सूचना तथा समाचारको सम्बाहक : पूर्वाञ्चल

0
78

पूर्वी नेपालमा सूचना तथा समाचारको भरपर्दो संवाहक हो– पूर्वाञ्चल राष्ट्रिय दैनिक । देश–विदेशका सूचना तथा समाचार हरेकदिन सखारै घर–घरमा पु¥याउँदछ पूर्वाञ्चल राष्ट्रिय दैनिक । छापा तथा विद्युतीय प्रकाशनको माध्यमबाट पूर्वी नेपाल मात्र होइन, देश–विदेशसम्म पाठक वर्गमा सूचना तथा समाचार प्रवाह गर्दछ पूर्वाञ्चल राष्ट्रिय दैनिक ।

पूर्वाञ्चल राष्ट्रिय दैनिकले समाजका सबैजसो आयाम जस्तैः शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, विकास निर्माण, सामुदायिक विकास, रीतिरिवाज, धर्मसंस्कृति, कलाकौशल, उद्यम व्यवसाय, रोजगारी, रोगब्याधी, विपद् लगायतका आयामकाबारे समाचार, लेख, फिचर र खोज पत्रकारिताका माध्यमबाट पाठक वर्गलाई सुसूचित गर्दै आएको छ । नेपालको मात्र होइन कि पूर्वोत्तर भारतसम्मका समाचार तथा विविध विषयहरु पनि प्रकाशन गरी पाठक वर्गलाई सुसूचित गर्दै आइरहेको पाइन्छ ।

यस पत्रिकाले समाचारपत्रको रुपमा अहम् भूमिका निभाउँदै आइरहेको पाइन्छ । समाचार, सूचना तथा लेख रचना, अन्तरवाता मार्फत समाजलाई सशक्तिकरण गर्दै आएको छ । पत्रिकाले समाजमा सामाजिक तथा राजनीतिक चेतना भर्ने काम गरेका पाइन्छ । पत्रिकाले जनता र सरकारबीचको मञ्चको रुपमा काम गर्दै, सरकारमा सुशासन कायम गर्न, भ्रष्टाचार न्यूनिकरण गर्न र राष्ट्रको बजेट लगायत स्रोतसाधन सही काममा सही किसिमले सदुपयोग गर्न मागशर्दन तथा खबरदारी समेत गर्दै आएको छ । पत्रिकाले आफ्नो कभरेज क्षेत्रमा शान्ति बहालीका लागि पनि प्रकाशन मार्फत अहम् रुपमा सेवा गर्दै आइरहेको पाइन्छ ।

सरोकारवाला निकायहरु, पदाधिकारीहरु र आम जनताबीच विभिन्न विषयमा सम्वादको माध्यम समेत बनेर समस्या समाधानका लागि योगदान गर्दै आएको छ । सरोकारवालाहरुलाई जवाफदेही, जिम्मेवार बनाउने र सेवाहरु सर्वसुलभ र प्रभावकारी रुपमा प्रवाह गराउन पनि यस सञ्चारमाध्यमले अहम् भूमिका खेल्दै आएको छ । त्यसैले पनि पूर्वाञ्चल राष्ट्रिय दैनिक पूर्वी नेपालको सूचना र समाचारको क्षेत्रमा एक चेतना, किरण तथा चम्किलो ताराको रुपमा सदा चम्किरहेको र उदाइरहेको पाइन्छ ।

यस पत्रिकाले विभिन्न घटनाहरुबारे विस्तृत विवरण र सत्यतथ्य समयमै प्रकाशन गर्दछ । राजनीतिकदेखि सामाजिक मुद्दाहरुका साथै सामुदायिक क्रियाकलापहरुबारे सबैलाई सुसूचित गर्दछ । सम्पादकीयका माध्यमबाट सरकार, निकाय, सरोकारवाला र समाजमा सही मागदर्शन गर्दछ । राष्ट्रले अवलम्बन गरेका व्यवस्था, ऐन कानून पालन गराउन र प्रजातन्त्र तथा लोकतन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी भूमिका खेल्दै आएको पाइन्छ । अभिव्यक्ति तथा वाक स्वतन्त्रता प्रबद्र्धनका लागि पनि पत्रिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । विपद्काबारे जनसाधारण तथा सरोकारवालाहरुलाई बेलैमा सुसूचित गरेर जनधनको क्षति रोक्न र विपद् पीडितहरुलाई चाँडो राहत सहयोग, पुनःस्थानाका लागि पनि पूर्वाञ्चल राष्ट्रिय दैनिकले पैरवी गर्दै मानवीय योगदान गर्दै आएको पाइन्छ ।

