वर्षा, बाढी र व्यवहार

0
462

वर्षामा पानी पर्नु नियमितता हो । जब आकाशबाट पानी पर्छ तब सृजनाले फुल्ने र फल्ने अवसर पाउँछ । त्यसैले हावा, पानी, माटो र ताप सबैको समान महत्व छ, किनकि यी सबैले योगबाट मात्र सृजना सम्भव छ । यही सृजनाले विश्वलाई पालेको छ, बचाएको छ र हरेकको आवश्यकता पूरा गरेको छ ।

तर, यसका लागि अनुपात चाहिँ मिल्नु पर्छ, सन्तुलन पनि चाहिन्छ, त्यसो भएन भने अर्थात् कुनै एउटा कम वा बढी भयो भने त्यसले सृजना होइन संहार गराउँछ । त्यसैले यी तत्वहरुलाई ठीकसँग उपभोग गर्न मानिसले बुद्धि पुर्याउनु पर्छ । उचित प्रयोेग, सन्तुलित व्यवहार, पृथ्वीका सम्पूर्ण वस्तुको महत्वको पहिचान र स्वीकारबाट मात्रै सन्तुलन जोगाउन सकिन्छ । जसले विनाश हुनबाट जोगाउँछ प्राणी र पृथ्वीलाई ।

अहिले बर्षातको समय । लामो समयपछि पानी परेको छ । मौसमको चक्र नै परिवर्तन हुन थालेको छ विगत केही वर्षदेखि । अर्थात् मौसम परम्पराभन्दा भिन्न हुँदैछ । अनावृष्टि, खण्ड वा अतिवृष्टि त्यसकै उदाहरण हो । यस्तै जाडो नहुनु वा बढी नहुनु वा समयमा नहुनु पनि प्रतिकूलताकै उदाहरण हो । अझ समृद्धि र विकासका नाममा हामीकहाँ अहिले प्रकृतिको विनाश गरिँदैछ । जथाभावी रुख काट्ने, सडक निर्माणका नाममा पहाड खन्ने, उद्योगका नाममा जंगल फँडानी गर्ने, नदीनालाको स्वच्छतालाई ढलले बिटुल्याउने, प्राणीहरुका बीचको अन्तरनिर्भरतालाई समाप्त गर्ने जस्ता कामले प्रकृतिको नियमितता र सन्तुलन गुम्दै गएको छ ।

वर्षापछि बाढीको कहर तराई, उपत्यका पहाड र हिमाल सबैतिर उस्तै देखिएको छ । हिमाली र पहाडी क्षेत्रमा पहिरोले समेत मानिसको ज्यान लिँदैछ । त्यहीक्रममा झापाली पनि यहाँका ठूला–साना नदीहरुमा आएको बाढीका कारण त्रासमा छन् भने निकास नहुँदा डुवानले निम्त्याएको पीडा खप्न बाध्य छन् । झापाका कन्काई, रतुवा, मावा, टाङटिङ, विरीङ, कमल, निन्दा र मेची खोलालाई यहाँको दुःख मानिन्छ ।

यी नदीहरुले वर्षेनि जन–धनको क्षति गराउने गरेका छन् । यी बाहेकका स–साना खोला र खोल्साहरुमा समेत जलप्रवाह बढ्ने कारणले हजारौं विस्थापित हुँदै आएका छन् । यो र यस्ता प्राकृतिक विपदाहरुमा सेवा र सहयोग गर्दै आएको रेडक्रस सोसाइटीले प्रतिरक्षाका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै बाढीको सूचना दिने प्रविधिको पनि विकास गरिएको छ जसकारण जन–धनको क्षति कम गर्न सकिने बताइन्छ ।

वर्षाद् निर्झर झरी, बाढी र पहिरोको जोखिमयुक्त अवस्था हो । पहिले जनसंख्या कम भएका कारण बाढीको क्षति कम हुन्थ्यो, बाढी खुल्ला क्षेत्रबाट बगेर जान्थ्यो । जसले मानवीय क्षति कम हुने मात्र होइन, पृथ्वीको सन्तुलन पनि मिलाउथ्यो । तर, आज समय प्रतिकूल भएको छ । यो प्रतिकूलता प्रकृतिले नभएर, मानवद्वारा सृजित समस्या हो । यसलाई पूर्णतः उन्मुलन गर्न सकिँदैन, तर सावधानी र सचेतना अपनाउने हो भने कम गर्न भने सकिन्छ ।

अथाह जलसम्पदाको धनी देश हामीले हाम्रा नदीनालालाई ‘वरदान’का रुपमा स्थापित गर्न सक्नुपर्छ । त्यसो गर्न प्रकृतिको दोहन रोक्नु पर्छ । प्रकृतिको संरक्षण गर्दै दिगो विकासको मान्यता अनुरुप, जीवन पद्धति सञ्चालन गर्नुपर्छ । अनि मात्र वर्षेनि हुने वर्षा र बाढीको कहरबाट जोगिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here