निर्माण सामग्रीको मूल्यवृद्धिले विकास आयोजना प्रभावित

0
2

झापा, निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्यवृद्धिले विकास निर्माणका काम प्रभावित भएको निर्माण व्यवसायीले बताएका छन् ।

निर्माण व्यवसायी संघ झापाले आज पत्रकार सम्मेलन गर्दै सिमेन्ट, फलामे छड, बालुवा, गिट्टी लगायत सामग्रीको मूल्य निरन्तर बढ्दा निर्माण क्षेत्र संकटमा परेको जनाएको हो ।

संघका अध्यक्ष रमेश अधिकारीले चालु आर्थिक वर्षदेखि नै निर्माण सामग्रीको मूल्यमा तीव्र वृद्धि हुँदै आएको र ठेक्का सम्झौता गर्दा गरिएको लागत अनुमानभन्दा बजार मूल्य धेरै माथि पुगेपछि काम सञ्चालन गर्न व्यवसायीलाई कठिनाइ भएको बताए ।

निर्माण सामग्रीको मूल्य अनियन्त्रित रूपमा बढ्दा कतिपय आयोजना बीचमै रोकिने अवस्था आएको छ,उनले भने – यस्तो अवस्थामा सरकारले हामीलाई राहत हुने कार्यक्रम ल्याउनु पर्छ ।

संघले मूल्यवृद्धिको कारण कृत्रिम अभाव, आपूर्ति व्यवस्थापनमा कमजोरी तथा बजार अनुगमनको अभावलाई देखाएको छ । विशेषगरी सीमित आपूर्तिकर्ताले बजारमा प्रभाव जमाउँदै मूल्य बढाएको आशंका संघको छ । यसले प्रतिस्पर्धा घटाएर उपभोक्ता र निर्माण व्यवसायी दुवैलाई मारमा पारेको जनाइएको छ ।

हालको मूल्यवृद्धिले सरकारी तथा निजी दुवै खाले आयोजनामा प्रत्यक्ष असर परेको संघका महासचिव पुष्पराज निरौलाले बताएका छन् । समयमै काम सम्पन्न गर्न नसक्दा राज्यको विकास लक्ष्यमा समेत बाधा पुग्ने उनको भनाइ छ ।

निर्माण क्षेत्रमा देखिएको अनिश्चितताले रोजगारी र लगानीमा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी संघले दिएको छ ।

संघले समस्या समाधानका लागि तत्काल बजार अनुगमन कडाइ गर्न, निर्माण सामग्रीको मूल्य नियन्त्रण गर्न तथा आवश्यक परे मूल्य समायोजनको व्यवस्था लागू गर्न सरकारसँग माग गरेको छ ।

ठेक्का सम्झौतामा मूल्यवृद्धि समेट्ने स्पष्ट नीतिगत व्यवस्था नभएसम्म व्यवसायीले जोखिम वहन गर्न नसक्ने संघको भनाइ छ ।

यस्तै, संघले दीर्घकालीन रूपमा निर्माण सामग्रीको आपूर्ति प्रणाली व्यवस्थित गर्न, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न तथा प्रतिस्पर्धी बजार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको औंल्याएको छ।

निर्माण क्षेत्रलाई स्थिर र सुरक्षित वातावरण नदिइए विकास निर्माणका काम थप प्रभावित हुने चेतावनी दिइएको छ।

“सरकारले समयमै हस्तक्षेप नगरे निर्माण क्षेत्र ठप्प हुने अवस्था आउन सक्छ,” संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

राष्ट्रिय गौरवका आयोजनालाई मात्रै नदीजन्य निर्माण सामग्री उपलब्ध गराइएको बताउँदै अध्यक्ष अधिकारीले साना निर्माण व्यवसायीलाई त्यस्तो सामग्री उपलब्ध नगराइदा अझ मार परेको बताएका छन् ।

निर्माण सामग्री नभएकै कारण अब निर्माण कार्य रोक्नुको विकल्प नभएको उनको भनाई छ । विटुमिन, डिजेल , पेट्रोल, फलामे डण्डी लगायत ४० प्रतिशत वढी खपत हुँदै आएको र यसमा उच्च मूल्य वृद्धिको मार खेपीरहेका व्यवसायीले नदीजन्य सामग्री नपाएर अर्काे समस्या निम्तिएको उनको भनाई छ ।

व्यवसायीले निर्माण कार्य सञ्चालन गर्दा विभिन्न सप्लायर्सहरुसंग विभिन्न सम्झौता गरेर सामग्री लगेको तर, सरकारी तवरबाट समयमै भुक्तानी नहुँदा र उनीहरुले व्यवसायीलाई वारम्वार तागेता गर्दै आएको र तागेता कम गर्न समेत उनीहरुले माग गरेका छन् ।

सप्लायर्सहरुलाई उनीहरुले केही समय चेक वाउन्स नगर्न समेत आग्रह गरे ।

पछिल्लो समय झापामा सञ्चालित ५०० बढी योजना प्रभावित भएको भन्दै व्यवसायी मौसम थापाले अव लाग्ने ठेक्का पनि पहिलेको दर रेटमा लिन नसकिने बताए । निर्माणका विभिन्न चरणमा रहेका ठेक्काको काम सक्न व्यवसयीलाई समस्या भएको भन्दै उनले सरकारसंग ठेक्काको समयअवधि लम्व्याउन र व्यवसायीको हितमा कानून निर्माण गर्न माग गरे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here