विपद् व्यवस्थापनको तयारी तीव्र

0
415

दमक।

झापामा विपद् व्यवस्थापनको तयारीलाई तीव्रता दिइएको छ । झापाका अधिकांश नगरपालिका तथा गाउँपालिका बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको काम तीन महिनाअघिदेखि नै शुरु गरिएको झापाका प्रमुख जिल्ला अधिकारी समेत रहेका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष जनकराज दाहालले बताए ।

‘प्रतिकार्य योजना बनाएर हामी अघि बढिसकेका छौं’ –दाहालले भने । प्रत्येक नगरपालिका र गाउँपालिकाले पनि तयारीलाई तीव्र बनाएको पाइएको बताउँदै उनले एकीकृत रुपमा कसरी अघि बढ्न सकिन्छ भनेर पनि बारम्बार छलफलहरु हुने गरेको पनि जानकारी दिए । जनधनको क्षति हुन नदिन सबै प्रकारको उपाय अवलम्बन गरिने उनले बताए ।

तत्कालका लागि दुईवटा आपत्कालीन आश्रय स्थल बनाउने, राहत वितरणका लागि मापदण्ड बनाउने, नगरपालिका तथा गाउँपालिकाहरुमा रहेका फोकल पर्सनहरुलाई हाइअलर्टमा राख्ने जस्ता तयारीहरु भएको पनि दाहालले जानकारी दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ मा उल्लेख भए अनुसार स्थानीय विपद् व्यवस्थापनका कार्यहरुलाई कमी हुन नदिनका लागि प्रयास भइरहेको दाहालले बताए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिमा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित रहने ब्यवस्था छ । जिल्ला विपद् कार्ययोजना बनाएर लागू गर्ने र गराउने दायित्व अनुसार काम भएको दाहालले जानकारी दिए । झापामा धेरै खोलानाला रहेका छन् र विगतमा समेत ठूलो क्षति भएकाले यो पटक क्षति न्यूनीकरणका लागि रणनीतिक रुपमा अघि बढिएको दाहालले बताए ।

नगरपालिका र गाउँपालिकामा नै स्थानीय विपद् व्यवस्थापन समिति बनेपछि प्रमुख जिल्ला अधिकारीले केही समय अघि बोलाएको छलफलमा स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत सहभागी नभए पनि समितिले आफ्नो काम भने नरोकेको बताइएको छ । ‘हामीले ऐनले दिए अनुसारको जिम्मेवारी बहन गरेका छौं र त्यो अनुसारको तयारीमा पनि केही कमी हुन दिएका छैनौं’ –दाहालले भने ।

यस वर्ष प्रदेश नं. १ सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत सबै नगरपालिका तथा गाउँपालिकामा विपद् व्यवस्थापन गर्नका लागि २४ नै घण्टा सञ्चालन हुने गरी डेक्स नै स्थापना गरेको जनाइएको छ ।

विपद्को अवस्थामा सूचना आदान–प्रदानका लागि यस्तो व्यवस्था गरिएको जनाइन्छ । यसमा आवश्यक उपकरण तथा स्रोतसाधन प्रदेश सरकारले उपलब्ध गराउन आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here