अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–७स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलले शैक्षिक सत्र २०८२ कक्षा–११का नवआगन्तुक विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमकोबीच स्वागत गरेको छ ।
विद्यालयकी प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समितिकी सदस्य सचिव नम्रता गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा प्रेस क्लबका अध्यक्ष एवम् अग्रज पत्रकार रमेश समदर्शीले उद्घाटन गरेका थिए ।
शिक्षकहरुकोतर्फबाट शिक्षक नारायण पोखरेल र विद्यार्थीहरुकोतर्फबाट छात्र कमलसिंह डाँगीले स्वागत गरेको कार्यक्रममा ४० जना विद्यार्थीलाई अविर, माला र मायाको चिनोबाट स्वागत गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा गत शैक्षिक वर्ष २०८१का कक्षा–११का प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु क्रमश कमलसिंह डाँगी, रोजिना चापागाईं र गंगा दनुवारलाई नगद पुरस्कार क्रमश तीन हजार, दुई हजार र एक हजारसहित ट्रफी प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा कक्षा–११ र १२का शिक्षकहरुलाई पनि मायाको चिनोबाट सम्मानित गरिएको थियो ।
सोही कार्यक्रममा विद्यालयकी पूर्व विद्यार्थी एवम् मिस नेपाल कसमो–२०२५की उपाधि विजेता, मिस इन्टरनेशनल कसमो–२०२५की कार्निभल कस्टम सेग्मेन्टकी टप फाइभ एवम् कसमो ग्रीन समिट सेग्मेन्टकी टप टेन दीपशिखा नेपाललाई अभिनन्दन पत्र र दोसल्ला ओढाई अभिनन्दित गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका सदस्य एवम् विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाक्लाप कार्यक्रमका संयोजक अमित खम्बू, अभिनन्दित व्यक्तित्व नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए । नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका इञ्चार्ज जीवन लिम्बूले सञ्चालन गरेका थिए ।






























