विराटनगर .
जिल्ला कारागार मोरङका १ जना कैदीको उपचाररत अस्पतालमै आइतबार बिहान मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको विराटनगरस्थित कोशी अस्पतालमा बिहान ११ः४५ बजेतिर मृत्यु भएको हो ।
खुट्टा सुन्निने र मुटुमा समस्या देखिएका कारण उनलाई उपचारका लागि भदौ २० गते अस्पताल भर्ना गरिएको थियो ।
मोटरसाइकल चोरीका विभिन्न घटनामा संलग्न तामाङको उपचाररत अवस्थामै मृत्यु भएको कारागारका जेलर चेतनाथ बरालले बताए । स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको थियो । तर, थप उपचार नपाउँदै तामाङको ज्यान गएको जेलर बरालको भनाइ छ ।
उनका अनुसार परिवारका सदस्य सम्पर्कमा आइसकेका कारण शव जिम्मा लगाउने तयारी भइरहेको छ । विभिन्न ठाउँमा मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध ५ वटा जिल्लामा चोरी मुद्दा चलेको छ । मोरङमा मात्रै २ वटा मुद्दा छन् । एउटा मुद्दाको फैसला भइसकेको छ भने अर्को विचाराधीन नै छ ।
मोरङबाहेक झापा, सुनसरी, इलाम र धनकुटामा मुद्दा रहेको हो । जेलर बरालका अनुसार मोरङमा रहेको एउटा मुद्दामा जिल्ला अदालतले ४ महिना कैद र १५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।
अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग भएको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको हो । बरालका अनुसार तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।उनीसँग चोरी मुद्दामै धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रुपैयाँ माग भएको थियो । दुवै अदालतले मागेको धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भए । धरौटी रकम जम्मा गर्न नसकेपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको जेलर बरालको भनाइ छ ।
तामाङविरुद्ध झापा र इलाम अदालतमा पनि चोरी मुद्दा छन् । दुवै अदालतले उपस्थित गराउन आदेश दिइसकेका थिए । उपस्थित गराउन नपाउँदै र विभिन्न अदालतमा रहेका मुद्दाको छिनोफानो नभईकन तामाङको मृत्यु भएको बराल बताउँछन् ।उनका अनुसार जिल्ला कारागार मोरङमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी छन् । जसका कारण कारागारभित्र कैदी बन्दीको दैनिकी निक्कै कष्टकर बनिरहेको छ । उनीहरूलाई खाने, बस्ने र सुत्ने ठाउँको सङ्कट भइरहेको छ ।
जेलर बरालले कारागारमा हाल ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी रहेको जानकारी दिए । उनका अनुसार क्षमताभन्दा बढी राख्नु परेका कारण कैदी बन्दीले ठाउँ अभावको सामना गर्नु परिरहेको छ ।