
२०४१ सालको युवा उमेर सम्झँदा आज पनि मेरो मनमा एउटा विशेष उत्साह जाग्छ । प्रवेशिका परीक्षा सकेर चरो भएर उडिरहने मेरो मन ‘मन्थन झापा’का साहित्यिक बहस, कविता, कथा र चिन्तनका भेलामा हराइरहेको हुन्थ्यो । त्यहाँको वातावरणले मलाई सिर्जनशीलतासँग जोडेर पत्रकारितातर्फ तान्न थालेको रहेछ । यही क्रममा मेरो जीवनको एउटा सुन्दर मोड आयो– वरिष्ठ पत्रकार स्व. मदन ढकालसँगको भेट । उहाँको सरलता, कठोर अनुशासन र सत्य प्रतिको प्रतिबद्धता मेरो लेखन कलाको आधार बन्यो बिस्तारै ।
मदन दाइ प्रधान सम्पादक रहेको ‘शनिबार साप्ताहिक’ मेरो पत्रकारिताको पहिलो पाठशाला बन्यो । त्यहाँ अग्रज दाइहरु केशव आचार्य र लक्ष्मण ढकाल पनि हुनुहुन्थ्यो । त्यो उपस्थितिले म भित्र आत्मविश्वास जगाउँथ्यो । कार्यालयको प्राण भने स्व. भरत ढकाल हुनुहुन्थ्यो । हामीले तयार पारेका हस्तलिखित लेख, कविता, रिपोर्ट, समीक्षा सबै उहाँले नै कम्पोज गर्नुहुन्थ्यो । भरत दाइ नबोले पनि एउटा कुशल, दक्ष कम्पोजिटर र अपरेटर समेत हुनुहुन्थ्यो । त्यसपछि ती पानाहरू मदन दाईको टेवलमा पुग्थे र अन्तिम रूप पाउँथे । छापिएपछि कठेत दाइले पत्रिका बजार–बजार पु¥याउँथे । यसरी हाम्रो श्रम, सपना र शब्द पाठकसम्म पुग्थ्यो । यो ऊ बेलाको लेटर प्रेसको कथा हो ।
२०४२ सालमा प्रवेशिका उत्तीर्ण गरेपछि म काठमाडौं पुगेँ– नेपाल कमर्स क्याम्पस मिनभवनमा अध्ययनका लागि । नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ चुनौतीहरूका बीच मेरो साहित्यिक र पत्रकारिताको झापाली ऊर्जा सबै सेलायो त्योबेला । मेरो मन अडेन त्यहाँ । २०४४ सालमा आइकम उत्तीर्ण गरी झापा फर्किएँ र मेची क्याम्पस भद्रपुरमा बीकमको अध्ययन शुरु गरेँ । त्यही समय म फेरि विश्वदीप छापाखानासँग जोडिएको हूँ ।
मदन दाइको निर्देशनमा मैले ‘अँध्यारो–उज्यालो’ स्तम्भ लेख्न थालेँ । समाजका उज्यालो र अँध्यारा पक्षलाई व्यक्त गर्ने त्यो स्तम्भ मेरो पहिलो गम्भीर पत्रकारिता अभ्यास बन्यो । त्यससँगै ‘बुक रिभ्यु’ लेखेर साहित्यसँगको संवाद जारी राखेँ । तर, जीवन सहज थिएन । २०४४/०४६ बीच भारतको तेल नाकाबन्दीले दैनिक जीवन चुनौतीपूर्ण थियो । क्याम्पस जान मुश्किल, दैनिकी अव्यवस्थित थियो । यस्तो अवस्थाले पनि अध्ययन र लेखनमा बाधा चाहिँ पु¥याएन । बीकममा मैले सफलता हासिल गरेँ । त्यतिबेला मुलुक २०४६ को आन्दोलनको ज्वालामा थियो । हाम्रो विद्यार्थी जीवन र राजनीतिक चेतना सँगसँगै विकसित हुँदै थिए । हामीभित्रको ऊर्जालाई त्यो समयले बुलन्द बनाएको थियो ।
