चिया पसल बन्यो अर्थ र परमार्थको साधन

0
919

दिउँसोको समय । कोही बेञ्चमा बसेर दिउँसो (अपरान्ह)को खाजा खाँदैछन् त कोही चिया पिउँदै पत्रिका पढ्दै । आलुचप, प्याजी, समसा, पुरी लगायत विभिन्न परिकार खाजाका लागि तयारी अवस्थामा राखिएका छन् । ग्राहकको माग अनुसारको परिकार दिन एक पुरुष व्यस्त छन् भने तिनै परिकार बनाउन व्यस्त देखिन्छिन् अर्की एक महिला । कोही नास्तापछि सन्तुष्ट भएर केही क्षण विश्राम गर्दै चियागफमा मस्त छन् त कोही चियाको प्रतिक्षामा ।

यो दृश्य कुनै ठूलो थ्रीस्टार होटलको नभई एक सामान्य चिया चमेना पसलको हो । सधैंजसो यस्तै दृश्य देखिने बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित चिया चमेना पसल अर्थात् जय गुरु होटलको हो । जसको सञ्चालक हुन् सूर्यनारायण राजवंशी । ५८ वर्षीय राजवंशीले होटल व्यवसाय सञ्चालन गरेको तीन दशकभन्दा बढी भइसकेको छ । चिया चमेना पसल गरेरै राजवंशी यतिबेला एक सफल व्यवसायी बनेका छन् । यही कामले उनलाई दाम मात्र दिएन नाम र विभिन्न धाम (धार्मिक स्थल) दर्शन गर्ने अवसर पनि दिलायो । उनको यही पसल अर्थ र परमार्थ प्राप्तिको साधन बनेको हो । आफ्नो मिहिनेत र पसिना स्वदेशमा खर्च गर्न सके आम्दानी गर्न सकिने उनी गतिलो उदाहरण बनेका छन् ।

२०४४ सालदेखि शुरु गरेको उनको चिया पसल बिर्ताबजारकै पुरानो चिया पसलमध्ये एक हो । विगत सम्झँदै राजवंशीले भने– ‘मैले यो होटल खोल्दा सैनिकमोड क्षेत्रमा दुईवटा मात्र थियो । बस्ती पनि पातलो थियो ।’ सैनिकमोड क्षेत्रमा यतिखेर साना ठूला गरी होटलको संख्या तीन दर्जनभन्दा बढी रहेको छ । पछि केही थपिए पनि मेची आँखा अस्पताल यहाँ सञ्चालनमा आएपछि भने होटलको संख्या ह्वात्तै बढेको उनले बताए ।


उनलाई विशेषगरी उनकी श्रीमती उमावती राजवंशीले दिनहुँ सघाउने गर्दछिन् । श्रीमतीको दरिलो आँट र साथकै कारण उनी अहिलेको अवस्थामा पुगेका हुन् । चिया पसल शुरु गर्न अघि जीवन धान्न राजवंशी दम्पत्तिलाई निकै कठिन थियो । उमावतीले भनिन्– ‘अन्य काम गरेर जिविकोपार्जन गर्न गाह्रो भएपछि मेरै पहलमा पहिले बिर्ताबजारमा चिया पसल खोलेका थियौं र पछि त्यसलाई सैनिकमोडमा सारिएको हो । पसल शुरु गरेपछि त्यसैबेलादेखि नै हाम्रो दैनिकी सहज हुँदै गएको हो ।’

