हात्तीमैत्री पदयात्रा समाधानको कडी होस्

0
5

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्तीमैत्री पदयात्रा शुरु गरेका छन् । मुख्यमन्त्री कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वबाट उत्पन्न समस्याको समाधानका लागि सरोकारवालाहरुको धारणा बुझ्न झापादेखि उदयपुरसम्म पदयात्रा गर्ने बताइएको छ । पदयात्रा प्रकृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि समेत उपयोगी हुने आयोजक पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले दाबी गरेको छ । फागुन १६ गतेसम्म सञ्चालन हुने हात्तीमैत्री पदयात्राका क्रममा विज्ञ तथा सरोकारवाला संस्थाका टोलीले हात्तीको परम्परागत जैविक मार्गलाई पछ्याउँदै हात्तीसँगको द्वन्द्व न्यूनीकरणका लागि स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गर्नेछ ।

झापा विगत चार दशकदेखि जंगली हात्तीको आतंकबाट पीडित छ । जंगली हात्तीको पीडाले पश्चिम सर्दै मोरङ, सुनसरी जिल्लाका स्थानीयबासीलाई समेत पीडा दिएको छ । हात्तीजन्य आतंक नियन्त्रण गर्न झापामा केही वर्षदेखि गरिँदै आएका उपायहरु निष्फल हुँदै जाँदा स्थानीयबासीलाई ज्यान जोगाउनै समस्या भइरहेको छ । स्थानीयले लगाएको अन्नबाली, भण्डारण गरेको अन्न र घर भत्काएर ठूलो आर्थिक क्षति गर्ने गरेको छ । यस्तो बेला संघीय सरकारका वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीहरु यो पदयात्रामा सहभागी छन् । झापा मेचीनगर–२ बाट शुरु हुने पदयात्रा आठौं दिन उदयपुरको भुल्केटारी बेलसोत बजारमा पुगेर समापन हुनेछ ।

भारत र दक्षिण एसिया क्षेत्रमा रहेका हात्ती भारतीय सीमा क्षेत्रबाट नेपालको मेचीनगर छिरेर उदयपुरसम्म पुग्ने गरेका छन् । जनसंख्या वृद्धिसँगै बढेको बस्तीले हात्तीको परम्परागत जैविक मार्ग क्षयीकरण भइरहेको छ । मार्गमा अवरोध भएर आहार समेत कम हुन थालेपछि जंगली हात्तीले मानवीय, भौतिक एवम् आर्थिक क्षति गर्दै आएको छ । हात्तीको पीडाबाट हैरान भएका स्थानीयबासीले प्रतिशोधको व्यवहार गर्न थालेपछि हात्ती पनि मर्न थालेका छन् । हात्तीको संरक्षण जैविक विविधता र पर्यावरणीय सन्तुलनका लागि समेत आवश्यक रहेको छ । त्यसैले तिनको बासस्थानको संरक्षण र व्यवस्थापनमा सरकार लाग्नु पर्दछ । त्यसका लागि वनको संरक्षण गर्दै मानव–हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न सबैको चासो हुनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here