मेचीनगर । झापाको मेचीनगरमा रहेको ढुकुरे खोला अन्तर्गत गोजा पैनीको मुहान भत्किएपछि सिँचाइ अभाव झेल्दै आएका कृषकहरूको समस्या समाधान गर्न मेचीनगरमा नयाँ समिति गठन गरिएको छ।
युवा अभियान नेपालको आयोजनामा बुधबार सम्पन्न स्थानीय कृषक तथा सरोकारवालाको भेलाले पैनी व्यवस्थापन तथा मुहान निर्माणको उद्देश्यसहित समिति गठन गरेको हो।
वर्षौँदेखि पैनीको मुहान जीर्ण र भत्किएको अवस्थाका कारण सिँचाइ सुविधा अवरुद्ध हुँदा कृषकहरू हैरानी खेप्दै आएका छन्। सो समस्याको दीर्घकालीन समाधानका लागि समिति गठन गर्दै मुहान पुनर्निर्माणमा पहल थालिएको हो।
भेलामा सहभागीहरूले गोजा पैनीको मुहान निर्माणलाई मेचीनगर नगरपालिकाको योजनामा समावेश गरी शीघ्र कार्यान्वयन गर्न माग गरेका छन्। मुहान निर्माण नहुँदा मेचीनगर वडा नम्बर १०, ११ र १४ का झण्डै एक सय बिघा कृषि जमिन प्रभावित हुने अवस्था देखिएको स्थानीयले बताएका छन्।
यसअघि गठन भएको समितिले वडा नम्बर १०, ११ र १४ का वडा कार्यालय तथा नगरपालिकामा पटक–पटक पहल गर्दा पनि मुहान निर्माणको विषयमा सुनुवाइ नभएको गुनासो गरिएको छ। सरोकारवाला निकायबाट चासो नदिँदा समस्या झनै जटिल बन्दै गएको स्थानीयको भनाइ छ।
नवगठित समितिले सम्बन्धित निकायसँग समन्वय गर्दै गोजा पैनीको मुहान पुनर्निर्माण र दीर्घकालीन सिँचाइ व्यवस्थापनका लागि दबाबमूलक कार्यक्रमसमेत अघि बढाउने जनाएको छ।
पशुपति भट्टराई (प्रबिण) को अध्यक्षतामा नौ सदस्यीय ब्यवस्थापन समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गोपाल दाहाल, सचिवमा डिल्लीराम उप्रेती (प्रकाश), सहसचीवमा जीवननाथ कडरिया र कोषाध्यक्षमा मेनुका लामिछानेलाई चयन गरिएको छ ।
त्यसैगरी दिवस भट्टराई, इन्द्र दाहाल, जीवन बानियाँ र राजन थापालाई समितिको सदस्यमा चयन गरिएको छ ।
जीवन प्रसाईं संयोजक रहेको छ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । युवराज उप्रेती, प्रेम गौतम, गोपाल भट्टराई, पानीलाल राजबंंशी, योगेन्द्र खनाल सल्लाहकार समिति सदस्य छन् ।
sयुवा अभियान नेपालका संयोजक पशुपति भट्टराईको अध्यक्षमा सम्पन्न कृषकहरुको बृहत भेलामा युवराज उप्रेती, जीवन प्रसाईं, गोपाल भट्टराई, मानबहादुर खड्का, दिनेश खतिवडा, मेनुका लामिछाने, राजन थापा, प्रेम गौतम, पानीलाल राजबंशीलगायत पैनीको मुहान ब्यवस्थापनमा स्थानीय तहले वेवस्ता गरेकाले अन्नबाली उत्पादनमा समस्या भएको गुनासो गरेका थिए ।































