५० हजार माछाको भुरासहित एक भारतीय पक्राउ

0
1313

भद्रपुर।

अवैध तरिकाले नेपाल भित्र्याइएको ठूलो परिमाणको माछाका भुरा लोड गरिएको बोलेरो जिपसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको कादोगाउँ नाकाबाट भन्सार छलेर कचनकवल–४स्थित केचना नाका हुँदै नेपाल भित्र्याइएको पंगास जातका ५० हजार माछाका भुरा लोड गरिएको बिआर ११ एच २७०६ नम्बरको भारतीय बोलेरो जिप नियन्त्रणमा लिएको हो । बरामद गरिएको ३५ कार्टुन माछाका भुराको नेपाली बजार मूल्य तीन लाख रहेको जनाइएको छ ।

जनपद र सशस्त्रको संयुक्त गस्ती टोलीले सोमबार बिहान माछाको भुरासहित जिप नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक मानबहादुर कटुवालले जानकारी दिए । पक्राउ पर्नेमा बिहार फार्वेसगञ्ज, अररिया बस्ने ३६ वर्षीय अमोदकुमार झा रहेका छन् ।

पशु क्वारेन्टाइन चेकजाँच बिना पशुपन्छी नेपाल भित्र्याउन नपाइने कानून विपरीत माछाका भुरा लिएर आएको भारतीय जिपलाई भद्रपुर भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइसकेको जनाइएको छ । यता बरामद गरिएको माछाको भुरा र झालाई पशु क्वारेन्टाइन चेकपोस्ट भद्रपुरमा बुझाएको उनले बताए । माछाको भुरालाई सरोकारवाला निकायको उपस्थितिमा क्वारेन्टाइनकै चेकपोष्टमा नष्ट गरिएको जनाइएको छ ।

यता नियन्त्रणमा लिएका झालाई प्रहरी कार्यालय झापा पठाइसकेको पशु क्वारेन्टाइन चेकपोष्ट भद्रपुरका डा. रमेश घिमिरेले जानकारी दिए । उनका अनुसार पशु स्वास्थ्य सेवा ऐन २०५१ र पशु सेवा स्वास्थ्य नियमावली २०५६ अनुसार पक्राउ परेका व्यक्तिसँग कुनै कानूनी कागजात नरहेकोले जिल्ला प्रशासन कार्यालय झापामार्फत मुद्दा चल्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here