आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको औपचारिक प्रचारप्रसार शुरु भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा अनुसार सोमबारदेखि उम्मेदवारहरु औपचारिक रुपमा मतदाता सामु जान थालेका हुन् । यसो त मनोनयन दर्तापछि नै उम्मेदवारहरु घरदैलो कार्यक्रममा लागिसकेकै थिए, तर अब भने सबै दलका उम्मेदवार तथा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएकाहरु पनि आफ्ना दलका घोषणापत्र र कार्ययोजनासहित भने दलबलका साथ प्रचारमा सामेल हुन पाएका थिएनन् । निर्वाचन आयोगले यसपटकको निर्वाचनमा आचारसंहितामा थप कडाइ गर्दै त्यसको उल्लंघन भएको पाइए उम्मेदवारी नै रद्द हुनेसम्मको व्यवस्थामा सबै दलका प्रतिनिधिहरुलाई सहमतिको हस्ताक्षर गराएको छ ।

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रमसहित प्रचारप्रसार गर्ने अवधि फागुन ४ देखि १८ गतेसम्मका लागि तोकेको छ । त्यही समयसीमा र अवधिका आधारमा शुरु भएको प्रचारप्रसारका क्रममा आमसभा, कोणसभा, जुलुस र सामुहिक घरदैलो कार्यक्रम सञ्चालन हुन थालेको हो । फागुन १८ गतेपछिको मतदानभन्दा अघिको अड्चालीस घण्टा मौन अवधि रहने र त्यस अवधिमा कसैले पनि प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचन स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न ६४ बुँदे निर्देशन समेत जारी गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिताको पूर्ण पालना गर्न सबै दल र उम्मेदवारलाई आग्रह गरेको छ । उनीहरुले आचारसंहिताको पालना गरे–नगरेको, अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिएको आयोगले जनाएको छ । आचारसंहिता उल्लंघनमा शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गर्दै कर्यवाहक आयुक्त रामप्रसाद भण्डारीले उल्लंघन भएको पुष्टि भए सचेत गराउनेदेखि जरिवाना वा उम्मेदवारी खारेज गरिने चेतावनी दिएका छन् । जेन–जी बिद्रोहले उत्पन्न गरेको विशेष परिस्थितिको आसन्न निर्वाचनमा दल तथा उम्मेदवारहरु आ–आफ्ना ढंगले मतदाता आकर्षित गर्न प्रतिष्पर्धा गर्नेछन् । तर, सार्वभौम मतदाताले विगतका घटनाक्रमको मूल्यांकन गरी विवेकपूर्ण निर्णय गर्नुपर्छ । विगतमा मतदातालाई आशा र भरोसाको आश्वासन दिएकाहरुले पदमा पुगेपछि गरेको कामको मूल्यांकन गर्दै मतदान गर्नुपर्छ । त्यसैले देशलाई अघि बढाउन असल, योग्य, सक्षम व्यक्तिको छनौट गर्न आवेग, लोभ वा स्वार्थबाट माथि उठेर संयम्, धैर्यको प्रयोग गर्नुपर्छ । त्यसका लागि आममतदाता नै चनाखो र विवेकशील हुनुपर्छ ।



























