३९१ परिवारले बाह्रदशी छाडे

0
508

बिर्तामोड।

बाह्रदशी गाउँपालिकाबाट बसाइँ सरेर जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बसाइँ सरेर जानेमध्ये सबैभन्दा धेरै वडा नम्वर ३का रहेका छन् ।

वाह्रदशी गाउँपालिकाले तयार पारेको पाश्र्वचित्र अनुसार एक आर्थिक वर्षमा गाउँपालिकाबाट ३ सय ९१ परिवार बसाइँ सरी अन्यत्र गएका छन् । जसमध्ये सबैभन्दा धेरै वडा नम्वर ३बाट मात्रै १०८ परिवार बसाइँ सरेका छन् । गाउँपालिकाको तथ्याङ्क अनुसार एक सय ८७ परिवार वाह्रदशी गाउँपालिकामा बसाइँ सरेर आएका छन् । बसाइँ सरी आउनेको संख्या पनि वडा नम्वर ३मा नै धेरै छ । वडा नम्वर ३मा मात्रै ६३ परिवार अन्यत्रबाट बसाइँ सरेर आएका छन्

कार्यालयले तयार पारेको पाश्र्व चित्रमा वडा नम्वर १बाट बसाइँ सरेर जानेको संख्या १७ छ भने आउनेको संख्या ४, २मा जाने ८६ आउने ३३, ४मा जाने ५९ आउने ११ रहेका छन् । त्यस्तै वडा नम्वर ५बाट बसाइँ सरेर जानेको संख्या ४६ रहेको छ भने आउनेको संख्या ३६ रहेको छ । वडा नम्वर ६मा बसाइँ सर्नेको तथ्याङ्कमा देखिँदैन भने ७मा बसाइँ सरेर आउनेको संख्या ३२ हुँदा जानेको संख्या ७५ रहेको छ ।

८ हजार २ सय ३७ घरधुरी रहेको बाह्रदशी गाउँपालिकामा ३९ हजार ६ सय २२ जनसंख्या रहेको छ । जसमा ४९.७ प्रतिशत महिला र ५०.९३ प्रतिशत पुरुष छन् । १६ सामुदायिक विद्यालय, १३ संस्थागत विद्यालय, १० मदरसा र १ गुरुकुल विद्यालय सञ्चालनमा रहेको बाह्रदशीका बालबालिकालाई पठनपाठन गर्न भने सुविधा छ ।
विकासका दृष्टिकोणले अन्य गाउँपालिका र नगरपालिकाको तुलनामा केहीपछि परे पनि पछिल्लो समय बाह्रदशी गाउँपालिकामा तीव्र रुपले विकास हुँदै गएको छ ।

गाउँपालिकाभित्र पर्ने ३ सय २५ सडकखण्ड मध्ये कूल सडक अन्तर्गत ए क्लासको ३१ किलोमिटर सडक बाह्रदशी गाउँपालिकामा रहेको छ भने वी क्लासको ४८ किलोमिटर, सीको ४७ र डीको २४४ किलोमिटर सडकखण्ड रहेको छ । जसमध्ये ५७ किलोमिटर सडक कालोपत्रे भएको गाउँपालिकाको पाश्र्व चित्रमा उल्लेख छ । गाउँपालिकाको कूल सडकमध्ये ७६ किलोमिटर सडक ग्राभेल, ३३८ किलोमिटर सडकखण्ड धुले र कच्ची सडक रहेका छन् ।

वाह्रदशी गाउँपालिकामा औद्योगिक क्षेत्र छैन । यस गाउँपालिकामा घरेलु तथा साना उद्योग पनि ज्याँदै न्यून रहेका छन् । बिभिन्न कारण देखाउँदै बाह्रदशी गाउँपालिकाका सर्वसाधारणले पछिल्लो सयम गाउँपालिका छाडेका मात्र छैनन् कूल जनसंख्याको ११.३७ प्रतिशत जनसंख्या गाउँपालिकामा घर भए पनि बाहिर बसेका छन् ।

कार्यालयको तथ्याङ्क अनुसार ३२९ महिलासहित ३ हजार ८४ पुरुष वैदेशिक रोजगारी, अध्ययन र डीभी परेर विदेशमा बसोबास गर्छन् भने नेपालभित्रै बसोवास गर्नेको संख्या १ हजार ४ सय २२ रहेको छ । जसमा पाँच सय ९९ महिला बाहिर छन् ।

गाउँपालिकामा कूल जनसंख्याको २५.७७ प्रतिशत अर्थात् ६ हजार ६ सय ४७ जना बेरोजगार छन् । पुरुषको तुलनामा महिला नै धेरै बेरोजगार रहेका छन् । चार हजार ७ जना महिला बेरोजगार रहँदा २ हजार ६ सय ४० पुरुष बाह्रदशी गाउँपालिकामा वेरोजगार रहेको तथ्याङ्क छ ।

बाह्रदशीमा अझै पनि ६ सय ४ परिवार भूमिहीन छन् । जसमध्ये सबैभन्दा बढी वडा नम्वर २मा रहेका छन् । वडा नम्वर २मा मात्रै २७९ परिवार, ३मा १०६ र १मा १०० परिवार सुकुम्वासी छन् । वडा नम्वर ४ मा ३ परिवार, ७मा ३६ र ५मा ७८ परिवार सुकुम्वासी रहेको बताइन्छ ।

गाउँपालिकामा रहेको कूल घरधुरीमध्ये २७. ६८ प्रतिशत मानिस अझैं बैंकको पहुँच बाहिर छन् । अशिक्षा र गरिवीका कारण गाउँपालिकामा बसोबास गर्ने सबै मानिस वैकको पहुँचमा पुग्न नसकेको गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमार राजवंशीले बताइन् । उनले भनिन्– पछिल्लो समय गाउँ–गाउँमा बैंक तथा वित्तीय संघ–संस्था खुल्न थालेपछि मात्रै वैंकिङ सेवाको पहुँचमा बाह्रदशीवासी पुगेका हुन् । अझै पनि शतप्रतिशत मानिस वैंकको पहुँचमा पुग्न धेरै समय लाग्ने राजवंशीको भनाइ छ ।

वाह्रदशीको पाँच वर्षभन्दामाथिको जनसंख्याको कूल साक्षरता दर ८२.७८ प्रतिशत रहेको छ । सिङ्गो गाउँपालिकाका ८८. ८७ पुरुष साक्षर हुँदा ७६.४३ प्रतिशत मात्र महिला साक्षर छन् ।
दुई वर्ष यता वाह्रदशीको विकासले गति लिएको छ । आम्दानीका स्रोतहरू थपिएका छन्, साक्षरता दर बढेको छ, भौतिक सुविधा पनि थपिएका छन् ।

तर, पनि सुविधा र अवसरको खोजीले बाह्रदशी छाड्नेको क्रम दिन प्रतिदिन बढिरहेको छ । जनसंख्या घट्दै जाँदा बाह्रदशीको जमिन बाँझिने क्रम बढेको छ । सडक निर्माण, कृषि क्षेत्र, भौतिक पूर्वाधार निर्माणलगायत विकासका गतिविधिमा समेत बाह्रदशीको बसाइँसराइले प्रत्यक्ष प्रभाव पारेको छ । विकासका पूर्वाधारको कमीका कारण यहाँका मानिस बिर्तामोड, दमक, सुरुङ्गा लगायत राजमार्ग आसपासका शहर बजारमा केन्द्रित हुँदै जान थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here