भारतका राष्ट्रपति नेपालमा

0
354

विर्तामोड, कात्तिक १८। नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आएका छन् ।
उनीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यालयमा स्वागत गरेकी छिन् । स्वगतसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेकी छिन् ।
त्यस अवसरमा दुई देशका राष्ट्रपतिबीच युगौँदेखिको नेपाल–भारतबीचको सु–सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सौहार्दपूर्ण एवम् हार्दिकतायुक्त वातावरणमा भएको उक्त वार्तामा दुई मुलुकबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक एवम् जनस्तरको सम्बन्धलाई थप सुदृढ तुल्याउनेबारे छलफल भएको थियो ।
राष्ट्रपतिद्वयबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । यता भारतका रक्षा राज्यमन्त्री सुभास भामरे, सांसदहरू एल गानेसन, जगदम्बिका पाल, राजकुमार सिंह, भुवनेश्वर कलिता, विदेश सचिव एस जयशङ्कर, नेपालका लागि भारतका राजदूत रणजीत रायलगायत भ्रमण टोलीमा थिए ।
त्यसअघि नेपाली सेनाको एक टुकडीले शुभकामना धुन बजाएको थियो । अठार वर्षपछि भारतका राष्ट्रपतिबाट नेपालको भ्रमण भएको हो । यसअघि राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको राजकीय भ्रमण गरेका थिए ।
मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले बुधवार अपरान्ह लैनचौरस्थित भारतीय राजदूतावासमा स्वागत समारोह आयोजना गरेका थिए । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ ।
जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ । नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुण्यप्रसाद लुइँटेलले बताए ।
कालोझण्डा देखाउने पक्राउ
भारतीय हस्तक्षेपको विरोध स्वरुप भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई कालोझण्डा देखाउन प्रयास गर्ने ग्रेटर नेपालका दुई जना शीर्ष नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल र सचिव रामचन्द्र खड्का रहेका छन् । उनीहरूलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट (गोल्डेन गेट) नजिकैबाट बिहान करिव ११ः३५ बजेतिर पक्राउ गरेको संयोजक नेपालले जानकारी दिए ।
पक्राउ परेका नेपाल र खड्कालाई प्रहरीले गौशाला प्रहरीमा राखेको छ । मुखर्जी विमानस्थलमा उत्रनु अघि नै नेपाल र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मुखर्जीको विरोधमा ग्रेटर नेपालका अन्य समर्थकहरूले पनि प्रदर्शनको तयारी गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here