तिहारको शुभकामना

0
14

नेपालीहरुको दोस्रो महत्वपूर्ण चाड तिहारको विशेष दिन आज । अर्थात् यमपञ्चकको तेस्रो दिन ऐश्वर्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ । यो दिन घरआँगन, चोटाकोठा र वरिपरिको सरसफाई गरी धनकी देवी लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ । दीपावली समेत भनिने तिहारको अलग–अलग दिनको अलग–अलग महŒव छन् र फरक–फरक ढंगले प्रकृतिको पूजा गरेर मनाइने लौकिक परम्परा छ । झिलिमिलि बत्ती बालेर, सयपत्री फूलको मालाले पूजाकोठादेखि घरको ढोका हुँदै आगनको मुख्य प्रवेशद्वारमा केराको थम्बा गाडेर फूल र बत्तीको मालाले सिंगारेर देवी लक्ष्मीलाई प्रशन्न तुल्याउने परम्परालाई पछिल्लो वर्षहरुमा आधुनिकताले थिच्दै लगेको छ ।

बेलुका विशेष श्रृंगार गरी सजाइएकी देवी लक्ष्मीको विशेष पूजाआराधना पछि नेपालीको मौलिक संस्कृति देउसीभैलो खेल्ने गरिन्छ । युवा, प्रौढ तथा बालबालिका समेत समूह बनाएर देउसी–भैलो खेल्न हिँड्ने र पौराणिक पात्रहरु यमराज, बलि आदिको कथा लयात्मक भाखामा नेपाली संस्कृतिको समेत गायन गर्ने यो पर्व हाम्रो गौरव पनि हो । आधुनिकताले थिच्दै लगेको आजको नेपाली समाजमा यमपञ्चकका पाँच दिनहरु मनाउने प्रचलन हराउँदै जान थालेको छ । अनि पनि लक्ष्मीपूजा, भाइटीका भने त्यही मान्यताबाट मनाइन्छ । दिदी–बहिनी र दाजुभाइबीचको पवित्र सम्बन्धलाई अक्षुण्ण राख्ने यो पर्व, त्यसकारण पनि हाम्रो साझा पर्व हो ।

आजैका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पनि हो । नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म कात्तिक कृष्ण औंशीका दिन भएको थियो । दश वर्षकै उमेरदेखि कविता लेख्न शुरु गरेका देवकोटाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेका थिए । उत्कृष्ट कृतिहरुका सर्जक देवकोटाका रचनाहरुमा स्वच्छन्दतावादसँगै प्रकृति प्रेम, प्रगतिवादी भावका साथै पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । दश दिनमै ‘सुलोचना’ महाकाव्य लेखेर दुनियालाई आश्चर्यचकित पार्न सक्ने देवकोटाको समेत स्मरण गरिने आजको दिनमा उनीप्रति श्रद्धासहित सबै नेपालीमा तिहारको मंगलमय शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here