मानवीय विकास प्रदेश सरकारको मुख्य प्राथमिकता: मुख्यमन्त्री कार्की

0
12

पाँचथर,

कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले मानवीय विकासलाई प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभएको छ ।

बालबालिकाको निःशुल्क उपचारमार्फत सक्षम युवा शक्ति निर्माण, विपन्न समुदायलाई प्राविधिक शिक्षामा पहुँच र युवामैत्री बजेट निर्माणमार्फत प्रदेश सरकारले मानवीय विकासलाई विशेष जोड दिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

आज पाँचथरको फिदिममा आयोजित चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले कोशी प्रदेश सरकारले १० वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताउनुभयो । “बच्चा जन्मिएपछि उपचारका लागि परिवार ऋण खोज्न जानुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले १० वर्षभन्दा मुनिका सबै बालबालिकालाई निःशुल्क उपचार सुरु गरेको हो”, उहाँले भन्नुभयो, “अब मैदानमा खेल्न सक्ने बच्चा बनाउन प्रदेश सरकारले मद्दत गर्नेछ ।” मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आगामी बजेट युवा केन्द्रित हुने उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले गाउँका विद्यार्थीका लागि प्राविधिक शिक्षामा छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो । उहाँले हरेक जिल्लाका खेलमैदानलाई महत्वका साथ अघि बढाएर युवालाई उद्यमी, खेलाडी र सम्मानित बनाउन सहयोग गर्ने समेत उल्लेख गर्नुभयो ।

गोल्डकपको उद्घाटनका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेलगायतले पाँचथरमा अवरुद्ध रहेका विकास आयोजना चाँडो अघि बढाउन मुख्यमन्त्री कार्कीसमक्ष आग्रह गर्नुभयो ।

चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

पाँचथरको फिदिममा आयोजित चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज पाँचथरको फिदिमस्थित फिदिम माविको खेलमैदानमा सम्पन्न फाइनलमा आयोजक पाँचथर क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

उपाधिसँगै आर्मीले रु पाँच लाख पाँच हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक पाँचथर क्लबले रु दुई लाख ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

खेलको ३१औँ मिनेटमा आर्मीका पदम तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ३९औँ मिनेटमा आयोजक पाँचथरका आशीष चापागाईँले दिनेश शेर्माको पासलाई गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पाँचथरका लागि ४७औँ मिनेटमा प्रशान्त लक्समले गोल गर्दै टोलीलाई २–१को अग्रता दिलाए पनि त्यो लामो समयसम्म टिकेन । खेलको ५३औँ मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि आमीका लागि दीपकुमार लामाले खेलको ६१औँ र ७९औँ दुई गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

‘प्लेयर अफ दि म्याच आर्मीका पदम तामाङले रु पाँच हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट डिफेन्डरमा वसन्त तामाङ, उत्कृष्ट मिडफिल्डरमा रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षकमा आदर्श मल्ल र उत्कृष्ट गोलरक्षक नवीन परियार बन्न सफल भए । उनीहरु चारैजना त्रिभुवन आर्मी क्लबका हुन् । उनीहरूले जनही रु १० हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्तामा आयोजक पाँचथर क्लबका शुकराज राई घोषित हुँदै रु १० हजार पुरस्कार प्राप्त गरे भने उदयमान खेलाडीमा पाँचथर क्लबका मनिष क्षेत्री र सर्वोत्कृष्ट खेलाडी पाँचथर क्लबकै रोषन आङ्देम्बे घोषित हुँदै रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिनुभयो ।

विजेता, उपविजेता तथा विधागत विजेता खेलाडीलाई कोशी प्रदेशसभा सदस्य मैया श्रेष्ठ, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पाँचथर क्लबले फागुन १२ गतेदेखि फिदिममा आयोजना गरेको प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ फुटबल टोलीले सहभागिता जनाएका थिए । फिदिम माविको निर्माणाधीन खेलमैदानमा आयोजित प्रतियोगितालाई वाइवाइ चाउचाउले प्रायोजन गरेको थियो भने जिल्लाका स्थानीय तहहरुले प्रवर्द्धन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here