लुकाउन गिरीले बालिकाको घाँटी थिची हत्या गरेको प्रहरीसमक्ष दिएको बयानमा स्वीकार गरेका छन् । त्यसपछि गिरीले नजिकैको खोल्सीमा शवलाई घोप्टो पारी ढुङ्गाले छोपेर भागेको प्रहरीले जनाएको छ ।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत् उनी विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । घटनामा संलग्न भएका गिरी राई परिवारको चिनजानकै व्यक्ति हुन् । पछिल्लो समय कोशी प्रदेशमा चिनजान र परिवारकै सदस्यबाट बलात्कारको घटनाको ग्राफ प्रत्येक वर्ष बढ्दै गएको छ ।

प्रहरीका अनुसार गएको आर्थिक वर्षमा नाताभित्रकै र चिनजानबाट बालिका बलात्कृत हुने र घटना सार्वजनिक हुने डरले अपराध लुकाउने उद्देश्यले तीन जना बालिकाको हत्या भएको तथ्यांक छ । यसरी बलात्कारपछि हत्या गरिएका दुईवटा घटना मोरङ र अर्को एक घटना इलामको रहेका छन् ।

कोशी प्रदेशमा एक वर्षदेखि हजुरआमाको उमेरका महिलाहरूसम्म बलात्कारको शिकार भएका छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका र विपन्न वर्गका बढी छन् । प्रहरी तथ्यांक अनुसार आफन्त, बिरामी, अपाङ्गता भएका, दूधे शिशु, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन् ।

नाता सम्बन्धकै सदस्य पीडक

प्रहरीका अनुसार गएको आर्थिक वर्षमा मात्र हेर्ने हो भने कोशी प्रदेशमा भएका जम्मा ६ सय २ बलात्कारका घटनामध्ये नाताभित्रकै सदस्यबाट ९६, छिमेकीबाट १७०, चिनेका व्यक्तिबाट १२१ र अपरिचित व्यक्तिबाट २१५ जना बालिका तथा महिला बलात्कारका शिकार भएका छन् ।

यी घटनामा पीडित हुनेमा दूधे बालिकादेखि १५ वर्ष उमेर समूहका सबैभन्दा बढी २५३ जना रहेका छन् । ६० वर्ष उमेर समूहभन्दा माथि अर्थात् हजुरआमा उमेरका १२ जना बलात्कारको शिकार भएको प्रहरीको तथ्यांक छ । चालू आवको सात महिनामा पनि कूल ३ सय ७ वटा जबरजस्ती करणीका घटनामा नाता सम्बन्ध भित्रकै सदस्य बढी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । कूल करणीका घटनामध्ये ८२ जना नाता भित्रैका सदस्य संलग्न रहेका छन् ।
प्रहरीकै तथ्यांकलाई आधार मान्ने हो भने प्रदेश १मा दैनिक दुई जना बालिका तथा महिला बलात्कारको शिकार हुने गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रह
री उपरीक्षक ऋषिराम कँडेलले शहरी क्षेत्रमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण यौनजन्य हिंसाका घटना बढेको बताए । एसपी कँडेल भन्छन्– ‘हामीले त्यस्ता घटना बढी हुने शहरी क्षेत्रमा निगरानी बढाएका छौँ ।’

प्रहरी उपरीक्षक कँडेलले ललाईफकाई तथा प्रेम विवाहको प्रलोभनमा पारेर यौनजन्य हिंसा गराउने प्रचलन बढी पाइएको बताए । त्यस्ता प्रकृतिको घटनाका पीडकको उमेर समूह १६ देखि २५ वर्षका बढी छ भने पीडितको उमेर समूहमा १६ वर्षदेखि मुनिका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेको कँडेलका अनुसार जबरजस्ती करणीका अन्य कारणहरूमा डर त्रास, धाक धम्की तथा आर्थिक प्रलोभन हुने गरेको पाइएको छ । यसरी पीडित हुनेमा १८देखि ३५ वर्ष उमेर समूहका महिला बढी छन् ।

नाबालिका तथा वृद्धा भने प्रतिकार गर्न नसक्दा बलात्कारमा पर्ने गरेका छन् । धेरैजसो बलात्कारको घटना परिवारभित्रका सदस्य र आफन्तबाट हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । समाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाईँले बलात्कार गर्नुजस्तो जघन्य अपराधमा फस्नुको पछाडि सहानुभूतिको कमी, महिलाप्रति शत्रुताको भावना र विषाक्त पुरुषत्वको मानसिकताको उपज रहेको बताउँछन् । प्रसाईँका अनुसार बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै संयुक्त परिवारबाट एकल परिवारमा हुने विभाजन लगायतका कारणले पनि बालिका तथा महिलाहरू असुरक्षित हुने गरेका छन् ।

के छ, कानूनी व्यवस्था ?

नेपालको मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ले जबरजस्ती करणी मुद्दामा सजायको व्यवस्था गरेको छ ।

दफा १९को ३मा १० वर्षभन्दा कम उमेरकी बालिका, अशक्त, अपाङ्ग तथा ७० वर्षभन्दामाथिकालाई जबरजस्ती करणी गर्दा जन्मकैदको व्यवस्था गरेको छ । १० वर्ष वा १० वर्ष भन्दामाथि र १४ वर्षभन्दा कम उमेरका बालिकालाई जबरजस्ती करणी गर्नेलाई १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

त्यसै गरी १४ वर्ष भन्दा बढी र १६ वर्षसम्मका उमेर समूहका बालिकालाई जबरजस्ती करणी गरेमा १२ वर्षदेखि १४ वर्षसम्म कैदको व्यवस्था गरिएको छ भने १८ सम्म र त्योभन्दा माथिका भएमा ७ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here