कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको झापा इकाई स्थापनाको ५० बर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवमा भनाइरहेको छ । मंगलवार विशेष समारोह गरेर झापा बारले संस्थापकहरुलाई मरणोपरान्त, झापाका बरिष्ठ अधिवक्ता तथा स्थापनादेखि उल्लेख्य योगदान पु¥याउने अधिवक्ताहरुलाई सम्मान पनि ग¥यो । स्वर्ण महोत्सव स्तम्भ अनावरण, आफ्ना गतिविधि तथा बारको विगत बर्तमान र भविष्य बारे लिपिबद्ध गरिएको स्मारिका पनि सार्वजनिक गरियो । वाचस्पति उपाध्याय निरौलाको नेतृत्वमा २०२२ सालमा स्थापित झापा बार २०७२मा गजेन्द्र आचार्यको नेतृत्वमा आइपुग्दा १५१ जना कानुन व्यवसायीका साथ पेशा तथा सेवामा अग्रणी देखिएको छ । स्वर्ण महोत्सवकै सन्दर्भमा बारले गाउँ–गाउँमा ३५ वटा कानुनी शिविर गरेको छ भने चार हजार जनालाई कानुनी सेवा तथा परामर्श दिन सफल भएको बताइएको छ । शिविर ५३ स्थानमा पु¥याउने लक्ष्यका साथ बारले बर्ष भरिनै विविध चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । बारको यो अभियान सकारात्मक र प्रशंसनीय देखिएको छ ।
कानुन व्यवसायी अर्थात् वकिलको काम भनेको अदालत वा अन्य निकायमा पेश गरिने लिखतहरु जस्तैः फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, निवेदन, लिखित जवाफ, महत्वपूर्ण निवेदनको मस्यौदा गर्न, साक्षी वक–पत्र गराउने, बहस गर्नु, परामर्श दिनु हो । समग्रमा हेर्ने हो भने नागरिको पहुँच न्यायसम्म पु¥याउनु र त्यसका लागि पुलको काम गर्ने माध्यम भनेको वकील नै हुन् । आज पीडितहरुको पहुँच न्याय क्षेत्रसम्म आर्थिक, सामाजिक, शैक्षिक र चेतना तथा अन्य विविध कारणले पुग्न सकिरहेको छैन । यो परिस्थितिमा अझ स्वर्ण महोत्सव भनाइरहँदा सर्वसाधारण र पहुँचविहीनहरुको पहुँच सहज रुपले न्यायमा पु¥याउनु बार र आवद्ध वकीलको कर्तव्य हो । हरेक वकीलले बर्षमा तीन वटा मुद्दा निःशुल्क हेर्ने (जसको आर्थिक हैसियत छैन) भनेको छ तर व्यवहारमा यो कत्तिको कार्यान्वयन भएको छ– वकीलका आचरण, व्यवहार कस्ता छन्, आचारसंहिताको पालना कत्तिको भएको छ– यी सबैको चिन्तन र मूल्यांकन गर्ने बेला हो यो ।
न्यायालय र पीडितबीचको पुल बनेर न्याय दिलाउने काममा वकीलको भूमिका महत्वपूर्ण छ । महत्वपूर्ण भूमिका भएका वकीलको आचरण, व्यवहार पनि मर्यादित हुनुपर्छ । न्यायलाई निष्पक्ष बनाउने, न्यायलयको गरिमा बढाउने भूमिकामा पनि वकीलको जिम्मेवारी हुन्छ । तर अदालतप्रति अनास्था बढ्दो छ । मुद्दा जित्न जिताउन हुने आर्थिक चलखेलले भ्रष्टाचारको अखडा र बद्नाम हँुदैछ न्यायालय र कानुन व्यवसायी । मुद्दाको निश्चित दस्तुर छैन, तोकिएकोमा कोही चित्त बुझाउँदैनन् । जति लिन सक्छौं मोल मोलाईबाट लेऊ भन्ने मान्यता हावी हुँदै गएको छ, कतिपय वकील ठूला घराना र मोटो रकममा मात्र आँखा लगाउँछन् । साना मुद्दा हेर्दैन्, सेवा भाव नै छैन । विचौलियाले यही बेला खेलिरहेको छ– विचौलियाका कारण कानुन व्यवसायी समस्यामा छन् । यो बेला बारले आवद्ध वकीलको आचरण बारे मूल्यांकन गरी, विचौलियाको चलखेल बन्द गराएर पेशालाई मर्यादित बनाउनु जरुरी छ । यसका लागि आचारसंहिता पालनामा कडाई गरिनुपर्छ । अदालतप्रतिको आस्था र न्यायमा सहज पहुँच अभिबृद्धिका लागि बारले ठोस् कदम चालोस् । स्वर्ण महोत्सव बर्ष रचनात्मक र भविष्यसम्म सकारात्मक प्रभाव पार्ने कार्यका साथ बितोस् ।




























