आज विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक (१८७४) मनाइँदैछ । सन् १८७४ अक्टोबर ९ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले स्थापित विश्व हुलाक संघ संयुक्त राष्ट्रसंघको विशेषीकृत निकायका रुपमा दर्ता भयो । नेपालले भने सन् १९५६ जुलाइ ११ का दिन विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको हो । त्यसयता नेपालमा पनि हुलाक दिवस विविध कार्यक्रमका साथ विशेष पर्वका रुपमा मनाउन थालिएको हो ।

सञ्चारको पहिलो भरपर्दो माध्यमका रुपमा स्थापित हुलाक सेवा आज भने संकटग्रस्त अवस्थामा छ । नेपाल र भारतका बीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोग गरेर यी दुई देशका बीच चिठीपत्र आदान–प्रदान गर्ने सेवा शुरु भएको हो । त्यसपछि वि.सं. २०१६ बैशाख १ गतेदेखि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्चालन गर्न थालेको इतिहास छ । नेपालबाट भारतका विभिन्न शहरमा गएका परिवारका सदस्यहरुले घरपरिवारसँग कुरा गर्ने एकमात्र माध्यम यही हुलाक सेवा नै थियो । हुलाक सेवा मार्फत पत्र आदान–प्रदान गर्ने हुलाकी वा हलकाराको समाजमा छुट्टै महŒव पनि थियो ।
रेडियो, टिभी, इन्टरनेट लगायतका सञ्चार माध्यमको विकास भएपछि अहिले नेपाल र अन्य कतिपय देशमा हुलाकको महत्व घट्दै गएको छ । यी सबैले प्रवाह गर्ने सेवा भनेको सञ्चार गर्नु हो, तर आज इन्टरनेटको विकासले ग्रामीण क्षेत्रमा समेत सञ्चारको पहुँच विस्तार भएको छ । हात–हातमै सञ्चारको पहुँच पुगेको भए पनि हुलाक सेवाको महत्व कम छैन ।
आज पनि कानूनी मान्यता प्राप्त चिठी आदान–प्रदानका लागि हुलाक सेवाकै प्रयोग गरिन्छ । विश्वभरका एक सय बयानब्बे देशमा पचास लाखभन्दा बढी हुलाककर्मी अझै कार्यरत छन् । कतिपय देशले हुलाक सेवालाई आधुनिक बनाएका छन् । तर, नेपालमा भने हुलाक सेवा ओझेलमा पर्दै गएको छ । जसका कारण यो सेवा संकटमा परेको छ । कुनै समय सञ्चारको निर्विकल्प माध्यम बनेको हुलाक सेवाको इतिहासको स्मरण गर्दै सम्मान प्रकट गर्नु सबैको साझा कर्तव्य हुनुपर्छ । आजको दिनले त्यही विगतलाई सम्झाओस् र सेवाको आधुनिकतामा राज्यको ध्यान केन्द्रित गरोस् ।




























