कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव

0
6

मान्म (कालीकोट),

कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा सधैँ खानेपानीको अभाव हुने गरेको छ । वर्षामा बाढीपहिरो र गर्मीयाममा पानी मुहान सुक्ने गरेकाले खानेपानी अभाव हुने गरेको हो ।

सदरमुकाम मान्म बजारमा दिन प्रतिदिन बढ्दो मानवीय चाप र खानेपानी व्यवस्थापन भरपर्दो नहुँदा खानेपानीको सधैँ अभाव हुने गरेको छ । सदरमुकाम मान्म बजारमा सधैँ नै खानेपानी अभाव हुने गरेको पानी धेरै टाढाका मुहान गएर ल्याउनुपर्ने बाध्यता रहेको छ ।

सदरमुकाम मान्म बजारमा लामो समयदेखि होटेल व्यवसाय गर्दै आउनुभएका नरहरिनाथ गाउँपालिका–६ का गोर्खबहादुर बटालाले खानेपानी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ‘घरमा वितरण गरिएका खानेपानीका धारामा हप्तामा एक दिन पानी आउँछ ।’ उहाँले भन्नुभयो, “१० देखि १५ मिनेटसम्म खानेपानीको धारामा पानी आउने भएकाले त्यसले खानेपानी पनि पुग्दैन ।”

हिउँद र गर्मीयाममा मात्रै नभएर वर्षात्को समयमा टाढाबाट ल्याएको खानेपानीमा खोलाखोल्सामा आउने पहिरो, गाईबस्तु चराउने व्यक्तिले पानीका पाइपको लाइन काट्ने भएकाले मान्म बजारमा खानेपानी सधैँ अभाव हुने गरेको सदरमुकाम मान्म बजारमा व्यवसाय गर्दै आउनु भएका भानु आचार्यले बताउनुभयो ।

‘यहाँ सधैँ खानेपानीको वितरणमा एकरुपता नहुँदा खानेपानीको अभाव हुने गरेको छ ।’ उहाँले भन्नुभयो, “पहुँचवालाको घर तथा कार्यालयमा रातदिन जाने पानीका कारणले पनि बजारमा अभाव हुने गरेको छ ।” खाँडाचक्र नगरपालिकाको मान्म बजारमा पानीको मुहानको अभावले खानेपानीको समस्या रहेको वडाध्यक्ष धर्मराज टमटाले बताउनुभयो ।

‘खानेपानीको अभाव हुनुमा मुहान सुक्नु र पाइपका लाइनमा प्वाल परेका कारणले समस्या भएको छ ।’ उहाँले भन्नुभयो, “खानेपानी समस्या टार्नका लागि वडा तथा नगरपालिकाले पहल गरेको भए पनि समस्या टार्न सकिएको छैन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here