मुखर्जी भ्रमणका अपेक्षा

0
642

भारतका राष्ट्रपति प्रणत मुखर्जी नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार दिउसो काठमाडौं आइपुगेका छन् । आफ्नै विशेष सुरक्षा दातासहित नेपाल आएका उनलाई यहाँ पनि नेपाली सेनाको नेतृत्वमा उच्च सुरक्षा प्रदान गरिएको छ । मुखर्जीको नेपाल भ्रमणलाई ‘विशेष सद्भाव भ्रमण’ भनिएको छ। उनको भ्रमणलाई नेपाल र भारत दुबै देशबाट प्राथमिकताका साथ हेरिएको छ भने अन्तर्राष्ट्रिय चासो पनि उत्तिकै छ ।
१८ वर्षपछि भारतीय राष्ट्रपतिबाट नेपाल भ्रमण भएको हो । यसअघि सन् १९९७ मा तत्कालीन राष्ट्रपति के आर नारायणले नेपाल भ्रमण गरेका थिए । भारतले नेपालमा गणतन्त्र स्थापना र संविधान निर्माणपछि नेपालको भ्रमण गर्ने उच्च पाहुना मुखर्जी भएको बताएको छ । यो तहको भ्रमणमा विगतमा लामो अन्तर भएपनि आउदा दिनमा यति धेरै अन्तर नहुनेसमेत भारतीय उच्च अधिकारीले बताएबाट अब दुई देशबीचको सम्बन्ध अरु प्रगाढ भएर जाने विश्वास गरिएको छ । काठमाडौंमा मुखर्जीलाई नागरिक अभिनन्दन तथा काठमाडौं विश्वविद्यालयले विद्यावारिधीबाट सम्मान गरिने तथा उनले जनकपुर र पोखराकोसमेत भ्रमण गर्ने कार्यतालिका छ । यसका विभिन्न उद्देश्य हुन सक्छन् ।
भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणलाई राजनीतिक वृत्तमा समेत विशेष अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालको संविधान २०७२ प्रति असन्तुष्ट भारतले मधेशी मोर्चालाई साथ दिएको छ । मधेशी मोर्चाका माग संविधानका लागि संविधान संशोधनको तयारी भइरहेका बेला मुखर्जीले यो विषयमा समेत दलका नेताहरुसँग छलफल गर्ने बुझिएको छ । उनले सबै दलका नेतासमेत भेट्ने, नयाँ सम्झौताभन्दा पुराना सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित हुने अनुमान छ । सम्बन्धमा सुधारका लागि भ्रमण सकारात्मक हो । पुराना सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित भए अझ फलदायी हुने विश्वास गर्न सकिन्छ । राजनीतिक विषयमा मुखर्जीबाट सुझाव आए अन्यथा भन्न मिल्दैन तर ‘राजनीतिक दबाव’ आए भ्रमण विवादमा पर्न सक्छ । नेपाल–भारत द्विपक्षीय हितमा धेरै समस्या छन् । ती समस्या समाधानका लागि विशेष छलफल र नयाँ नीतिका साथ अग्रसर बन्नुपर्ने आवश्यकता देखिन्छ । दुई देशबीचको सदिऔं पुरानो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाएर लैजान, नेपालमाथि सीमालगायत विभिन्न क्षेत्रमा भएका थिचोमिचो अन्त्यका लागि मुखर्जीको नेपाल भ्रमण फलदायी बन्नु पर्छ । समग्रमा दुई देशको सरकारी, राजनीतिक र नागरिक तीन तहमा मुखर्जीको भ्रमणले सकारात्मक सन्देश प्रवाह र सम्बन्ध प्रगाढ बन्ने आम अपेक्षा पूरा हुन सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here