झापा , आसन्न राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस झापाले सम्भावित उम्मेद्वारहरूको प्रारम्भिक गृहकार्य अघि बढाएको छ । जिल्लाले विभिन्न क्षेत्र, समुदाय र अनुभवलाई समेट्ने गरी १५ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
जिल्ला पार्टी कार्यालयका अनुसार सिफारिस सूचीमा सुधिरकुमार शिवाकोटी, शेरबहादुर भट्टराई, दयानन्द गोस्वामी, हर्कलाल गिरी, यामप्रसाद भण्डारी, ओमप्रकाश सरावगी, टीकाप्रसाद प्रसाई, अनिलकृष्ण प्रसाई, केदारनाथ ढकाल, ओम विमली, प्रेम भट्टराई, राधा सुब्बा, नौतली राजवंशी, नीता पुरी र विनकुमार विश्वकर्मा रहेका छन् ।
सिफारिस प्रक्रियालाई कांग्रेस झापाले आसन्न निर्वाचनमा पार्टीको संगठनात्मक सन्तुलन र मताधार विस्तारसँग जोडेर हेरेको छ । राष्ट्रिय सभाको निर्वाचन नजिकिँदै गर्दा प्रदेशस्तरीय राजनीतिक समीकरण र दलहरूबीचको रणनीतिक तयारी तीव्र बन्दै गएको सन्दर्भमा कांग्रेसको यो कदमलाई महत्वपूर्ण मानिएको छ ।
यसैबीच, सिफारिस सूचीमा परेका पूर्व सांसद तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीले भने आफू राष्ट्रिय सभा सदस्यको दौडमा नउठ्ने घोषणा गरेका छन् । पार्टीले नाम सिफारिस गरे पनि अब संसदीय जिम्मेवारीमा नजाने उनको भनाइ छ ।
राष्ट्रियसभामा सिफारिसमा परेका शिवाकोटी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् । नेपाली कांग्रेस झापाको दुईपटक सभापति भएका शिवाकोटी पञ्चायतकालमा इलाम जिल्ला स्थानहद नजरबन्द, पटक–पटक हिरासत, राजा ज्ञानेन्द्रको शाही शासनकालमा चारआलीस्थित सैनिक हिरासतमा कठोर शारीरिक यातना भोगेका ब्यक्ति हुन् । उनी शालिन, भद्र र स्वच्छ छविका रुमपा परिचय बनाएका नेताका रुपमा चिनिन्छन् ।
बिर्तामोड निवासी शिवाकोटीले राष्ट्रिय सभामा प्रतिष्पर्धा नगर्ने निर्णयसँगै कांग्रेसभित्र नयाँ पुस्ता र वैकल्पिक नेतृत्वलाई अवसर दिने बहस पुनः सतहमा आएको छ ।
आसन्न राष्ट्रिय सभा निर्वाचनले प्रदेश र केन्द्रको राजनीतिक शक्ति सन्तुलनमा प्रभाव पार्ने ठानिँदै आएको छ । यही कारण उम्मेद्वार छनोटलाई लिएर दलहरूभित्र आन्तरिक परामर्श र रणनीतिक तयारी अझ तीव्र हुने देखिन्छ ।






























