असुरक्षित यात्रा र वेपर्वाह सरकार

0
7

कुनै पनि देशको विकासमा यातायातको द्रुतरत विकास भइरहेको छ । नेपाल र नेपालीको भविष्य निर्माण गर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको निर्माणपछि मेची–महाकालीलाई एउटै रेखामा जोडेको थियो भने उत्तर–दक्षिणलाई जोड्ने सहायक सडकहरु पनि धमाधम निर्माण भएका हुन् । तर, दुःखको कुरा आज सडक सञ्जालको विकासले सवारी दुर्घनाको श्रृंखला तीव्र भइरहेको छ । यातायातको विकाससँगै दुर्घटना भएर यात्रुको ज्यान जानु दुःखद् पक्ष हो । यातायातका साधनमध्येको सुरक्षित मानिएको हवाई सेवा समिति जोखिमपूर्ण भइरहेको सन्दर्भले यातायात व्यवस्थापन चुनौति बनिएको छ ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७१–०७२ यताको दश वर्षको अवधिमा दुई लाख ५८ हजार सात सय १३ वटा सवारीसाधन सडक दुर्घटनामा परेका छन् । यसबेला निरन्तर भइरहेका सडक दुर्घटनाले यो तथ्यांक अझै बढेको छ । दश वर्षको अवधिमा २४ हजारभन्दा बढीको ज्यान गएको छ भने दुई लाखभन्दा बढी घाइते भएका छन् । विश्वभर सवारी दुर्घटनामा परेर प्रतिवर्ष १४ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । नेपालकै सन्दर्भमा प्रतिदिन औसतमा आठ जनाको सवारीसाधन दुर्घटनामा परेर मृत्यु हुने गरेको छ । संयुक्त राष्ट्रसंघले विश्वभरको सवारीसाधन दुर्घटनाको भयावह चित्रलाई दृष्टिगत गरी विश्व सडक सुरक्षा दशक कार्य योजना लागू गरेको छ । त्यसै अनुसार नेपालमा पनि राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना गरिएको छ । तर, पनि परिषद्को अक्षमता र निस्क्रियताका कारण दुर्घटना न्यूनीकरण होइन बढोत्तरी भइरहेको छ । यसले हाम्रो सडक यात्रा असुरक्षित र स्वयम्कै लागि चुनौति बनेको छ ।

सडक असुरक्षित हुनुलाई सम्बद्ध पक्षले अर्कालाई देखाएर आफू पन्छिने गरेका छन् । सडक सुरक्षा एवम् यातायत सम्बन्धी विज्ञहरुले राज्यको कमजोर नीतिलाई सडक असुरक्षित हुनुको कारण मानेका छन् । हरेक दुर्घटनामा राज्य पक्षको अनुपस्थिति, उद्धारमा ढिलाइ, सामग्रीको अभाव जस्ता कारणका पछि राज्य नै जिम्मेवार छ । सडक पूर्वाधारमा सुधार, सवारीसाधनको प्राविधिक अवस्था, कानूनको पालना, आपतकालीन उद्धार तथा उपचारको शीघ्रतालाई सरकारले पहिलो प्राथमिकतामा राखेर नीति, नियम र संयन्त्र तयार गर्नुपर्छ । भारतबाट तीर्थयात्राका लागि आएका तीर्थयात्री सवार बस दुर्घटनामा परेलगत्तै भारत सरकारले मन्त्रीलाई नै पठाएर आफ्ना नागरिकको अभिभावकत्व ग्रहण गरेको तस्वीर हाम्रो सरकारले देख्यो नै होला । त्यस्तो अनुभूति हाम्रा दुर्घटनाका घाइते र मृतकका परिवारजनले गरेको दिन पीडितले थोरै भए पनि राहत महशुस गर्ने थिए ।

दुई महिनाअघि सिमलताल दुर्घटनाको पीडा कम नभएकै अवस्थामा तनहुँको आबुखैरेनीमा भएको भारतीय तीर्थयात्री मध्ये २७ जनाको ज्यान गयो । मुग्लिन–नारायणगढ सडकखण्डमा भएको सवारी दुर्घटनामा शित्रूलीमा खसेको बसका ३५ यात्री अझै बेपत्ता छन् । त्यसयता दिनहुजसो हृदयविदारक सडक दुर्घटनामा परी धेरैले ज्यान गुमाइसकेका छन् । त्यसअघि सुरक्षित भनिने हवाइ दुर्घटनामा परी २३ जनाको मृत्यु भएको थियो । यस्ता दुर्घटनाले नेपाली आकाश र सडक यात्रा असुरक्षित रहेको सन्देश गयो भने हाम्रो अर्थतन्त्रको आधारका रुपमा रहेको पर्यटन प्रभावित हुन सक्छ । त्यही पनि कोरोनाले पर्यटन लगायतका समग्र क्षेत्र शिथिल छन् । त्यसैले डोजरे विकासको मानसिकताबाट मुक्त भई राष्ट्रिय महŒवका राजमार्गहरुको सुरक्षामा लाग्न सरकारले ढिला गर्नुहुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here