प्रजातन्त्र दिवसको सार्थकता

0
4

देशमा एकतन्त्रीय, निरंकुश र जहानीया शासन व्यवस्थाको अन्त्य भएको दिन हो आज । राणाहरुको एक सय चार वर्षे शासनकालको अन्त्य भएको २००७ साल फागुन ७ गतेको स्मरणमा प्रत्येक वर्ष आजका दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिएको छ । जनताको इच्छा, आकांक्षा र जनमतबाट शासन व्यवस्था सञ्चालन गर्ने परिपाटी प्रजातन्त्र हो । तर, प्रजातन्त्र स्थापना भएको झण्डै आठ दशक हुन लाग्दा पनि जनइच्छा र भावना अनुरुप शासन सञ्चालन भएको छैन । त्यही कारण विभिन्न कालखण्डका प्रजातन्त्रकै नाममा आन्दोलन भए पनि न जनभावनाको सम्बोधन भएको छ न त देशले समृद्धिको बाटो समाएको छ ।

२००७ सालकै राजनीतिक परिवर्तनको जगमा टेकेर पूर्ण प्रजातन्त्रका लागि भन्दै २०३६, २०४६ र २०६३ सालमा आन्दोलन भए । देशलाई २०६३ सालमा लोकतान्त्रिक देशमा रुपान्तरण पनि गरियो जसको आडमा सयौं वर्षदेखिको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भएको घोषणा गरियो । तर, जनताले भने खोजे जस्तो र आकांक्षा राखे जस्तो प्रजातन्त्र नपाएको र जनता झन्–झन् गरिबीको रेखामुनि हुँदै जाँदा जनगुनासो, असन्तुष्टिले सगरमाथा टेकेको छ । त्यही असन्तुष्टि विद्रोहका रुपमा प्रकट हुँदा निर्वाचित जनप्रतिनिधिको सरकार अपदस्थ हुनु परेको सत्यले पनि यो दिवसको सार्थकता पुष्टि गरेको छ ।
पछिल्लो समय बढेको राजनीतिक अस्थिरताले उत्पन्न परिस्थिति, बेरोजगारी, मूल्यवृद्धि, धरासायी अर्थतन्त्र, युवा पलायन जस्ता कारणले व्यवस्था माथि नै प्रश्न उठ्न थालेको सन्दर्भमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनले निकाश देला आशा गरिएको छ । राजनीतिक दलहरुका प्रतिको चरम असन्तुष्टिको फाइदा पराइले नउठाओस् त्यसतर्फ पनि आजको दिनले सचेत र सजग गराउनु पर्दछ ।

प्रजातन्त्र स्थापनाको अगुवाई गर्ने नेपाली कांग्रेस र त्यसपछिका अन्य दलहरु पनि जनताप्रति इमान्दार नभएकै कारण उत्पन्न अस्थिर राजनीतिक परिस्थितिमा हिजो पुर्खाहरुले दिएको बलिदान, त्याग र सेवाको स्मरण गर्ने दिनका रुपमा प्रजातन्त्र दिवसको सम्मान गर्नुपर्छ । हिजोका अनुभवहरुबाट सिक्दै, प्रजातान्त्रिक अभ्यासलाई निरन्तरता दिन सकिए राष्ट्रको स्वाधीनता र अखण्डताको रक्षा गर्न सकिन्छ । प्रजातन्त्र दिवसले खासगरी दल तथा नेतृत्व वर्गलाई राष्ट्रको पहिचान, गौरव र इतिहासको रक्षा गर्दै राष्ट्रियताको डोरीमा बाँध्न र समुन्नत प्रजातन्त्रको अभ्यास गर्ने सद्बुद्धि प्राप्त होस् शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here