अमित खम्बू,
अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले गत वर्षदेखि सुरु गरेको धान बालीको बीज वृद्धी कार्यक्रम प्रभावकारी बन्दै छ ।
प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धानको वीउमा अर्जुनधारा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले गत वर्ष ५० विगाहा जमिनमा बीज वृद्धी कार्यक्रम सुरु गरेको थियो ।
सोही कार्यक्रम अन्र्तगत यस वर्ष संस्थाले ८८ टन बीउ उत्पादन गर्न सफल भएको संस्था सञ्चालक समितिका उपाध्यक्ष छत्र पौडेलले जानकारी दिए । संस्थाले गत वर्ष मिथिला, बहुगुणी–२, रामधान, स्वर्णसब–१, हर्दिनाथ–६ आदि जातको धानको बीउ लगाएको थियो ।
संस्थाले यस वर्ष अनुमानित ९० विगाहा जमिनमा कालो नुनीया, कोमल १०१, गरिमा, जीरा मसिना, रातो सर्ना, रामधान, लल्का बास्मती, हर्दिनाथ–६ आदि जातको धानको बीउ लगाउने तयारी गरेको संस्थाका कृषि विज्ञ टेकबहादुर पोखरेलले जानकारी दिए । यस वर्षको कार्यक्रमबाट अनुमानित २४० देखि २५० टन बीउ उत्पादन गर्ने संस्थाको लक्ष्य रहेको छ ।
हाल अर्जुनधारामा अनुमानित ४०० टन धानको बीउ आवश्यक रहेकोमा बीउ खरिद गर्न आवश्यक पूँजीको अभाव, बजारीकरण आदिका कारण बीउ उत्पादन हुने नसकेको कृषि विज्ञ पोखरेलले दावी गरे ।“यदी दुवै कुराको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले आवश्यक बजेट र चासो दिने हो भने संस्थाको उद्देश्य अनुसार नगरपालिकालाई धानको बीउमा आत्मनिर्भर बनाउन सकिन्छ” –उनले प्रष्ट पारे ।
संस्थाले धानको बीउ उत्पादनमा वृद्धीसँगै कृषकहरुले उत्पादन गरेको कृषि उपजको खरिद गरि बैंक बनाउने र बैंक बनाएपछी आवश्यक प्रशोधन गरि ब्राण्डको रुपमा बिक्री गर्ने संस्थाको लक्ष्य रहेको समितिका अध्यक्ष प्रत्युस रानाले बताए । धान बालीको बीउसँगै परीक्षणको रुपमा गहुँ, तोरी, मकै र जय घाँसको पनि बीज वृद्धी कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
यसैबिच अर्जुनधारा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संस्थाले बिहीबारदेखि दुई दिवसीय धान बाली वीज वृद्धी सम्बन्धी अगुवा कृषक अभिमुखिकरण तालिम शुरु गरेको छ ।
“कृषि, उद्यम, पर्यटन र सामाजिक विकास हाम्रो अभियान, सम्वृद्ध नगर, परिश्रमी र सुखी नगरवासी हाम्रो पहिचान” भन्ने मुख्य नारासहित नगरपालिकाको सभाहलमा आयोजित उक्त तालिमको प्रमुख अतिथि कोशी प्रदेशका कृषि मन्त्री भक्तिप्रसाद सिटौलाले उद्घाटन गरेका थिए ।
कृषि ज्ञान केन्द्र भद्रपुर र कृषि विज्ञ पोखरेलले सहजिकरण गर्ने तालिममा ६४ जना कृषकको सहभागीता रहेको समितिका उपाध्यक्ष पौडेलले जानकारी दिए ।
समितिका अध्यक्ष रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, निवर्तमान प्रदेश सांसद् वृख प्रधान, कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख सागर विष्ट, सतासी बहुमुखी सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
समितिकी सदस्य देवकला प्रसाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष पौडेलले गरेका थिए ।