राजपा नेपालको ४ बुदे प्रतिबद्धता

0
387

बिर्तामोड, जेठ १ । मधेसवादी ६ वटा पार्टी एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए जेठ ३१ को स्थानीय चुनावमा सहभागिता जनाउने घोषणा गरेको छ ।
संवाद समूह झापाको संयोजनमा बिर्तामोडस्थित सचिवालयमा सम्पन्न छलफलमा राजपा झापाको अध्यक्ष मण्डलका नेताहरुले आफ्नो पार्टीले उठाउँदै आएको मुद्दा सम्बोधन भए स्थानीय चुनावमा जाने बताए । उनीहरुले चुनाव मुलुकको लागि अपरिहार्य भएको भन्दै वर्तमान सरकारले मधेसवादीको भावना सम्बोधन गर्ने विश्वास समेत व्यक्त गरे । उनीहरुले चार बुँदे प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शान्ति, सहमति, सहकार्य र गणतन्त्रको स्थायित्वको पक्षमा प्रतिबद्ध रहँदै पार्टीको कार्यक्रम र अभियानलाई शान्तिपूर्ण रुपमा अघि बढाउने उनीहरुको प्रतिबद्धता छ ।
त्यस्तै उनीहरुले संविधान संशोधनमार्फत राजपा लगायतका दलले उठाएको मुद्दा सम्बोधन गरी दोस्रोचरणको स्थानीय चुनावमा मधेसवादी दलको सहभागिताको वातावरण बनाउन पनि माग गरेका छन् । राजपा झापाले दलहरुबीच सहमति, सहकार्य, एकताको राजनीतिक संस्कार र संस्कृतिलाई बढावा दिई मुलुकलाई तत्काल निकास दिन माग समेत गरेको छ ।
राजपा नेपाल झापा अध्यक्ष मण्डलका संयोजक सूर्यनारायण गणेशले दलहरुबीच सहमतिको विकल्प नरहेको भन्दै वर्तमानमा देखिएका समस्या राजनीतिक तवरबाटै समाधान हुनुपर्नेमा जोड दिए । संविधान संशोधनमार्फत मधेसीको अधिकार सुनिश्चितसँगै भावना समेट्नुपर्ने उनले बताए ।
सो पार्टी अध्यक्ष मण्डलका सदस्यहरु अनुतसिंह राजवंशी, प्रदीपकुमार अग्रवाल र देवेन्द्रकिशोर ढुंगानाले सबैको सहभागितामा दोस्रो चरणको स्थानीय निर्वाचन गर्न सहमति र सहकार्य जरुरी रहेको बताए । उनीहरुले आफूहरु चुनावको पक्षमा रहेको र चुनावसँग मधेसको हित जोडिएको बताए ।
सरकार र चुनावको आफूहरु विरोधी नरहेको उनीहरुको भनाइ थियो । सद्भावना पार्टी, तराई–मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम गणतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी र तराई मधेस सद्भावना पार्टीबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी नेपाल बनेको हो । सो पार्टीले झापामा एकता घोषणा सभा गरिसकेको छ भने जेठ १ गते जिल्लाभर मोटरसाइकल ¥याली गरेर एकताको सन्देश दिने समेत जानकारी दिएको छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here