झापा, नजिकिदै गरेका नेपालीहरुका महान पर्वहरुलाई लक्षित गरेर झापाको बिर्तामोडमा एक महिने दशैतिहार महोत्सव तथा जुत्ता मेला हुने भएको छ ।
‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आगमी भदौं २५ गतेदेखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको आज (आइतवार) बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा बिशेष गरेर नेपालीहरुको महान पर्व वडा दशैंलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका दिपेन्द्र राउतले जानकारी दिए ।
स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डलाई आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक समितिका संयोजक होमनाथ उपाध्ययले बताए । संयोजक उपाध्ययका अनुसार महोत्सवमा जुत्ता चप्पलका २५ स्टल रहने छन् ।
उनले महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी र ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी मोडलका जुत्ताहरु उपलब्ध हुने बताए ।
मेलामा दशैं तिहार लक्षित नयाँ नयाँ डिजाइनका स्पोर्टस् सुज, क्याजुअल सुज, पाटी सुज, स्कुल सुज, फुटबल, फुटसलका सुज र बालबालिकाका सुजहरु उपलब्ध हुने पनि आयोजकका नानीराज घिमिरेले बताएका छन् ।






























