राजमार्गको मुख्य नाका क्षेत्रमा सिसी क्यामरा जडान

0
70

सुर्खेत,

सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्ग छिर्ने मुख्य नाकासहित बड्डिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको छ । बराहताल गाउँपालिका सुर्खेत र अस्थायी ट्राफिक पोस्ट बड्डिचौरको आयोजनाका सिसी क्यामरा जडान गरिएको हो । राजमार्ग र बजार क्षेत्रमा आठ वटा सिसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

शान्ति सुरक्षाका लागि सिसी क्यामरा मेरुदण्डका रूपमा रहने बराहताल गाउँपालिका–५ का वडाध्यक्ष धिमराज जुल्मी मगरले बताउनुभयो । बराहताल गाउँपालिकाले शान्ति सुरक्षा, सडक सुरक्षालगायत अवाञ्छित क्रियाकलाप निगरानीसमेत गर्न तथा सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगका लागि अस्थायी ट्राफिक पोस्ट बड्डिचौरमा कन्ट्रोल रुम रहने गरी सिसी क्यामरा जडान गरिएको हो ।

प्रहरीसँगको समन्वयमा पालिकाले सिसी क्यामरा जडान गरेको बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगरले बताउनुभयो । बजार क्षेत्रका हरेक चोक र स्थानमा सिसी क्यामरा राख्दा घटना कसरी घट्छन्, तिनका कारण सजिलै पत्ता लगाई अन्य घट्ने घटना न्यूनीकरण गर्न र दोषी पत्ता लगाउन सजिलो हुने कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालले बताउनुभयो ।

राजमार्ग तथा बजार क्षेत्रमा सिसी क्यामरा जडानपछि विभिन्न किसिमका चोरी डकैत, तस्करी, सवारी दुर्घटना कम हुने विश्वास गरिएको छ । पालिकाले सिसी क्यामरा जडान आगामी वर्षमा अन्य स्थानमा जोड्न बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here