झापा ।

कानूनले विदेशी नागरिकका लागि मात्र अनुमति दिएको क्यासिनो व्यवसायमा लामो समयदेखि उल्लंघन भइरहेकोप्रति प्रहरीले हस्तक्षेप गरेको छ ।
विराटनगरका दुई ठूला होटलमा सञ्चालित क्यासिनोमा आइतबार राति एकैसाथ छापा मारेर प्रहरी महाप्रबन्धकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले राति करिब ११ बजे रत्ना होटलमा रहेको ‘गोल्डेन कोइन’ र बिग होटलमा सञ्चालित ‘च्याम्पियन जोन’ क्यासिनोमा छापा हानेको हो । प्रहरीका अनुसार ‘गोल्डेन कोइन’ क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र ‘च्याम्पियन जोन’ बाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार पक्राउ परेका सबै नेपाली नागरिक हुन् । क्यासिनोमा नेपाली नागरिकको प्रवेश र जुवाजन्य खेल कानूनतः निषेध भएकाले उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
हाल पक्राउ परेकाहरूको ‘स्क्रिनिङ’ प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ । केही व्यक्तिले आफू क्यासिनोका कर्मचारी भएको दाबी गरेकाले परिचयपत्र तथा आवश्यक कागजात परीक्षण भइरहेको प्रहरीले जनाएको छ । सोधपुछ र कागजात परीक्षणपछि मात्र कस–कसबिरुद्ध मुद्दा दर्ता गर्ने भन्ने विषय टुंगो लाग्ने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार क्यासिनोभित्र नेपालीहरू खुलेआम जुवा खेलिरहेको सूचना पाएपछि छापा हानिएको हो । छापाका क्रममा क्यासिनोभित्र खेलमै संलग्न अवस्थामा फेला परेका सबै नेपाली नागरिकलाई व्यवस्थापकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
विराटनगरमा हाल दुई वटा क्यासिनो सञ्चालनमा छन् । विदेशी नागरिकलाई मात्र प्रवेश दिनुपर्ने कानूनी व्यवस्था भए पनि ती क्यासिनोमा लामो समयदेखि नेपालीहरूले निर्वाध रूपमा प्रवेश गरी जुवा खेल्दै आएको गुनासो आएको थियो । विदेशी नागरिक पुष्टि हुने परिचय–पत्र अनिवार्य भए पनि सञ्चालकले आर्थिक लाभका लागि नेपालीलाई प्रवेश गराउने गरेको आरोप स्रोतहरूले लगाएका छन् ।
क्यासिनोमा नेपालीको प्रवेशका कारण झगडा, विवाद र अन्य आपराधिक गतिविधि बढ्ने गरेको भन्दै यसअघि ‘हेलो सरकार’लगायत विभिन्न निकायमा उजुरी परेको भए पनि प्रभावकारी अनुगमन नहुँदा समस्या झनै गहिरिँदै गएको बताइन्छ । पछिल्लो प्रहरी कारबाहीलाई भने क्यासिनो सञ्चालनमा देखिएको बेथितिबिरुद्धको कडा सन्देशका रूपमा हेरिएको छ ।































