झापाका उद्योगी–व्यवसायीबीच आर्थिक विधेयकबारे छलफल

0
1192

रोहित काफ्ले/भद्रपुर ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिहीबार झापाका उद्योगी–व्यवसायीसँग आर्थिक विधेयक २०७६ का प्रावधान सम्बन्धी छलफल गरेको छ ।

झापा उद्योग संघको आयोजनामा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले आर्थिक विधेयक २०७६, आयकर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क करसम्बन्धी वारी गरिएका नयाँ प्रावधानका विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो ।
अन्तरक्रियामा उद्योगीहरुले विधेयकमा उल्लेखित कतिपय प्रावधान व्यावहारिक रुपमा कार्यान्वयन गर्न नसकिनेखालको भएकोले सच्याउनुपर्ने धारणा राखेका थिए ।

झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा अहिले पनि कतिपय ठूला करदाताले ठूलै परिमाणमा कर छली गरिरहेको समाचारले कर ठूलालाई चैन, सानालाई ऐनजस्तो बनेको उद्योगीहरुको गुनासो थियो भने विधेयकमा भएको सबै कामदारको पान नं दर्ता गर्नुपर्ने भन्ने प्रावधान वयवहारिक रुपमा कार्यान्वयन गर्न समस्या आउनसक्ने उनीहरुको भनाइ थियो ।

संघका महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन र वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत गरेको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले करका सम्बन्धमा उद्योगी–व्यवसायीका समस्या समाधानका लागि कार्यालयले पहल गर्ने बताएका थिए भने कर अधिकृत भीमप्रसाद शर्माले प्रचलित र करसम्बन्धी नयाँ करका विषयमा प्रस्तुति दिएका थिए ।

उद्योगीहरु चण्डीप्रसाद पराजुली, महेश चितलांगिया, विनोद चापागाईं, सत्यनारायण तायत, विनयराज गोयललगायतले उद्योगी–व्यवसायीले भोग्दै आएको समस्या उजागर गरेका थिए भने पूर्वाञ्जल प्लाइउड संघका अध्यक्ष दीपेन्द्र पोखरेल, नेपाल भेनियर उत्पादक संघकाकार्यवाहक अध्यक्ष दीपक पाण्डेले दोहोरो–तेहेरो करका कारण उद्योगी–व्यवसायी मर्कामा परेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here