ईश्वरको रूप

0
2

ईश्वर, भगवान, परमेश्वर, प्रभु, परमात्मा, स्वनमी, अधिपति आदि जे भनेर पुकारे पनि मानिसले इच्छाएको कुरा पु¥याइदिने अदृश्य शक्ति अझ भनौं सृष्टिकर्ता । हामी उनका पुजारी, हाम्रो आस्थाका केन्द्र । भनिन्छ, भगवान दाहिना भए भने मानिसको जीवनमा कायापलट हुन्छ । सफलताको शिखर चुम्न भगवान दाहिना हुनै पर्छ । यद्यपि गीतामा भनिएको छ– कर्म गर फलको आशा नगर । कर्म गरेर पनि फलको कुनै पक्का गरिएको छैन । कर्म गर्दा पनि फल नपाइँने वा फल नदिने यसको जवाफदेही को होला ? उही ईश्वर कि अरू कोही ? संसारमा यस्ता मानिस विरलै होलान् जो आफ्नो कर्म र ईश्वरसँग सधैँ खुशी रहुन् । म निरिश्वरवादी मानिस होइन । यद्यपि मलाई शर््श्वरप्रति पूर्ण विश्वास पनि छैन ।

४६औं बसन्त पार गरिसक्दा पनि मलाई कुनै कुरामा पनि ईश्वरप्रति पूर्ण विश्वास जागेको छैन । एउटा कुरा यस्तो होस कि जुन कुरामा मेरो ईश्वरप्रतिको आस्था पूर्णरूपमा प्रकट होस । मेरा बुबाआमा पहिलेदेखि पूर्ण रूपमा ईश्वरप्रति विश्वास गर्नुहुन्थ्यो, पूजाआजा गर्नुहुन्थ्यो । घरमा धार्मिक कार्य गर्नुहुन्थ्यो । मलाई केही हदसम्म बुबा चाहिँ व्यवहारतः निरिश्वरवादी झैं लाग्थ्यो । आमा भने व्यवहारमा पनि कट्टर ईश्वरवादी हुनुहुन्थ्यो । बुबा अरू वा दुःखीहरूको सेवामा बढी जोड दिनुहुन्थ्यो । कहिलेकाहीँ भन्ने पनि गर्नुहुन्थ्यो अरूको सेवा गर्नु पनि धर्म नै हो । यहीँबाट मैले अरूको सेवा पनि धर्म नै रहेछ भन्ने कुराको ज्ञान पाएको हुँ ।

मलाई माफ गर्नुहोला । म ईश्वरको खोजीमा धेरै भौंतारिएका मानिसहरूको कोटामा पर्ने व्यक्ति हुँ । मैले ईश्वरका बारेमा धेरै खोज, अनुसन्धान गरेको छु । यो मेरो व्यक्तिगत विचार वा धारणा हो । ईश्वरको खोजी गर्ने क्रममा मैले त्यही ढुङ्गो पुजेको पनि छु र त्यही ढुङ्गो त्यहाँबाट उखेलेर फालेको पनि छु । त्यतिबेला मलाई न कुनै फल प्राप्त भएको महशुस भएको छ न कुनै सजाय नै पाएको अनुभूति । कुनै बेला मैले धेरै मानिसहरूलाई सोधेको पनि छु । के साँच्चै ईश्वर छन् त ? छन् भने कहाँ छन् त भनेर । कसैले भनेका छन् ईश्वर आत्मामा हुन्छन् । कसैले ईश्वर मन्दिरमा हुन्छन् भनेका छन् त कसैले आकाशतिर औंल्याएका छन् । कसैले विश्वासमा हुन्छन् भनेका छन् । कसैले गरीब, दुःखीमा । मैले यही प्रश्न म सानो हुँदा सबैभन्दा पहिला बुबालाई सोधेको थिएँ । बुबाले ईश्वर मनमा हुन्छन् भनेको सुन्दा म अचम्मित भएको थिएँ । ए हाम्रो मनभित्र त ईश्वर पो हुँदा रहेछन् त भनेर । मलाई यो कुरा बुझ्न निक्कै समय लाग्यो । हाम्रो घरमा पहिलेदेखि वर्षमा एक पटक सत्यनारयणको पूजा तथा जप लाएर स्वस्ति शान्ति गर्ने चलन थियो । यसो गर्दा परिवारमा सुखशान्ति मिल्छ भन्नुहुन्थ्यो बुबा ।

