काठमाडौँ,
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा असर परेको र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढिरहेको अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागका प्रा डा प्रेमसागर चापागाईको नेतृत्वमा नेपाल, भारत, चीन र बङ्गलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्ताद्वारा गरिएको अध्ययनले जलवायु परिवर्तनका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढिरहेको देखाएको हो ।
दक्षिण एसियाको सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन शीर्षकमा अनुसन्धानकर्ताले तीन वर्ष लगाएर उक्त अध्ययन गरेका थिए ।
अनुसन्धानकर्ता प्रा डा प्रेमसागर चापागाईले जलवायु परिवर्तनबाट कृषि उत्पादन घटेको, लागत मूल्य बढेको, बालीनालीमा रोग तथा कीराको सङ्क्रमण बढेको, बेमौसमी अधिक वर्षा हावाहुरी र असिनाले बालीनालीमा क्षति पु-याउँदै गएकाले कृषि पेसा छाड्ने क्रम बढेको बताउनुभयो ।
“जलवायु परिवर्तनको प्रभाव र घरपरिवारको अनुकूलन क्षमता र चुनौतीका बारेमा पहिलोपटक गरिएको चार देशीय अनुसन्धान प्रतिवेदनअनुसार किसान श्रमिकको रुपमा विदेसिँदा जमिन बाँझिदै गएको र यसबाट खाद्य सुरक्षामा असन्तुलन देखापरेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र खडेरी, बाढी तथा पहिरोजस्ता विषम मौसमी घटनाको बढ्दो प्रवृत्तिले नेपालमा कृषि उत्पादकत्वमा असर गरिरहेको छ ।”
बढ्दो खडेरी र मनसुनको ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै जाँदा बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रक्रियामा असर पारेको र उत्पादकत्व घटेको प्रतिवेदनमा उल्लेख छ । “भारत तथा बङ्गलादेशमा बाढी तथा डुबान बढेको छ, नदी तटीय कटान भई ठूलो सङ्ख्यामा घरपरिवार विस्थापित भएका छन् र खेतीयोग्य जमिन नाश भएको छ । बङ्गलादेशमा हिउँदमा नदीको गहिराइ कम हुन थालेको छ र नदीका बीचमा बालुवाका टापुहरुको उत्पत्ति भएर माछाको वासस्थानमा नकारात्मक असर परेको छ”, प्रतिवेदनमा उल्लेख छ, “माछाको प्रजाति र उत्पादन दुवै घट्दै गएकाले मत्स्य व्यवसायमा आबद्ध किसानको जिविकोपार्जनमा चुनौती थपिएको छ ।”
अनुसन्धानमा जलवायु परिवर्तनले जीविकोपार्जनमा ल्याएको सङ्कटासन्नताको अवस्थाका बारेमा दक्षिण एसियाका विभिन्न देशहरुको तुलनात्मक अध्ययन गरिएको छ ।
“जलवायु परिवर्तनको सकारात्मक प्रभाव पनि पाइएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भूभागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । तर यी क्षेत्रमा खेतीयोग्य भूमि र सिँचाइ सुविधा सीमित हुँदा उत्पादन न्यून छ”, प्रा डा चापागाईले भन्नुभयो ।
यस अनुसन्धानअन्तर्गत नेपाल खण्डको छुट्टै प्रतिवेदन तयार पारिएको छ । नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपाय तथा नीतिगत सवाल शीर्षकको नेपाल केन्द्रित प्रतिवेदनमा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरु भविष्यमा अझ तीव्र हुने प्रक्षेपण गरिएको छ ।
प्रतिवेदनमा जलवायु परिवर्तनको अवस्था र यसले कृषिमा पारेको प्रभाव, अनुकूलनका उपाय तथा नेपालका विभिन्न भौगोलिक क्षेत्रका किसानको अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख कारकतत्व र नीतिगत सवाल समेटिएको छ ।
रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्की जिल्लाका दुई सय १९ घरधुरीलाई नमूना चयन गरी गरिएको अध्ययननका क्रममा गएको ३० वर्षमा तापक्रम बढेको प्रतिवेदनमा उल्लेख छ । “वर्षा केही मात्रामा घटेको, खाद्यचक्रमा प्रभाव पर्दा आन्तरिक र बाह्य बसाई सर्ने क्रम बढेको अनि कृषि र पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दै गएकोे छ”, प्रतिवेदनमा भनिएको छ, “यो अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम र कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत, घरपरिवार, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेका छन् ।”
अनुसन्धानका क्रममा नेपालमा तापक्रम परिवर्तनको दर भौगोलिक क्षेत्रअनुसार फरक छ । तराईमा औसत वार्षिक शून्य दशमलव ००४२ डिग्री सेन्टिग्रेड, पहाडमा शून्य दशमलव ०९२१ डिग्री सेन्टिग्रेड र हिमालमा शून्य दशमलव ०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको तथ्य उजागर गरिएको छ । वार्षिक वर्षा हिमाली क्षेत्रमा १३ दशमलव १२ मिलिमिटर, पहाडी क्षेत्रमा नौ दशमलव ३९ मिलिमिटर र तराईमा पाँच दशमलव ०२ मिलिमिटर घटेको प्रतिवेदनमा उल्लेख छ ।