प्रत्येक वर्षको जुन २० का दिन विश्व शरणार्थी दिवस मनाइन्छ । शरणार्थी सम्बन्धी घोषणापत्र जारी भएको पचास वर्ष पुगेको अवसरमा सन् २००० डिसेम्वर ४ मा बसेको संयुक्त राष्ट्र संघको साधारणसभाले विश्वस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा आज विश्वभर विविध कार्यक्रमका साथ शरणार्थी दिवस मनाउने गरिएको हो । सोही घोषणा अनुसार राष्ट्र संघीय उच्च आयोगले द्वन्द्व लगायत विविध कारणले धेरै मानिस थातथलोबाट बिस्थापित भएका र त्यसको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । उसले अन्य मानिस सरह आफ्नो थलोमा फर्किन पाउनुपर्ने अधिकारलाई स्थापित गर्न सहयोग गर्दै आएको छ । विश्वभर मानवीयता सहअस्तित्व, विविधता र शरणार्थीप्रतिको उदारताको खाँचो छ ।

शरणार्थी पनि मानिस नै हुन् । विभिन्न कारण र परिस्थितिले जो कोही शरणार्थी हुन सक्छन् त्यसैले उनीहरुको मानिव अधिकार सुरक्षित हुनुपर्छ । असुरक्षाबाट सुरक्षा खोज्ने उसको अधिकार सार्वभौम अधिकार हो । उनीहरुलाई विचार, धर्म, द्वन्द्व, हिंसा वा उत्पीडनबाट सुरक्षित राख्न सहयोग गर्नु मानिससँगै राज्यको पनि कर्तव्य हुनुपर्छ । त्यसकै लागि शरणार्थी दिवस विविध कार्यक्रमका साथ विश्वजगतलाई जागरुक गर्न मनाइने गरिएको हो । अहिले पनि विश्वका हरेक एक सय १३ जनामध्ये एकजनाले शरणार्थी बन्नुपर्ने बाध्यता रहेको छ । शरणार्थी समस्या नेपालको सन्दर्भमा भुटानबाट लखेटिएका नेपाली मूलका भुटानीको आगमनबाट शुरु भयो । झापा र मोरङमा शिविर स्थापना गरी बसेका करिब सवा लाख शरणार्थीहरुलाई स्वदेश फर्काउने पटक–पटकको प्रयास असफल भएपछि संयुक्त राष्ट्र संघको पहलमा अमेरिका, क्यानडा लगायतका आठ देशमा पुनस्र्थापना प्रक्रिया शुरु भयो । सन् २००८ देखि शुरु भएको प्रक्रियाबाट अधिकांश भुटानीहरु स्वदेश फिर्तीको सपना बिर्सिएर तेस्रो मुलुकमा पुनस्र्थापित पनि भए । तर, अझै प्रमाणिक हुन नसकेको लगायत दश हजार शरणार्थी झापाको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा कष्टपूर्ण जीवन भोग्न बाध्य छन् ।
राष्ट्र गुमेकाहरुको, अधिकार खोसिएका, परिवारबाट विछोडिएका, अनिश्चित भविष्यका बीच आशाको त्यान्द्रोमा झुण्डिएका, क्षमता भएर पनि मान्यता नपाउनेहरुको, अस्तित्वविहीन र गन्तव्य अनिश्चित भएकाहरुको दिवस हो यो । युद्ध वा जातीय अवथा धार्मिक हिंसामा परी ज्यान जोगाउन भाग्नेहरुको यो दिवसले सम्झाउने पीडा कति भयानक छ त्यो नक्कली शरणार्थी बनाएर बेच्नेहरुलाई थाह हुँदैन । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोप सत्ताको सञ्चालकहरु माथि लागेको छ । मुद्दा अझै विचाराधीन छ । यसकै निरन्तरताका रुपमा अहिले राज्यका सञ्चालकहरु माथि नै भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोप थपिएको छ । एकपछि अर्को काण्ड र प्रकरण सार्वजनिक हुँदा पनि सरकार त्यसलाई छिनोफानो गरेर लागेको आरोपको निरुपण गर्न इच्छुक देखिएको छैन । यस्तोमा आज परेको शरणार्थी दिवसको सन्दर्भले हाम्रा जिम्मे वार दल, नेता र सरकारलाई मावन जीवनको रक्षा, सम्मान र न्याय प्रवद्र्धनमा लाग्न प्रेरित गरोस् । उनीहरुमा विश्व बन्धुत्वको भाव विकास होस् र कसैले पनि घरबारविहीन हुन नपरोस् शुभकामना ।




