पहाडमा हाम्रा एकजना छिमेकी थिए । उनले कहिल्यै त्यसरी पूजापाठ गरेको म जान्ने बुझ्ने भएदेखि मलाई थाहा छैन । उनलाई कहिल्यै पूजाआजा गर्नु परेन । उनको परिवारमा कहिल्यै दुःख–बिमार वा अशान्ति भएको पनि थाहा छैन । उनका लागि सधैँ भगवान दाहिना । बुबा भन्नुहुन्थ्यो दिन दरा हुन्जेल हो । दिन दरा छन् भने केही हुन्न । म सानै थिएँ । एक पटक बुबाआमाले पञ्चवली पूजा गर्नुभएको थियो । घरमाथिको चौरीमा पञ्चवली पूजा भनेर हामीले राँगा, थुँबा, कुख्रा, परेवा आदि काटेका थियौं । आफन्त छर–छिमेकलाई बोलाएर भोज गरेका थियौं । गाई दुहुना हुँदा गोबरको खोचे बनाएर बुबा हरेक बिहान वनका देवीलाई भनेर गाईको दूध चढाउनुहुन्थ्यो । गोठमा सुब्यफाब्बे हुन्छ भनेर । हाम्रो घरमुनि देवीथान थियो । त्यहाँ पनि हामी बेलाबेला बिहान दूध लगेर चढाउँथ्यौं । बुबा बेला–बेला संसारी पूजा पनि गर्नुहुन्थ्यो । संसारी माई भगवतीको भनेर ।

१० कक्षामा पढ्दा मैले जीवनमा प्रथम पटक मौवा डाँडाका गजुरमुखी र इन्द्रावती देवीलाई भाकल गर्दै ढोगेँ । हे इन्द्रावती देवी मैले एसएलसी पास गरौं । यासोक गएर एसएलसी दिँदा मैले दोस्रो पटक यासोकका सिद्धका थानमा ढोगेर भाकल गरेँ । हे सिद्धदेवी मैले एसएलसी पास गर्न सकौं । यदि गरेँ भनेँ परमेश्वरा म तिमीलाई एक जोडी परेवा ल्याएर उडाइ दिनेछु । तेह्रथुमका सिँहदेवीलाई पनि त्यसरी नै भाकल गरेर ढोगेँ । धनकुटाका निशान देवीलाई पनि मैले उसरी नै भाकल गर्दै निशानदेवी मलाई एसएलसी पास गराइदेउ । यदि गराइदियौ भने म तिमीलाई बोका ल्याएर भोग दिउँला । कनकाई माई भगवतीलाई पनि मैले त्यसरी नै भाकल गरेको थिएँ । त्यतिमात्र होइन कि मैले एक पटक संसारभरिका देवीदेवतालाई सम्झेको थिएँ । हे भगवान् जसरी भए पनि मलाई यो फलामे बारबाट बाहिर निकालिदेऊ । एसएलसीको रिजल्ट आउनुभन्दा पहिले । घरमा सत्यनारायणको पूजा लगाइदिउँला भनेर बुबाआमाले पनि मेरा लागि भाकल गरिदिनुभएको रहेछ । पछि रिजल्ट आयो । मैले एसएलसी फेल गरेँ । अर्को साल मैले कुनै देवी–देवतालाई भाकल नगरी एसएलसी दिएँ । पास पनि भएँ ।

