नगर अस्पतालमा ८३ जना सुत्केरी

0
2

बिर्तामोड।

बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूति) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसँंगै प्रसूति गराउनेको संख्या पनि थपहुँदै गएको हो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा ७० जना र चालू आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दीपा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन् ।

नगर अस्पतालमा प्रसूति हुनेहरुका लागि न्यानो झोलासमेत प्रदान गरिँदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुन्छ ।

नगर अस्पतालले प्रसूति सेवा लिनेहरुलाई एक हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुका लागि ८ सय रुपैयाँ थप गरी १८ सय रुपैयाँ प्रदान गर्दै आएको छ । अस्पतालले नर्मल डेलीभरी सेवालाई २४ सै घण्टा उपलव्ध गराएको छ । यसका लागि ८ जना स्वास्थ्य कर्मीको व्यवस्थापन गरिएको छ ।

नगर अस्पतालमा फिजिसियन, वालरोग, मनोरोग , वाथरोग, स्त्री तथा प्रसूति रोग, हार्डजोर्नी तथा नशा रोगलगायत विभिन्न रोगका विशेषज्ञहरुको सेवा उपलव्ध रहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिए । अस्पतालमा केही दिन अघिमात्रै २ जना मेडिकल अधिकृत थप गरिएको छ ।

अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि भवन निर्माणसँंगै विभिन्न प्रकारका सेवा थप गर्ने र भएकालाई अझै व्यवस्थित गर्ने कार्य भइरहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here