देशभरका शिक्षक धर्नामा

0
36

मेचीनगर ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले देशभर धर्ना दिएका छन् । आइतबार विभिन्न पेशागत र नीतिगत माग राख्दै शिक्षकहरूले देशभर प्रदर्शन गरेका हुन् ।

महासंघले अघि सारेका मागप्रति ऐक्यवद्धता जनाउँदै महासंघसहित शिक्षकका विभिन्न पेशागत संघ–संगठनको तर्फबाट देशभरका ७ सय ५३ पालिकामा एकसाथ प्रदर्शन गरिएको हो । ‘प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८०’मा समेट्नु पर्ने विषय सन्दर्भमा महासंघले बुँदागतरुपमा सुझाव प्रस्तुत गरिसकेको छ । सोही मागलाई ध्यानाकर्षण गराउन आइतबार पालिकास्तरमा धर्ना दिएको बताइएको छ ।

शिक्षक महासंघ मेचीनगरको अगुवाइमा आइतबार मेचीनगर नगरपालिकामा शिक्षकले धर्ना दिए । धर्नामा महासंघ नेतृत्वदेखि पेशागत संघ–संगठनका केन्द्र, प्रदेश, जिल्ला तथा पालिका स्तरीय पदाधिकारी तथा शिक्षक प्रतिनिधि सहभागी थिए ।

शिक्षकहरुको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीमार्फत नेपाल सरकारसमक्ष ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । बिद्यालय पोशाकमा नगरपालिका परिसरमा बाल कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक प्रतिनिधिमूलक रुपमा धर्नामा सहभागी थिए ।

सो अवसरमा नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाँईं, शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहाल, शिक्षक संगठन झापा सचिव लम्बोदर पौडेल, शिक्षक महासंघ नगर अध्यक्ष लेखनाथ पौडेललगायतले आम शिक्षकका भावना समेट्ने गरी महासंघले अघि सारेका मागलाई सरकारले शीघ्र सम्वोधन गर्नुपर्ने माग गरे ।

महासंघका चरणवद्ध आन्दोलन अन्तर्गत अब ३० गते समन्वय इकाई, ३२ गते सामाजिक विकास मन्त्रालय तथा भदौ १ गते संघीय सांसदहरूलाई माग पत्र बुझाउने कार्यक्रम सार्वजनिक भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here