सडक दुर्घटनामा मानवीय क्षति बढ्यो : मन्त्री कार्की

0
561

बिर्तामोड।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनामा मानवीय क्षति ज्यादा भएकाले यसको न्यूनीकरण आवश्यक रहेको बताएका छन् ।

‘विकासका लागि सुरक्षा र सचेतना’ नारासहित आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा शनिवार आयोजित प्रदेशस्तरीय एक दिवसीय प्रशिक्षण कार्यक्रममा उनले चालकको लापरवाही र सर्वसाधारणले ट्राफिक नियम पालना नगर्नाले सडक दुर्घटनामा वृद्धि भएकाले सचेतना आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

मन्त्री कार्कीले प्रदेश ट्राफिकलाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक पर्ने अत्याधुनिक सामग्री उपलब्ध गराउँदै आएको बताउँदै प्रहरी कार्यालयमा रहेका मुद्दा र दाबी नागरिएका सवारीसाधन लिलाम गराउन प्रदेश सरकारले कानून बनाउने जानकारी दिए ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले ट्राफिक प्रहरी ‘प्रविधिमैत्री’ बनाउनुपर्नेमा जोड दिँदै सबैले ट्राफिक नियम पालना गरेमा दुर्घटना कम हुने बताए । प्रदेश नं १ प्रहरी कार्यालयका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले अन्य प्रदेशभन्दा साधनस्रोतले सम्पन्न भएको यस प्रदेशमा ट्राफिक प्रहरीले जवाफदेही बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले हतारले दुर्घटना निम्त्याउने हुनाले ट्राफिक नियमको सधँै पालना गर्न आग्रह गरे । सो अवसरमा मोरङ, सुनसरीका ट्राफिकसँग आवद्ध प्रहरी, सशस्त्र प्रहरीको सहभागिता रहेको थियो ।

प्रदेश नं १ मा आर्थिक वर्ष २०७५÷७६ को अहिलेसम्ममा एक हजार १ सय २८ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ३ सय ३४ जनाको मृत्यु भएको छ भने दुई हजार १ सय ३४ जना घाइते भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here