राजवंशी दम्पति दिनभरि नै व्यस्त रहन्छन्– दुबै दम्पत्तिको हात खाली हुँदैन । उनको पसल पनि कुनै पनि समय खाली हुँदैन । आफ्नो मेहनत र राम्रो व्यवहारले उनको पसलमा चिया चमेनाका लागि आउने ग्राहकको कहिल्यै कमी नहुने सूर्यनारायणले बताए । उनीहरुले होटल व्यवसायबाटै घर घडेरी जोडिसकेका छन् । राजवंशीले होटलको आम्दानीबाटै करोडभन्दा बढी मूल्यको सम्पत्ति जोडिसकेका हुन् । केही कोठा तथा सटर व्यापारिक प्रयोजनका लागि भाडामा समेत लगाएका राजवंशीले यतिबेला आफ्नै घरमा व्यवसाय गर्दै आएका छन् । भन्छन्– ‘चिया पसलबाट कमाएको पैसाले खानलाउन मनग्गे पुग्छ । भविष्यका लागि वचत समेत हुन्छ । व्यवसायसँगै सत्कर्म गर्दै भगवानको विभिन्न धाम–तीर्थ यात्रा–दर्शन गर्न पाइयो, जसबाट जीवन सार्थक भएको छ , यही नै ठूलो कुरा हो । यसैमा गर्व र खुशी लागेको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनबाट निकै प्रभावित रहेका र मोदी पनि पहिले चियावाला रहेको जानकार राजवंशी यस व्यवसायबाट पैसा र प्रतिष्ठा बढेकोले सन्तुष्ट रहेको बताउँछन् । धर्मकर्ममा रुची झुकाव राख्ने राजवंशी दम्पत्ति वर्षेनि भारतीय भूमिमा तीर्थ जाने गर्छन् । गहिरो धार्मिक श्रद्धा राख्ने राजवंशी दम्पत्तिको तीर्थ यात्राको वर्णन गरेर साध्य छैन । तीसौं पटक बाबाधाम बोलबम यात्रा, पाँचपटक कुम्भ मेला स्नान, चारधाम, हरिद्वार, गया, बनारस काशी, राम मन्दिर, मथुरा वृन्दावन, बद्रीनाथ, अयोध्या, कुरुक्षेत्र, गोकुल लगायत भारतका प्रशिद्ध धेरै (पचासौं स्थल) तीर्थाटन गरिसकेका राजवंशीले नेपालको पनि पशुपति, लुम्बिनी, मुक्तिनाथ, पाथीभरा लगायत मुख्य तीर्थ यात्रा गरेको अनुभव सुनाए । जसबाट जीवन सार्थक भएको ठान्छन् । कर्मयोगको पालना गरेका उनी हातमा काम र मनमा राम हुनुपर्ने बताउँछन् । इमान्दार भई श्रमपूर्वक आर्जन गरिएको धनले कल्याण हुने तर नराम्रो मनले कमाएको धन नासिएर जाने भएकाले सबैले इमान्दार भई श्रमको सम्मान गर्नुपर्ने राजवंशीको भनाइ छ ।

राजवंशी पूर्वाञ्चल दैनिक, कान्तिपुर दैनिक लगायत विभिन्न पत्रपत्रिकाका पारखी पनि हुन् । उनका पसलमा आउने ग्राहकका लागि पत्रिका मगाएको उनको भनाइ छ । फुर्सदमा आफू पनि ती अखबार पढ्ने गर्छन् । उनी देश विदेशको घटना तथा समसामयिक अवस्थाबारे चासो राख्छन्। खबर र घटनाबारे बुझ्न अखबारको ठूलो महत्व हुने भएकाले नियमित अखबार पढ्नैपर्ने उनको बुझाइ छ । भन्छन– ‘यहाँ धेरै नेता आउँछन्, उनीहरुका लागि पनि चाहिन्छ पत्रिका ।’ उनका चिया पिउँदै पत्रिका पढ्ने ग्राहक धेरै छन् ।

उनको पसलमा चिया खाँदै गरेको भेटिएका बासीलाल राजवंशी र शम्भू घिमिरेले शुद्धता र सरसफाइमा ध्यान पु¥याइ होटलका परिकारको गुणस्तर राम्रो भएकाले वर्षौंदेखि नियमित चिया चमेनाका लागि आउने गरेको बताए । शुरुमा एक रुपैयाँ (स्पेशल दुई रुपैयाँ) कप बेचेको चिया यतिबेला पन्ध्र रुपैयाँ पुगे पनि आफूहरुले दश रुपैयाँमा चिया बिक्री गर्ने गरेको राजवंशी बताउँछन् । सधैं काममा तत्पर र उत्साही सूर्यनारायणले ग्राहकको सन्तुष्टिमा ध्यान दिने तथा शुद्ध शाकाहारी भएकाले आफ्नो होटलको नाम ‘जय गुरु होटल’ नामाकरण गरेको बताए । मानिस केही आय–आर्जन भएपछि सुविधाभोगी बन्दै परिश्रम गर्न हिच्किचाउने गर्ने गरेको पाइने भए पनि राजवंशी दम्पत्तिमा भने त्यस्तो स्वभाव देखिँंदैन । जुन स्वास्थ्य र समृद्धिका लागि अरुका निमित्त पनि अनुकरणीय पाठ बन्न सक्छ ।

प्रस्तुति :रत्नबहादुर बस्नेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here