काठमाडौं।

सामाजिक सञ्जाल टिकटकमार्फत “झापामा बालेन साहमाथि गोली प्रहार” भएको भन्ने भ्रामक सूचना सार्वजनिक गरी समाजमा गलत तथा नकारात्मक सन्देश फैलाएको आरोपमा एक युवा पक्राउ परेका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ निवासी २३ वर्षीय प्रकाश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले फागुन १५ गते दिउँसो पक्राउ गरेको जनाइएको छ । उनलाई काठमाडौं महानगरपालिका–५ स्थित डबली चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टिकटकमा असत्य तथा पुष्टि नभएको सूचना प्रसारण गरी समाजमा भ्रम सिर्जना गर्ने, सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पुग्ने किसिमको गतिविधि गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ । हाल उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा पुष्टि नभएका सूचना प्रचार–प्रसार नगर्न तथा जिम्मेवार रूपमा सामग्री सार्वजनिक गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।





























