गीत गाउँदागाउँदै भावुक बने प्रशान्त

0
7

युद्धबहादुर बोहोरा,

घुर्बिसे पञ्चमीमा आयोजित सेहोनाम्लाङ महोत्सवको सांगीतिक कार्यक्रममा गायक तथा अभिनेता प्रशान्त तामाङको पर्खाइमा थिए दर्शक ।

नयाँ वर्षको अवसरमा इलाम र पाँचथरको सिमानामा आएका उनी दिउँसो पर्यटकीयस्थल सुकेपोखरीमा घुम्न गए । साँझपख महोत्सवमा आइपुगे । त्यसबेला उनले गाएका चर्चित गीतहरु सांगीतिक माहोलमा घन्किँदै थिए । आयोजक, अतिथि दर्शकले उनलाई भव्य स्वागत गरे । प्रायः सुविधा सम्पन्न र परिचित ठाउँमा मात्रै उनलाई बोलाइने सेलीब्रेटी तामाङ ग्रामीण ठाउँमा आइपुग्दा सोचेभन्दा फरक माहोल देखे । उनले सबैलाई सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे ।

अनि विदेशिएका आफन्तहरुको सम्झनामा डेडीकेट भन्दै शुरु गरे– ‘विछोडको करौतीले काट्नु मनै काट्यो, जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो’, यहाँबाट आफ्नो प्रस्तुती थाले । दर्शकको हुटिङ् बढ्न शुरु ग¥यो । एकपछि अर्को मार्मिक गीतहरु गुञ्जिन थाले । जब उनले ‘घामको हो माया, जुनको माया..।’ गीत गाउँदागाउँदै स्टेजमा आफै भावुक बन्दै आँशुसम्म खसाले ।

केहीबेर रोकिएर उनले भने– ‘सानी छोरी आरिया बुबा र आमाको सदैव साथ खोज्छिन् । त्यसैले लामो समयदेखि कुनै पनि प्रोग्राममा गएको थिइन् र यसबेला छोरीदेखि टाढा छु त्यसैले यो गीतले छोरीको याद आयो मन छोयो । अनि भावुक बनेँ । सानै उमेरमा बुबा र केही वर्षअघि मात्रै आमा गुमाएका इण्डियन आइडल तामाङले आफ्नी सानी छोरीको बढी सम्झना भएकाले भावुक बनेको दर्शकसामु सुनाए । तामाङलाई अभिभावकको महत्व र छोराछोरीलाई मायाप्रेमको अभावमा कस्तो पीडा हुन्छ यस कुराले मन छोएको बताउँदै ग्रामीण क्षत्रेका दर्शक र शुभचिन्तकले देखाएको मायाप्रेम थाम्न नसकेर आँशुसम्म खसालेको भन्न भ्याए ।

इलाम र पाँचथरको सिमाना घुर्बिसे पञ्चमीमा चैत्र २६ गतेदेखि एक हप्तासम्म सञ्चालित महोत्सवमा नयाँ वर्ष २०८१ को पहिलो उनी पहिलो पटक पाँचथरमा आएका थिए । दर्शकको ओइरो लागेको यस सांगीतिक साँझमा केही समय शुभचिन्तकहरु पनि यसबेला भावुक देखिए ।

महोत्सवमा फाल्गुनन्द गाउँपालिका घर भई स्थानीय क्षेत्र बाहिर रहेका कलाकार निरन्ता नेम्वाङ, गायक तथा संगीतकार असोक मुकारूङ, एकान्त आङ्देम्बे, जेपी नेम्वाङ, आइन्द्र नेम्वाङ लगायतले अघिल्लो दिन सांगीतिक माहोल तताएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । यसै अवसरमा दर्जनौं स्थानीय कलाकारले कला प्रदर्शन गर्ने मौका पनि पाए ।

उक्त ठाउँमा पहिलो पटक हाम्रो गन्तव्य, संस्कृति प्रवद्र्धन भन्ने उद्देश्यले आयोजना गरिएको सेहोनाम्लाङ औद्योगिक तथा सांस्कृतिक पर्यटन महोत्सवलाई सम्पन्न गर्न पाँचथरको फाल्गुनन्द, मिक्लाजुङ र कुम्मायक गाउँपालिका र वडापालिकाहरुको सहयोग रहेको छ । साथै इलामको फाकफोकथुम गाउँपालिका र विदेशबाट तथा स्थानीयबाट पनि सहयोग गरिएको आयोजकले जनाएको छ ।

महोत्सव मार्फत स्थानीय धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार, खेलकुद, भाग्यशाली उपहार योजना, अग्र्यानिक रैथाने खाना, स्थानीय उत्पादित कला, कृषिजन्य वस्तु लगायतको व्यापार पनि गरिएको छ ।्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here