जेन–जी विद्रोहको परिणतिमा हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन परम्परागत सोच र ढाँचा अनि नयाँ वर्गको आकांक्षा र सपनाको परीक्षाको घडी हो । फागुन २१ गते हुने निर्वाचनले चार दशकदेखि सत्ता सञ्चालन गर्दै आएका उही अनुहार र युवाहरुको सपना र आकांक्षाबाट उदाएका नवपुस्ताका नयाँ अनुहारका बीचको भिन्नताको मापन गर्नेछ । त्यसमा पनि यो निर्वाचनको केन्द्रमा रहेको झापा र झापाको ५ नम्बर निर्वाचन क्षेत्र अहिले देशको चासो, छलफल र चर्चाको क्षेत्र भएको छ । यहाँ पटक–पटक निर्वाचन लड्दै आए र सत्ताको नेतृत्व गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र पहिलोपटक स्थानीय तहको निर्वाचन मार्फत स्थानीय सरकारका प्रमुखमा अत्यन्त धेरै मत प्राप्त गरी प्रमुख भएका बालेन्द्र शाहका बीच प्रतिष्पर्धा हुँदैछ ।

शाह काठमाडौं महानगरको नगर प्रमुख पद कार्यकाल त्यागेर निर्वाचनमा भाग लिन झापा ५ आएका छन् । नव युवाहरुको बिद्रोहको बलमा हुन लागेको निर्वाचनको परिणामले देश र जनताको भविष्यको संकेत गर्ने विश्लेषण गरिँदैछ । बालेनको यस्तो आँट राष्ट्रिय राजनीतिमा परिवर्तनको संकेत हो भन्ने तर्क पनि गरिँदैछ । दलीय राजनीतिबाट मुक्त भई स्वतन्त्र उम्मेदवारका रुपमा लडेर राजधानीकै महानगरबाट विजयी बालेनको यस्तो निर्णय उनको राष्ट्रहितको पक्षको योजनाबद्ध अग्रसरता पनि हुन सक्छ । स्वतन्त्रका रुपमा निर्वाचन जितेका बालेन यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनिएका छन् । यस्तोमा अचानक नयाँ अनुहार लिएर आएका बालेनका लागि यो यात्रा कठिन पनि हुनसक्छ । किनकि बारम्बार चुनाव जित्दै र सरकारको नेतृत्व गर्दै आएका एमाले अध्यक्ष ओली राजनीतिका चतुर खेलाडी मानिन्छन् ।
त्यसो त क्षेत्र नम्बर ५ का लागि चर्चामा रहेका दुबै उम्मेदवार स्थानीय बासिन्दा होइनन् । यद्यपि संविधानको व्यवस्था अनुसार सबै नागरिक जुन कुनै ठाउँबाट उम्मेदवार बन्न पाउँछन् । तर, ओलीले सुरक्षित ठानेको र यही क्षेत्रलाई लगातार उपयोग गर्दै आएको हुँदा बालेनलाई अपेक्षित सहज नहुन सक्छ । यस्तोमा अत्यन्त ठूलो जोखिम मोलेर लड्दै गरेका बालेनको खडा गरेको चुनौतीमा परिवर्तनका चाहनाको ठूलो भूमिका रहन्छ । जेन–जी विद्रोहपछि आमयुवामा पुराना अनुहारले नयाँ केही दिन र गर्न सक्दैनन् भन्ने धारणा बलियो भएको छ । त्यसो त झापा ५ मा उनीहरुलाई बराबरी टक्कर दिने कांग्रेस, राप्रपा, श्रम संस्कृति लगायतका थुप्रै उम्मेदवार पनि आफूले जित्ने दाबी गरिरहेका छन् । यदि यो भिडन्तमा बालेन विजयी भए र देशभरि नै युवाको सपना जस्तै नयाँले जिते नेपालको राजनीति बद्लिने पक्का छ । तर, वास्तविक मार्ग निर्वाचनको परिणामले स्पष्ट गर्नेछ ।




























