छ मुखे रुद्राक्ष

0
1341

लघु कथा

विष्णु निरौला आचार्य,

केही समयअघिको कुरा हो । उपचारका लागि काठमाडौं गएको थिएँ । ग्रान्डी हस्पिटलबाट फर्कने क्रममा सामाखुसी चोकको केही पर रुखको छहारीमा शितल ताप्न बसियो ।

छेउमा रहेको सानो ठाँउमा एकजना मानिस जडिबुटी बेच्दा रहेछन् । मानिसहरुको आवत–जावत बाक्लै थियो । केही छिनको बसाइको क्रममा धेरै मानिसहरुले केही न केही जडिबुटी किनेको देखियो । कसैले शिलाजीत, हड्चुर, पाखनवेद, काँचोसिम्रिक…….आदि ।

त्यो देखेर मैले पनि रु. २०० तिरेर एउटा सानो बिखमा किनेँ । मेरो आँखा जडिबुटीको छेउमा रहेको एउटा सानो थैलोमा प¥यो । त्यस थैलोमा रुद्राक्षका दाना थिए । मलाई मेरो एकजना आफन्तले काठमाडौंबाट फर्कदा छ मुखे रुद्राक्ष ल्याइदिनु भनेका थिए । मैले ती जडिबुटी ब्यापारीलाई छ मुखे रुद्राक्ष किन्न मागेँ । उनले केही पर गएर छ मुखे रुद्राक्ष लिएर आए । दाम सोद्धा उनले पाँच मुखेको रु.१०, छ मुखेको रु. ६०० बताए ।

अलिपर एकजना ज्योतिषी बा ज्योतिष हेर्दै थिए । आफ्नो परिचयपत्र अगाडि तिर राखेर मान्छेको भविष्य बताउनमा ब्यस्त ज्योतिषी बाकोबाट ती ब्यापारीले मनग्गे नाफा खाएर बेच्ने सोचले रुद्राक्ष मागेर ल्याएका रहेछन् । मानिसहरु तँ छाड म छाड गर्दै ज्योतिष हेराउन लागेको देख्दा मसङ्गको साथीले भने– होइन मानिसको जीवन कर्मले निर्देशित गर्छ कि भाग्यले ? आफ्ना बिदेश गएका श्रीमान् तथा आफन्तहरुको भविष्यको ग्रहस्थिती, त्यसले दिने फलहरु ज्योतिषी बाले फोन मार्फत बताइरहेका थिए भने ज्योतिष हेराउनेहरु भविष्यफलप्रति पूर्ण विस्वस्त थिए ।

यता जडिबुटी व्यापारी रुद्राक्ष बेच्ने हतारमा थिए । मैले रुद्राक्ष किन्नैपर्ने थियो । बार्गेनिङ शुरु भयो रु.४०० देखि, मैले ५०० पु¥याउँदा नि तिनले दिन मानेनन् । केहीछिनको पर्खाइमा पनि रुद्राक्षको दाम नघटेपछि अन्ततः मैले रुद्राक्ष नकिन्ने निर्णय गरेँ । म उठेर अघि बढेको देखेर ऊ रु. ५५० मा लानु भन्दै थियो । म नसुने झैं गरी अघि बढिरहेँ ।

यी सबै कुरा परबाट हेरिरहेका ज्योतिषी बाले म छेउ आएर भन्नुभयो– नानी तपाईंले नै हो रुद्राक्ष खोज्नु’भा ? मैले नै हो भनेँ । दाम ज्यादा भनेकोले नकिनेको कुरा सुनेपछि ज्योतिषी बाले आफुले रु. २५० मा किनेको र ५० रु. नाफा आए दिने कुरा गर्नुभयो । ६०० दामको छ मुखे रुद्राक्ष ३०० मा किनेर म आफ्नो बाटो लागेँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here