चिकित्सक नहुँदा प्रसूति सेवा ठप्प

0
7

भद्रपुर ।

कनकाई नगरपालिका–४ सुरुङ्गा निवासी मीना बस्नेत (कटुवाल) बिहीबार बिहान ११ बजे भद्रपुरस्थित प्रादेशिक अस्पताल पुगेकी थिइन् ।

३६ वर्षीया मिना गर्भवती छिन् । मीना परिवारसहित सुत्केरी गराउन अस्पताल पुगेकी रहिछिन् । सुत्केरी व्यथाले च्यापेपछि मीना अस्पतालको स्त्री तथा प्रसूति रोग विभागतर्फ सोझै गइन् । विभाग पुग्दा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक बस्ने ढोकामा ताला झुण्डिएको थियो ।

ढोकामा ताला देखेपछि मीनासहित उनका परिवारजन वरिपरि आँखा डुलाए । उनीहरूको आँखा ढोका बाहिर टाँसिएको एउटा कागजमा प¥यो । कागजमा अस्पतालको सूचना लेखिएको रहेछ । त्यो पनि स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा बन्द भन्ने बारेमा ।

सेवा बन्द हुँदा व्यथाले च्यापेकी मिना सुत्केरी नगराई त्यतिकै अस्पतालबाट फर्किइन् । नगर कनकाई अस्पतालमा नियमित गर्भ जाँच गराएकी मीनालाई त्यहाँका चिकित्सकले प्रादेशिक अस्पताल पठाएका थिए । चिकित्सकले सुत्केरी गराउने मिति तोकिएको भन्दा हप्ता दिन बढी बितिसकेको थियो । त्यसो भएर उनलाई तत्काल परिवारजनले दमकस्थित आम्दा अस्पतालतर्फ लगिन् ।

उनको परिवारजनको एउटै गुनासो छ– ‘प्रदेशकै ठुलो सरकारी अस्पतालको यस्तो अवस्था भएपछि गरीब तथा निमुखा जनता कहाँ गएर उपचार गराउने हो, चर्को शुल्कतिर निजी अस्पतालमा ?’ ‘दुई जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेको अस्पतालमा दुवै जना चिकित्सकसँगै बिदा बस्नु पर्ने, अनि यहाँका आएका बिरामीहरूलाई बिचल्ली बनाउन पाइन्छ ?’– उनीहरूले भने ।

मीना जस्तै अरू बिरामीहरू पनि सूचना पढेकै आधारमा त्यतिकै फर्किन बाध्य भइन् । कोही सुत्केरी गराउन पुगेकी थिइन भने कोही नियमित गर्भ जाँच, पाठेघर लगायत सम्बन्धी समस्या लिएर अस्पताल गएकी थिइन् ।

कति बिरामीलाई त टिकट काउन्टरबाटै कर्मचारीले फकाइदिएका थिए । गौरीगञ्ज गाउँपालिका–१ निवासी ६६ वर्षीया निर्मला कटुवाल बुधबार बिहान अस्पताल पुगेकी थिइन् । पाठेघर समस्या लिएर अस्पताल पुगेकी उनी पनि जाँच नगराई फर्किन बाध्य भइन् ।

प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एलिजा गौतम र डा. शिवेश चौधरी कार्यरत छन् । डा. गौतम स्थायी कर्मचारी हुन भने चौधरी छात्रवृत्ति कोटामा कार्यरत छन् । अस्पताल प्रशासनले टाँसको सूचनामा लेखिएको छ, स्त्री रोग विशेषज्ञ चिकित्सकहरू बिदामा रहनु भएको कारणले मिति २०८१ बैशाख १२ गतेदेखि बैशाख १९ गतेसम्म (८ दिन) सेवा बन्द हुने सम्बन्धित सबैमा जानकारी गराइन्छ । यसबाट पर्न जाने असुविधा प्रति अस्पताल प्रशासन क्षमाप्रर्थी छ ।

यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खडकाले दुवै चिकित्सकसँगै बिदामा बस्दा सेवा प्रभावित भएको स्वीकारे । दुवै जना काम विशेषले बिदा लिएर गएको बताउँदै उनले भने– ‘सेवा प्रभावित हुनु हुँदैन थियो, यस विषयमा म अस्पताल प्रशासन गम्भीर छ, ८ दिन बन्द गरिने सूचना टाँसिए पनि त्यो भन्दा अघि नै चिकित्सक बोलाएर सेवा सुचारु गराउने प्रयासमा छु ।’

अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा चिकित्सक डियुटीमा हुँदा पनि गरिब तथा निमुखा जनताले सास्ती झेल्दै आइरहेको छ । बिहान, दिउँसो सुत्केरी गराउने अस्पतालमा साँझ परेपछि चिकित्सक नै नबस्ने गरेको जनगुनासोहरू पनि आइरहेको छ ।

यहाँका चिकित्सकहरू निजी अस्पतालमा समेत काम गर्दा साँझ परेपछि सुत्केरी व्यथाले च्यापेर आएका महिला बिरामीलाई यहाँबाट अन्यत्र रेर्फर समेत गरिँदै आएको छ । सुत्केरी व्यथा च्यापेकोले बाध्य भएर गरिब जनताले चर्को शुल्क तिरेर भए पनि निजी अस्पताल गएर सुत्केरी गराउनुपर्ने बाध्यता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here