
पूर्वाञ्चल दैनिक पत्रिका पूर्वी नेपालको माटो, मानिस र मनको कथा बोकेर अगाडि बढिरहेको एउटा सानै तर सबल कदम जस्तै लाग्छ । यहाँका बगर, वनपाखा, गाउँ–टोलका आवाज र मानिसका साना–ठूला चासोहरूलाई शब्दमा सजाएर पाठकसामु पु¥याउनु यसको मुख्य पहिचान बनिसकेको छ ।
सरल भाषा, स्पष्ट तथ्य र स्थानीय जीवनसँग जोडिने शैलीले पत्रिकालाई समुदायको विश्वसनीय साथी बनाएको अनुभूति गरेको छु । राष्ट्रको हरेक मुद्दालाई सकारात्मक विधिबाट किनारा लगाउन समेत यस मिडियाले प्रभावकारी भूमिका खेल्दै आएको महशुस गरेको छु ।
झण्डै एक दशकदेखि इलाम–पाँचथरको सीमाबाट यस पत्रिकासँग सँगसँगै हिँड्दा, मैले धेरै ठाउँ, धेरै अनुहार र धेरै आवाज भेटेँ । अनुभवी सहकर्मीहरूको साथ र समुदायसँगको निरन्तर सम्पर्कले पत्रकारितालाई केवल पेशा होइन, भावनासँग जोडिएको यात्रा जस्तै महशुस गरायो ।
पूर्वाञ्चल दैनिक स्थानीय सूचना र विश्वासको आधार बनेर बिस्तारै अघि बढिरहेको देख्दा आफू पनि त्यस यात्राको सानो भाग हुन पाउँदा गर्व लाग्छ । यो मिडियाले तीन दशकको फड्को मार्नु चानचुने कुरा होइन । राष्ट्रिय मिडियाको दम बोकेको सञ्चारगृहले सक्षम टिमवर्कलाई हरेक पाठकले सकारात्मक रुपमा हेरेको मेरो बुझाइ छ । भोलिको प्रतिस्पर्धी मिडिया यात्रामा पत्रिकाले केही कुरा अझ मजबुत बनाउन सके यसको उज्यालो अझ फैलिन सक्छ ।
हरेक समाचारमा गहिराइ र खोजको सुगन्ध थपिनुपर्छ । डिजिटल संसारतिरका पाइला छरितो र नियमित हुनुपर्छ । साथै वेबसाइट, मोबाइल र सामाजिक सञ्जाल सबैमा समय सान्दर्भिक हुन जरुरी छ । भाषा सधैँ स्पष्ट, सन्तुलित र निष्पक्ष रहनुपर्छ । रिपोर्टरहरूलाई सिकाइ, तालिम र आधुनिक उपकरणले अझ बलियो बनाउनुपर्छ । समुदायको आवाज, युवाका अपेक्षा र स्थानीय बासिन्दाका मुद्दा बढी समेटिनुपर्छ ।
विज्ञापन र समाचारबीचको दूरी स्पष्ट हुनुपर्छ, ताकि विश्वासमा आँच नआओस् । अझ केही सुधार, केही खोज, केही खुलेका डिजिटल बाटाहरू र समुदायसँगको अझ गहिरो सम्बन्धसहित यी सब पूरा हुँदै गए भने पूर्वाञ्चल दैनिक केबल पत्रिका होइन, पूर्वाञ्चलको आवाज बोकेको उज्यालो सन्देश बाहक बन्न सक्नेछ ।
अन्त्यमा म पूर्वी पहाडको हरेक गतिविधिलाई सकेसम्म सत्य तथ्य र विश्वस्नीयताका साथ रिपोर्टिङ गर्दै यस पत्रिकाको ३१औं वार्षिक उत्सवको दौरानसम्म आइपुग्दा यस अवसरमा सवै पाठक, शुभचिन्तक र शुभेच्छुक तथा समग्र पूर्वाञ्चल दैनिक टिमप्रति आभार व्यक्त गर्दछु ।

