नेपालको पूर्वी क्षेत्र विविधतायुक्त छ । ती विविधताहरुबारे समाचार, लेख तथा विशेष सामग्रीहरुका माध्यमबाट पत्रिकाले सम्बोधन गरिआएको छ । विविध समुदायबीच समुधुर सम्बन्ध कायम गरिराख्न र सद्भाव कामय गरिराख्न समेत यस पत्रिकाले प्रभावकारी भूमिका निभाउँदै आएको पाइन्छ । न्यायपूर्ण, समृद्ध समाज तथा देश निर्माणको अभियानमा यस पत्रिका दत्तचित्त रुपमा आफ्नो कर्तव्यपथमा अगाडि बढी आएको र संविधानको मर्म अनुसारको राष्ट्रको चौथो अङ्गको रुपमा यस सञ्चारमाध्यम प्रखर रुपमा प्रकाशन भई आएको पाइन्छ ।

पूर्वाञ्चल राष्ट्रिय दैनिक एक सञ्चारमाध्यम मात्र होइन, यो त एक शिक्षालय पनि हो । यस पत्रिकाले थुपै्र दक्ष पत्रकार, लेखक, साहित्यकार प्रतिभाहरु जन्माएको छ, विकास गरेको छ । साथै ती प्रतिभाहरुका रचना तथा सिर्जनाहरुलाई पत्रिका तथा अनलाइनमा प्रकाशनको अवसर प्रदान पनि गर्ने गरेको छ ।

पूर्वाञ्चल राष्ट्रिय दैनिक किन ? वास्तवमा पूर्वाञ्चल राष्ट्रिय दैनिकले आफ्ना प्रकाशन मार्फत समाज र राष्ट्रलाई सबल बनाउन साथै लोकतन्त्र बलियो बनाउन, शान्ति कायम गर्न र देश विकास गर्न सेवा गरिरहेको पाइन्छ । जनताका अधिकार, मानव अधिकारका लागि पनि पैरवी गर्ने सामग्रीहरु प्रकाशन गर्ने गरेको पाइन्छ । यस पत्रिका, पूर्वी नेपाल अर्थात् कोशी प्रदेश मात्र होइन राष्ट्रमै विविध विषयमा विचार विमर्श गर्न गराउन सफल भइआएको, समाज र आवाजविहीनहरुको आवाज बनेको र राज्यका निकाय तथा पदाधिकारीहरुलाई जिम्मेवार बनाउन अहम् भूमिका खेल्दै आएको छ र राष्ट्रिय एकता कायम राख्न पनि यस पत्रिका सफल छ ।

यस सञ्चारमाध्यम स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय मुद्दाहरुबारे आवाज उठाउने, समस्याहरुबारे नागरिकलाई जानकारी गराउने, समस्या सामाधानका लागि सरकारलाई झक्झकाउने, सार्वजनिक अधिकारीहरुलाई जिम्मेवार बनाउने अभियानमा प्रभावकारी पत्रकारिता गरिआएको पाइन्छ । यी आवश्यकताहरु यस पत्रिकाले जिम्मेवारीपूर्वक पूरा गर्र्दै आएको छ । पाठक वर्गले पूर्वाञ्चल राष्ट्रिय दैनिकलाई निकै रुचाएको पाइन्छ । अर्थात् सर्वाधिक रुचाइएको सञ्चारमाध्यम रहिआएको छ । हरेक बिहान यसै पत्रिकाको खोजी हुन्छ । प्रभातको चियाको चुस्कीसँगै यो पत्रिका पढ्ने लत पाठक वर्गमा बसेको छ ।

यस पत्रिकाले विभिन्न कालखण्ड, आरोह–अवरोह पारगर्दै, चुनौतीहरुसँग पौँठेजोरी खेल्दै, आर्थिक लगायतका अभावहरुसँग लड्दै निरन्तर आम पाठकमाझ समाचार सारथी बनेर पुगिरहेको छ । देशमा भएका विभिन्न आन्दोलन, क्रान्ति, उथलपुथल, हड्ताल, आन्दोलन, मानवीय विपद्लाई समेत झेल्दै कुशलतापूर्वक पत्रकारिता तथा सञ्चारमाध्यमको धर्म निरन्तर निभाइ आइरहेको पाइन्छ । यसका लागि पत्रिकाका अध्यक्ष, प्रकाशक, व्यवस्थापक लगायतका जनशक्ति र प्रधान सम्पादक, सहसम्पादक, डेक्स सम्पादक, रिपोर्टर लगायत सम्पूर्ण टिमको योगदान अनुकरणीय भइआएको पाइन्छ ।

