डेंगु र सरकारी दायित्व

0
591

पोथीजातिका एडिज नामको लामखुट्टेले टोक्दा मानिसमा डेंगु नामको रोग सर्छ । डेंगुले अहिले पूर्वी नेपालको धरानमा महामारीको रुप लिइसकेको छ । त्यसको विस्तार त होइन होला तर पूर्वी–सीमान्त क्षेत्रहरुमा समेत डेंगुले प्रभाव पार्न थालेको छ ।

झापाको केन्द्र भनिने बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलमा मात्रै डेंगुका रोगी सात जना फेला परेको बताइएको छ । आम नागरिकको स्वास्थ्य रक्षाका लागि सजग र सचेत रहनुपर्ने स्वास्थ्य मन्त्रालय र सरकार अहिले बेखबर जस्तै छ । यसको संक्रमणको समयभन्दा अघि नै सचेतना शिक्षादेखि रोग लाग्न नदिने अवस्था र रोग देखिइसकेपछि नियन्त्रणका लागि स्थानीय सरकारसम्मलाई परिचालन गर्नुपर्छ । तर, सरकार महामारीको अवस्था पुग्दासम्म मौन छ र मौनता भङ्ग हुने छेकछन्द देखिएको छैन ।

पोथी जातको लामखुट्टेको टोकाइबाट डेंगुको भाइरसको संक्रमण मानिसमा सर्छ । एयर कन्डिसन, गमला, गाडीका टायर, खाली ड्रम र खाल्डोमा जमेको पानीमा यो रोगको संक्रमण फैलिने सम्भावना बढी रहने चिकित्सकहरुले जनाएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञहरुको टोलीले धरानमा मात्रै दुई सयभन्दा बढी मानिस डेंगुबाट संक्रमित रहेको जनाएको छ । त्यहाँका केही वडालाई डेंगु संक्रमित वडा घोषणा समेत गरिएको सन्दर्भले यसको भयावहताको अनुमान गर्न सकिन्छ ।

डेंगुको संक्रमण भएपछि ज्वरो आउने, जोर्नी दुख्ने, अल्छी लाग्ने, टाउको दुख्ने जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ । त्यसैले पनि यस्ता लक्षण देखिनासाथ अस्पताल जान विज्ञहरुले सुझाव दिएका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले पनि डेंगु ग्रस्त क्षेत्रका मानिसमा आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेको देखाएको छ । त्यसैले पनि नेपाल जस्तो आर्थिक स्तरमा पछि रहेको समाजमा यस्ता रोगले धेरै प्रभाव पार्ने भएकाले सरकारले समयमै समाधान खोज्नु पर्छ । यसका लागि सचेतनासँगै लामखुट्टेको टोकाइबाट बच्न झुल, क्रिम वा अरु के गर्न सकिन्छ त्यसमा इमान्दार र जिम्मेवारीसहितको उपचारको व्यवस्था सरकारले मिलाउनु पर्दछ ।

डेंगुको संक्रमणले रक्तचाप कम हुने, रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्ने, प्लेटलेट कम भई बिरामी सिकिस्त हुन सक्छ । यसलाई नियन्त्रण गर्न स्थानीय सरकारलाई चलायमान बनाउनुपर्छ । झापाको बिर्तामोड जस्तो प्रदुषित शहरोन्मुख बजारमा डेंगुको जोखिम अति उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । असारे विकासको धपडी भएका बेला बिर्तामोड खाल्डोले भरिएको छ । बिर्तामोड–भद्रपुर सडकखण्डको दुर्दशा डेंगुको वाहक भएको छ ।

त्यस्तै अव्यवस्थित शहरीकरण, पवित्र खोलालाई ढलमय बनाइएका कारण पनि डेंगुले महामारी लिने अवस्था छ । स्थानीय सरकार यसतर्फ गम्भीर भएन भने प्रतिरक्षाको उपाय गरेन वा सचेतनाका कार्यक्रम सञ्चालन गरेन भने ठूलो क्षतिको कारण यही हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here