खानपिनमा सचेत बनौं

0
14

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार गरी सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी ५२ वटा रोगलाई सङ्क्रामकको सूचीमा राखेको सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले जानकारी दिए । डा. बाँस्तोलाका अनुसार देशमा पहिलोपटक यस्तो सूची तयार पारेको भन्दै सङ्क्रामक रोगबाट जानकारी दिएका थिए । सङ्क्रामक रोगको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापनिज इन्सेफलाइटिस्, हैजा, कालाजार, रुबेला लगायतका रहेका छन् ।

खासगरी बर्खाको समयमा आउने बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिसँगै सङ्क्रामक रोगको जोखिम पनि बढी हुन्छ । यसबेला झापापखाला, डेङ्गु, मलेरिया, टाइफाइड, निमोनिया, ज्वरो, स्क्रब टाइफस, छालाको समस्या, पेटको समस्या, रुघाखोकी जस्ता रोगको सङ्क्रमण बढी देखिन्छ । बर्खापछि शुरु हुने गर्मीमा खुल्ला छाडिएका भाँडाहरुमा जमेको पानी, पंक्षीको बिष्टा, फोहर जस्ता कारणले मानिस बिरामी पर्दछन् । यसबेला सरुवा रोगहरुमा केही श्वासप्रश्वास र धेरै पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । जसले एउटा रोगी मानिसको संसर्गले अर्को मानिसमा सङ्क्रमण फैलाउँछ ।

रोगका कारण नै दूषित खाना, पानी र हावा भएकाले हामी यसमै सचेत रहनु पर्दछ । वर्खाको समयमा पानीका मुहान पनि दूषित हुन्छन् त्यसैले पानी उमालेर पिउनुपर्छ । व्यक्तिगत सरसफाईमा ध्यान दिएर, घर बाहिर निस्कँदा मास्कको प्रयोग गरेर पनि सङ्क्रामक रोगहरुबाट जोगिन सकिन्छ । यसका साथै सम्बद्ध मन्त्रालय, विभाग सरकारले नै आपतकालीन चिकित्सकीय टोली बनाएर स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्छ । सरकारले गर्छ भनेर पर्खिनुभन्दा रोग लाग्नै नदिने वातावरण तयार गर्नु बुद्धिमानी हुन्छ । यसका लागि खानपानमा ध्यान दिनु नै सर्वोत्तम उपाय हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here