नयाँ अनुभूति होस्

0
5

प्राचीन सनातन हिन्दू परम्परा र वैदिक समयको अङ्कनमा आधारित नयाँ वर्ष २०८१ को आज तेस्रो दिन भएको छ । नयाँ शब्द आफैंले मानिसको मनमा हर्ष र ऊर्जाको अनुभूति दिलाउँछ । विक्रम सम्वत्लाई आधार मानेर हरेक वर्षको बैशाख १ गते नेपालीले नयाँ वर्ष मनाउने गरेका छन् । यद्यपि नेपालमा जाति विशेषका आधारमा बेग्लाबेग्लै दिनलाई नयाँ वर्षका रुपमा मनाउने गरिएको छ । तर, पनि विश्वभर छरिएर रहेका नेपालीले यही दिन विशेष ढंगले मनाइने भएकाले यो साझा बनिएको छ । विश्वमा इश्वी सम्वत मान्नेहरुले फरक दिनलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन् र नेपालीले जस्तै शुभकामना साटासाट गरेर, मीठो परिकार खाएर, भेटघाट तथा रमाइलो गरेर नयाँ वर्षलाई स्वागत गर्छन् ।

चैत महिनाको मसान्तको राति १२ बजेदेखि अन्त्य भएर शुरु भएको नयाँ वर्षप्रति आमनेपालीको धेरै अपेक्षाहरु छन् । मानिस स्वभावैले आशावादी प्राणी हो, त्यसैले आशा, अपेक्षा गर्नु वा सुखद् भविष्यको सपना देख्नु स्वभाविक हो । गएको वर्षले थुप्रै बेथिति, विकृति र विसंगतिहरुको भारी बोकेको थियो । यद्यपि ती वर्ष स्वयम्ले उत्पन्न गरेका विषय होइनन् । राजनीतिक प्रणालीको परिवर्तनपछि पनि जनअपेक्षा जस्ताको तस्तै रहे । राज्यका सञ्चालकहरु भ्रष्टाचारमै लिप्त रहे । जनताले सुशासन, सुव्यवस्था र सेवाप्रवाहमा नवीनता अनुभव गर्न पाएनन् । राज्यका सञ्चालकहरुले बारम्बार दोहो¥याएको सुशासनको प्रतिबद्धता उनीहरुको ओठमै सीमित रह्यो ।

जनता परिवर्तनको पक्षमा छन् । उनीहरु चाहन्छन् प्रत्येक नयाँ वर्षले जीवन पनि फेरियोस् । ओठमा मुस्कान आओस्, अनुहारमा कान्ति आओस् र दैन्दिनी सहज होस् । तर, ठीक विपरीत देशमा भ्रष्टाचार बढेर गएको छ । कार्यपालिका, न्यायपालिकादेखि प्रहरी, प्रशासन सबै क्षेत्र भ्रष्टाचारमा रुमलिएको छ । आर्थिक अनियमितता र पदको दुरुपयोग गरेका भ्रष्टाचार काण्डहरुको सूचीमा सुन तस्करी हुँदै नेपालीलाई शरणार्थी बनाउनेसम्मका, औषधिदेखि छपाइ सम्बन्धी मुद्दाहरु थपिएका छन् । दोषी दण्डित हुनु त कता हो कता राजनीतिक संरक्षणमा चोख्याइएका छन् । विकास, समृद्धि र अग्रगमनको चाहनाले ठूलाहरु कै सत्ता केन्द्रित लुछाचुँडीले किनारा लगाइरहेको छ । अस्थिरता बलियो हुँदै जाँदा प्रणालीमै सवाल उठ्न थालेको छ । यस्तो बेला शुरु भएको नयाँ वर्षले नेपालीमा फेरि पनि आशाको सञ्चार गरोस्, जनतामा बाँडिएका सपना व्यवहारमा अनुभूत गर्न पाइयोस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here