यो २०४८ सालको कुरा हो । पुस–माघमा दिएको जाँचको जेठ–असारमा रिजल्ट आउँथ्यो । त्यसपछि कुनै देवीदेवताको भाकल नगरी स्नातकोत्तर तहसम्मको जाँच दिएँ । स्नातकोत्तर तेस्रो वर्ष थेसिस लेख्दालेख्दै कहाँबाट विदेश जाने मोह जागेर आयो । सम्पूर्ण कागजात तयार गरेर लाग्ने रकम समेत बुझाएर पनि निकै लामो समयसम्म अल्झनु प¥यो । विभिन्नखाले झैं–झमेला आइलागे । मैले पशुपतिमा गएर फेरि एउटा भाकल गरेँ । हे पशुपतिनाथ मेरो इजरायलको भिसा लागोस् । म तिमीलाई इजरायल पुगेर आएपछि यहीँ आएर सत्यनारायणको पूजा लाइदिन्छु । गाईको दूधको धारा चढाउँछु भनेर दुई हात जोडेँ । त्यति गर्दा पनि तत्काल मेरो भिसा लागेन । साँच्चै कुनै दशाग्रहले नै पो हो कि भनेर ज्योतिषलाई हात हेराउँने विचार गरेँ ।

त्यतिबेला शहीद गेटको उतापटी सिँहदरवार छिर्ने बाटोको मुखमा आकासे पुलको मुनि एकजना ज्योतिषी हात हेर्न बस्थे । मैले तिनलाई केही पैसा दिएर हात हेराएँ । मैले जीवनमा पहिलो वा अन्तिमपल्ट ज्योतिषलाई आफ्नो भाग्यको बारेमा हात हेराएको त्यही हो । २०६१ साल अन्तिमतिरको कुरा हो । मन विचलित हुन थालेपछि नै मानिसले भाग्य खोज्न थाल्दो रहेछ । बढी भगवानको सहारा लिन खोज्दो रहेछ । मलाई यो कुरा बुझ्न पनि निक्कै समय लाग्यो । मलाई ती ज्योतिषले विदेशको योग छ । राम्रो देश जान आँट्नु भएको रहेछ । राम्रो हुन्छ जानु भनेका थिए । पशुपतिनाथको कृपाले भनौँ वा संयोगले त्यसको करिब दुई–तीन महिनापछि मेरो इजरायलको भिसा लागेको थियो । त्यसपछि म इजरायल गएँ । दुई मनले म इजरायल जानु संयोग ठाने पनि एक मन डरायो । पछि आएर पशुपतिनाथको भाकल बुझाएँ ।

हरेक मानिसलाई कर्मले जस्तै ईश्वरले पनि सधैँ खुशी राख्न सक्दा रहेनछन् । मलाई यो कुरा बुझ्न पनि निकै समय लाग्यो । मलाई पुग्ने र प्राप्त गर्ने कुरामा स्वर्ग र ईश्वर उस्तै लाग्यो । न कोही पुगेको छ न कसैले देखेको छ । मलाई यस्तो लाग्छ कि सायद ईश्वर थिए भने मानिसको शरीरमा चोट लागे पनि हृदयमा चोट लाग्ने थिएन । ८०औँ बसन्त पार गरेर पितृ भइसकेका बालाई छरछिमेकी, आफन्तहरू तीर्थ व्रत गएको देख्दा बा जानुस् तपाई पनि उहाँहरूसँग तीर्थ भनेर कहिलेकाहीँ पठाउन खोज्छौँ । बुढेशकालमा यसो तीर्थ जान मन होला ठानेर तर बुबा जान मन गर्नुहुन्न । जान्न म कतै जान्न । मैले के पाप गरेको छु र तीर्थ जानु ? मैले धर्म पनि गरिसकेको छु । अब किन गर्नुप¥यो ? भन्नुहुन्छ जान मान्नुहुन्न । आमा नबितिकन पनि बुबाआमा कहिँ पुण्य कमाउन तीर्थ भनेर कहिल्यै कतै जानु भएन । कसैप्रति कुदृष्टि, कुभाव, जालझेल र षड्यन्त्र गरेन भने र सबैप्रति समान दृष्टि राख्न सकियो भने त्यो पनि ठूलो धर्म रहेछ । सबैप्रति समान दृष्टि राख्छ र आफ्नै पसिनामा रमाउँछ । ऊ नै ईश्वर रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here