[गौरव पोखरेल]
झापा, आफ्नो पाठ्यपुस्तकमा मात्र सीमित रहने आजका कतिपय बालबालिकाहरुका निम्ति एनी भट्टराई दरिलो उदाहरण बन्न सक्छिन् । एकपछि अर्को गर्दै बालबालिकाहरुले पटकपटक विभिन्न विधा र क्षेत्रमा नूतन–नविन इतिहास रच्दै जाँदा यहाँ ४ वर्षिया एनी पनि समाजलाई बालबालिकाहरुले अवसर पाए केही गर्न सक्छन् भन्ने उदाहरण दिँदै कलाकारिता क्षेत्रमा चम्किएकी छिन् ।
उनी कलाकारिता क्षेत्रमा उदाएकी एउटी यस्तो प्रगल्भ बाल प्रतिभाका हस्ताक्षर हुन् जसले ४ वर्षको कलिलो उमेरमा नै नेपाली चलचित्रहरुको शीर्ष भूमिकाको अनुभव संगालिसकेको छ । ‘उदाहरण’, ‘मखमली’ र ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’ को शीर्ष भूमिकामा रहेकी उनी हाल नेपालमा मात्र सीमित नभइ अब बलिउडमा समेत देखिने भएकी छिन् । एनीले हिन्दी चलचित्र ‘पुलिस अफिसर’ मा पनि अभियन गर्ने अवसर पाएकी हुन् । यही माघ २८ गतेबाट छायाङ्कन शुरु हुने भनिएको हिन्दी चलचित्र ‘पुलिस अफिसर’ को तयारीका लागि एनी माघ २० गते नै मुम्बई जाने तयारीमा छिन् ।
२०६७ साल साउन २० गते जन्मिएकी एनीद्वारा अभिनित लघु चलचित्र ‘द स्ट्रेन्ज चाइल्ड अफ रुलर भिलेज’ लाई इन्टरनेशनल फिल्म फेस्टिबलमा समेत प्रदर्शन गरिएको थियो । एनीले आफ्नो पहिलो चलचित्र ‘उदाहरण’ मा नेपालका ख्याती प्राप्त एवम् बहुचर्चित पुराना कलाकारहरु भुवन चन्द ९नेपालकै पहिलो नायिका०,नीरशाह, सिमान्त उदास, गरिमा पन्त लगायतसँग अभिनय गरिसकेकी छिन् । माता एलिना र पिता निलमकी छोरी एनी काठमाडौंस्थित बानेश्वरको एक विद्यालयमा कक्षा एल।के।जी।मा अध्ययन गर्दै छिन् । एनी कलाकारिताको क्षेत्रमा जति अब्बल देखिन्छिन् पढाइको क्षेत्रमा समेत त्यत्तिकै अब्बल रहेकी छिन् । विद्यालयमा आयोजना हुने विभिन्न किसिमका अतिरिक्त क्रियाकलापमा समेत भाग लिने उनी कक्षाकी प्रथम छात्रा हुन् ।
“एनीको खुबी देखेर सबै तिन छक्क पर्छन् ।”, ‘उदाहरण’ चलचित्रका प्रोड्युसर डि।पी। शाह चक्रवती भन्छन्, “वास्तवमै उनी प्रतिभाशाली छिन् ।” उनको बाल मानसपटलको कोमल सरसिला शब्दकुञ्जले सबैलाई मोहित बनाउने गरेको छ । एल।के।जी।मा पढ्ने एनी सामाजिक सञ्जाल फेसबुक चलाउन समेत खप्पिस छिन् । “फुर्सदको समयमा फेसबुक चलाउछु ।”, एनी भन्छिन्, “फेसबुक बाबाले चलाएको देखेरै सिकेकी हुँ ।”
“नेपाली सिने जगतको क्षेत्रमा स–सानो भूमिकामा त धेरै बालबालिकाहरुलाई राख्ने गरिएको छ ।” एनीले अभिनय गरेकी एक चलचित्रका डाइरेक्टर असुअसेस गिरी भन्छन्, “तर एनीले भने ४ वर्षमा नै शीर्ष भूमिका निभाएर नेपालमै एउटा नौलो कीर्तिमानी राखेकी छिन् ।”
पढाइ, कलाकारिता अनि अतिरिक्त क्रियाकलापलाई एकै साथ अघि बढाउँदै गरेकी एनीले भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी छिन् । नितान्त जिज्ञासु तथा कल्पनाशील स्वभावकी उनी बालबालिकाहरु उचित अवसर पाए उनीहरु जस्तोसुकै कार्य समेत सहजै गर्न सक्छन् भन्ने उदाहरणको एक पात्र बनेकी छिन् ।
आशा गरौं भविष्यमा हामी एनी भट्टराईको नाम नेपाली सिने जगतको अग्रपङ्तिमा पाउने छौं । उनको डाक्टर बन्ने लक्ष्य साकार होस् । उनी कलाकारिता क्षेत्रमा सधैँ यसरी नै निरन्तर अघि बढिरहुन् । हाम्रो तर्फबाट उनलाई धेरै धेरै शुभकामना ।