२०४७ मा फेरि काठमाडौं फर्केर शंकरदेव क्याम्पसमा एमबिए अध्ययन शुरु गरेँ । मदन दाइले मलाई अर्को मार्गदर्शन गर्नुभयो । उहाँले पत्रकारिताको अनुभव–पत्र र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष, वरिष्ठ पत्रकार गोकुल पोखरेललाई एउटा पत्र लेखी दिनुभयो । यही अनुभव र पत्रले मलाई त्यहाँ पत्रकारिता तालिममा सहभागी हुन मदत ग¥यो । तालिममा समाचार लेखन, अनुसन्धान पत्रकारिता, सम्पादन र फिचर लेखनको अभ्यासले मलाई हौसला जगाएको थियो । यसैबीच क्याम्पसको अध्ययन पनि निरन्तर जारी राखेँ । तर, पत्रकारिता गर्छु भन्दाभन्दै केही समयपछि म नेपाल प्रहरी विद्यालय, साँगा, काभ्रेमा लेखा शिक्षकमा नियुक्त भएँ र २०४९ सम्म कार्यरत रहेँ । त्यहाँ शिक्षण, अनुशासन र जिम्मेवारीले मेरो जीवनलाई फरक दृष्टिकोण त दियो । तर, पत्रकारिता छुट्यो नमज्जाले ।
मेरो पेशा पत्रकारिता बन्न सकेन । २०५० सालमा नेपाल प्रहरी स्कुलको जागिर छोडेर नेपाल ग्रामीण विकास बैंकको कर्मचारी भएर विराटनगर हुँदै झापा फर्किएँ फेरि । त्यहाँ दाई मदन ढकालसँग पुनः भेट भयो– ‘पूर्वाञ्चल दैनिक’को प्रधान सम्पादकको रुपमा । दाइको प्रेरणा र विश्वासले मलाई लेख, समीक्षा, बुक रिभ्यु, समाचार फेरि शुरु गरायो । त्यही क्रममा मैले पूर्वाञ्चलको ‘साप्ताहिक साहित्यिक अंक’ हरेक शनिबार आफ्नै सम्पादनमा निकाल्ने जिम्मेवारी पाएँ । यो कार्य दुई वर्षभन्दा बढी नियमित रूपमा जारी रह्यो । यसले मेरो लेखन तथा सम्पादन क्षमता पनि बढाएको अनुभूति गरेको छु ।
फेरि जागिरको शिलसिलामा जिल्ला बाहिर गएपछि मेरो पत्रकारिता पातलो भयो । पत्रकारितालाई पेशा र आयस्रोतको माध्यम बनाउने सोच र इच्छा कहिल्यै आएन ममा । तर, करिब छ महिना ‘अर्जुनधारा दैनिक’को डेस्क सम्पादकको जिम्मेवारीमा रहेको नियमित समय चाहिँ अपवाद थियो । सेवानिवृत्त भएर पत्रकारितामा पुनः सक्रिय हुन लाग्दा करिब दुई वर्षअघि केही साथीहरूले नमिठो उपहार दिन खोजे– ‘नेपाल पत्रकार महासङ्घको सदस्यता खारेज गर्ने’ भनेर । तर उनीहरू सफल भएनन् । आज म हेरिरहेको छु, तिनीहरुको यात्रा, बाटो र गन्तब्य ! के–के गरेर कहाँ–कहाँ पुगे होलान् भनेर ! अनि मनमनै प्रार्थना गर्छु– उनीहरूको सधैँ भलो होस्, तर लोभ, अहंकार र अज्ञानता चाहिँ नासहोस् !
स्व. मदन ढकाल दाइसँग जोडिएको मेरो पत्रकारिताको इतिहास शनिबार साप्ताहिकदेखि पूर्वाञ्चलसम्म निरन्तर रहेको छ । यसका सम्पूर्ण सहयात्री अग्रज तथा मित्रहरूप्रति मेरो साधुवाद छ । यसरी २०४१ सालदेखि आजसम्मको मेरो पत्रकारिता यात्रा– साहित्य, शिक्षा, संघर्ष, आन्दोलन, क्याम्पस–कक्षाहरू, पेशागत अनुभव, सम्पादन र सक्रियता–निष्क्रियता सबै मिलेर बनेको हो ।
आज ती सबै क्षणहरू केवल स्मृति मात्र होइनन्, मेरो जीवनको नक्सा, चेतना र लेखनको मार्गदर्शन पनि हुन् । यी अनुभवहरूले मेरो लेखन, सोच र समाजप्रतिको दृष्टिलाई निरन्तर आकार दिइरहन सकून् भन्छु । मैले पत्रकारिताको कखरा शुरु गरेको ‘शनिबार साप्ताहिक’ र मलाई पत्रकारिता सिकाउने ‘मदन दाइ’ अहिले हुनुहुन्न । तर, मैले पत्रकारिता परिष्कार गरेको ‘पूर्वाञ्चल दैनिक’ उज्यालो बोकेर हिँडिरहेको छ । हिँडिरहोस् अनन्तसम्म । ३१औं वर्ष प्रवेशको यो खुशी र सुखको अनुभव सधैँ–सधैँ छाइरहुन् हाम्रा अनुहारमा र बाँचिरहुन् अनन्तसम्म ।

