यस पत्रिका प्रकाशनको २५औं वर्ष पुगेको पावन अवसरमा एक विशेषाङ्क प्रकाशन गरिएको छ । सो विशेषाङ्क एक ऐतिहासिक दस्तावेज, सन्दर्भ सामग्री मात्र नभएर पत्रिकारिताको भरपर्दो प्रशिक्षण सामग्रीको रुपमा लिन सकिन्छ । किनकि विशेषाङ्कमा पत्रकारिताका यावत कुराहरु समेटिएका छन् । विशेषाङ्कमा प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री, सूचना तथा प्रसारण विभागका महानिर्देशक, कोशी प्रदेशका मुख्यमन्त्रीका साथै नेपालका राजनीतिक पार्टीका अध्यक्ष र सभापति, उपसभापतिका मननीय मन्तव्य पनि प्रकाशित भएका छन् ।

प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बिर्तामोड नगरपालिका लगायत झापाका सबै पालिका प्रमुखहरुले पनि आआफ्नो मन्तव्य दिएका छन् । यसरी यस पत्रिकाप्रति सरकार प्रमुख, राजनीतिक पार्टीका प्रमुख र स्थानीय सरकारहरुले महत्वका साथ मन्तव्य तथा विचार व्यक्त गर्नुले पनि पत्रिको महत्व झल्कन्छ ।

विशेषाङ्कमा झापा जिल्लाका पत्रपत्रिका तथा अनलाईनहरुका ऐतिहासिक विवरणहरु समेटिएका छन् । नेपालमा पत्रकारिता, आमसञ्चार र पत्रकारिता, मेची अञ्चलको पत्रकारिता, जनसञ्चारको भाषा, काठमाडौं बाहिरको पत्रकारिता, आलोचनात्मक चेत र पत्रकारिता, खोज पत्रकारिता, पत्रकारिताः प्रवृत्ति र अबको बाटो, आर्थिक समृद्धिमा पत्रकारिताको भूमिका, पत्रिकामा व्यवस्थापनको भूमिका, साप्ताहिक पत्रिकाको इतिहास, अनलाइन पत्रकारिता, मानव अधिकार र पत्रकारिता लगायत थुप्रै विषयमा लेखहरु प्रकाशित भएका छन्, जसबाट पत्रकारिताक्षेत्रमा काम गर्ने र प्रवेश गर्नेका लागि उत्कृष्ट प्रशिक्षण सामग्रीका रुपमा पाउन सकिन्छ । यसरी पूर्वाञ्चल राष्ट्रिय दैनिकले पत्रकारिता अर्थात् आमसञ्चारको क्षेत्रमा कुलश जनशक्ति उत्पादनमा समेत अहम भूमिका निर्वाह गर्दै आएको पाइन्छ ।

संस्थापक सम्पादक गोविन्दचन्द क्षेत्रीले यस पत्रिकाको शुरुवातदेखि सम्पादनको जिम्मेवारी सम्हाली स्तरीय प्रकाशनको रुप दिनुभयो । त्यसपछि मदन ढकाल सरको प्रधान सम्पादकको भूमिकामा पत्रिकाले सो स्तरीयता कायम गर्दै, पत्रिकालाई लोकप्रिय बनाउँदै अविछिन्नरुपमा निरन्तरता पायो । वर्तमानका प्रधान सम्पादक एकराज गिरीले मदनसरबारे ‘शब्दचित्रमा मदन सर’ शीर्षकमा ३० मंसीर २०७३ मा यसै पूर्वाञ्चल राष्ट्रिय दैनिकमा लेख्नुभएको लेख अनुसार, मदनसरले विभिन्न क्षेत्रमा गर्नुभएको योगदान सबैका लागि प्रेरक, अनुकरणीय छ । उहाँको जीवनबाट प्रेरणा लिएर हामी अग्रसर हुनसक्यौँ भने समाजमा सकारात्मक परिवर्तनका साथै उहाँप्रतिको श्रद्धा सार्थक हुन्छ, उहाँले देखाउनु भएको बाटो सदैव अबलम्वन गरेर नेपाली पत्रकारितामा विशिष्ठ योगदान पु¥याउने प्रण गर्दछौँ, भाव व्यक्त भएका छन् ।

लेखमा भनिए जस्तै वर्तमान प्रधान सम्पादक एकराज गिरीको नेतृत्वमा पत्रिकाको सम्पूर्ण टिमले पत्रिका प्रकाशन मार्फत आमजनसाधारण र सरोकारवालाहरुमा सत्यतथ्य र सही सूचना तथा समाचार पस्केर सुसूचित गर्ने महान कामको निरन्तरता भइरहेको छ । साथै पूर्वाञ्चल राष्ट्रिय दैनिक राष्ट्रकै गहनाको रुपमा स्थापित भएको छ । छापा माध्यममध्ये पहिलो रोजाइको सञ्चारमाध्यम बन्न सफल छ । समग्रमा पूर्वी नेपालको एक भरपर्दो समाचार साथी हो– पूर्वाञ्चल राष्ट्रिय दैनिक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here