जाली नोट पहिचानसम्बन्धी जनचेतनामूल कार्यक्रम सञ्चालन

0
10

इनरुवा (सुनसरी),

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर सुनसरी सदरमुकाम इनरुवामा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

इनरुवा क्षेत्रभित्रका वित्तीय संस्था तथा बैंकका कर्मचारीका साथै सुरक्षाकर्मी र अन्य सरोकारवालालाई सो विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नेपाल राष्ट्र बैंक विराटनगरका उप–निर्देशक अच्युतकुमार थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्र बैंक विराटनगरका उप–निर्देशक थापाले जाली नोट पहिचान गर्ने विधिको विषयमा जानकारी दिनुभएको थियो । त्यसैगरी उहाँले नेपाली नोटको जतन गर्नुपर्ने, नोटमा जथाभावी कोर्न/लेख्ने गर्दा नोटसँगै राष्ट्रियताको पनि अपमान हुने र त्यस्तो कसैले गरेमा राम्रो सन्देश नजाने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक होमराज ओलीले जाली नोट भेटिएमा प्रहरीलाई जानकारी गराउने दायित्व सबैको भएको बताउनुभयो । केही दिन अगाडि मात्र सुनसरी सदरमुकाम इनरुवा–३ र हरिनगर गाउँपालिकाबाट जाली नोटसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

निर्वाचनका बेलामा यसको कारोबार हुनेसक्ने आशङ्काका अधारमा जाली नोट पहिचानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here