सर्वोच्चको आदेश उल्लंघन गर्दै भद्रपुर भन्सार

0
660

पार्थ मण्डल / भद्रपुर।

भद्रपुर नाकाबाट विषादी परीक्षण बिनानै दिनँहु लाखौँ मूल्य बराबरको फलफूल तथा तरकारी नेपाल भित्रिन थालेको छ ।
व्यापारीहरूले यस नाकाबाट भित्र्याउने फलफूल तथा तरकारी भद्रपुर बजारसहित जिल्लाका अन्य बजारमा समेत पठाउन थालेका छन् ।

झापाको काँकरभिट्टा नाकाबाट भित्रिँदै आइरहेको फलफूल तथा तरकारीमा मेची भन्सार कार्यालयले विषादी परीक्षणमा कडाइ गरेपछि त्यहाँका व्यापारीहरूले पछिल्लो समय भद्रपुर नाकालाई रोजेका हुन् ।

नेपाल तथा भारतका व्यापारीहरूले साइकल, ठेला भ्यान, पिकअप, रागाँगाडा, जिप लगायतका सवारीसाधनको प्रयोग गरी भारतबाट भित्र्याउने फलफूल तथा तरकारी भद्रपुर भन्सार कार्यालय अगाडिबाटै विषादी परीक्षण बिनानै पठाउने गरेको पाइएको हो । भारतबाट भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण अनिवार्य गरे लगत्तै भारतीय पक्षले नेपाल सरकारलाई दबाब दिएपछि सरकार पछि हटेको थियो ।

गत असार २५ गते सर्वोच्च अदालतले सीमा क्षेत्रमा विषादी परीक्षण नगर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न र सरकारको निर्णय यथास्थितिमा राख्न आदेश दिएको थियो । तर, भद्रपुर भन्सारका कर्मचारीले सर्वोच्च अदालतको आदेशलाई समेत उल्लङ्घन गर्दै विषादी परीक्षणबिनै फलफूल तथा तरकारी भित्र्याउन अनुमति दिदैँ आइरहेका छन् ।

यसरी भित्र्याइँन्छ विषादीयुक्त फलफूल र तरकारी …

भारतीय व्यापारीले विभिन्न जिल्लाबाट सङ्कलन गरेका फलफूल तथा तरकारी ट्रक तथा जिपमा लोड गरी गलगलिया नाकासम्म ल्याउँछन् । त्यसपछि व्यापारीहरूले ती फलफूल तथा तरकारी साइकल, ठेला भ्यान, पिकअप र राँगागाडामा लोड गर्छन् र मेची पुलको प्रयोग गर्दै भद्रपुर भन्सार कार्यालयसम्म ल्याउँछन् । भन्सार कर्मचारीले ती फलफूल तथा तरकारीलाई विषादी परीक्षणका लागि पठाउँदैनन् । व्यापारीहरूले प्रज्ञापनपत्र भरेको आधारमै कर्मचारीले राजश्व तिर्न लगाउँछन् र त्यहाँबाट पठाउँछन् ।

त्यहाँबाट पठाएका फलफूल तथा तरकारी भन्सारदेखि केही पर गएर फेरि पिकअप तथा जिपमा लोड गरिन्छ । नियम विपरीत भन्सार कर्मचारीले फलफूल तथा तरकारी भित्र्याउन दिँदै आइरहेपनि यसतर्फ कसैले चासो देखाएको छैन ।
यसैबीच भन्सारका नायव सुब्बा रेवती गिरीले साइकलमा ल्याएको सागसब्जीलाई विषादी परीक्षणका लागि नपठाएर व्यवहारिकता हेरेर राजश्व तिर्न लगाएको बताएका छन् ।

भन्सार कर्मचारीको आँखा आगडि पिकअप भ्यानमा लोड गरिएको फलफूल तथा तरकारीलाई पनि व्यवहारिकता हेर्न थालिएको विषयमा जिज्ञासा राख्दा उनले भने – ‘यस विषयमा चाहिँ अब कडाइ गर्नुपर्छ ।’ तर, उनले बोलेको यो शब्द दुई दिन बितिसक्दा पनि कार्यान्वयनमा आएको देखिएन ।

काँकरभिट्टाबाट तरकारी आउन छाड्यो

मेची भन्सार कार्यालय काँकरभिट्टाका अधिकृत किरण शर्माका अनुसार विषादी परीक्षणमा कडाइ गरेपछि पछिल्लो समय यस नाकाबाट तरकारी आउन छाडेको छ । ‘झापाका बजारमा प्रशस्त मात्रमा भारतीय तरकारी आउँदै गरेको सुनेको छु, तर, कहाँ जान्छ यस विषयमा आफूलाई थाहा भएन’– उनले भने । उनका अनुसार अहिले यस नाकाबाट फलफूल मात्र भित्रिने गरेको छ ।

‘दिनमा १५ देखि २० वटा गाडी आउँछ सबैमा फलफूल मात्र हुन्छ’– उनले भने – ‘त्यसपछि गाडीबाट दुई चारवटा फलफूल निकालेर विषादी परीक्षणका लागि बिर्तामोड पठाउँछौ, बिर्तामोडबाट परीक्षण भएर आएको रिपोर्ट अनुसार नै राजश्व लिन्छांै ।’ ‘पहिला तरकारी र फलफूल धेरै मात्रामा आउँथ्यो, अहिले फलफूल पनि थोरै आउँदैछ’– उनले थपे ।

भद्रपुर भन्सारले परीक्षण गर्न पठाउँदैन

भारतबाट आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण गर्नु परे विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बिर्तामोडमा जानु पर्ने हुन्छ । भन्सारका कर्मचारीले शिलबन्दी गरी पठाएको फलफूल तथा तरकारी मात्र प्रयोगशालामा परीक्षण गरिन्छ । परीक्षण गरेको फलफूल तथा तरकारीको रिपोर्ट लिएर गएपछि मात्र भन्सारले राजश्व लिने कानूनी प्रावधान रहेको छ ।

यस प्रयोगशालामा काँकरभिट्टाका व्यापारी बढी आउने गरेको प्रयोगशालाकी सहायक प्राविधिक अञ्जु आचार्यले बताइन् । काँकरभिट्टा बाहेक सुनसरीका व्यापारी समेत विषादी परीक्षणका लागि आउने गरेको उनको भनाइ छ ।

‘भद्रपुरबाट अहिलेसम्म विषादी परीक्षणका लागि पठाएको रेकर्ड नै छैन’– उनले भनिन्– ‘झापामा काँकरभिट्टा भन्सारले मात्र परीक्षणका लागि पठाउँछ । एक दिन ५० देखि ६० वटासम्म परीक्षण गर्छौं – उनले भनिन्– विषादी परीक्षण गर्दा ३५ प्रतिशतसम्म खान योग्य मानिन्छ, त्यसभन्दा बढी आए थप परीक्षणका लागि विभाग पठाउँछौ वा खान अयोग्य भनेर भन्सारलाई पत्र दिन्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here